धनगढी, २४ मङ्सिर । केही दिन देखिको हुस्सु तथा कुहिरोसंगै चलेको शीतलहरकार र कठ्याङ्ग्रिने जाडोले कैलालीलगायतका जिल्लाको जनजीवन प्रभावित भएको छ ।
दिनहुँ घाम नदेखिने गरी लाग्ने हुस्सु र शीतलहरका कारण बढेको जाडोले वृद्धवृद्धा, विद्यालयका छात्रछात्रा र मुक्तकमैया प्रभावित भएका छन् ।
जाडो बढेकाले न्यानोका लागि आगो ताप्न दाउरा अभावको समस्या सर्वसाधारणले झेलिरहेका छन् ।
शीतलहर अझै केही दिन यथावत् रहेमा गोलभेँडा, आलु तोरी लगायतको हिँउदे बालीमा डढुवा रोगको सङ्क्रमण देखिने कृषि प्राविधिकले बताएका छन् ।

यहाँ चार दिन अघिसम्म न्यूनतम तापक्रम १५ डिग्री सेल्सियस आसपास रहेकामा न्यूनतम् तापक्रम बढ्दै जाँदा हिजोआज ८ डिग्री सेल्सियसको आसपास पुगेको अत्तरियास्थित जल तथा मौसम विज्ञान कार्यालय प्रमुख राममणि मिश्रले बताउनु भयो ।
निरन्तर लाग्ने हुस्सुका कारण आकासबाट देखिने अवस्था कम भएकाले हवाई उडान समेत प्रभावित हुने गरेको विमानस्थल कार्यालयका प्रमुख छविसिं ठकुल्लाले जानकारी दिनुभयो।
बन्दले जनजीवन प्रभावित
सीमाङ्कनमा असहमति राख्दै आन्दोलनमा उत्रिएका थरुहट÷थारुवान सङ्घर्ष समितिले गरेको बन्दका कारण आज पनि कैलालीको जनजीवन प्रभावित भएको छ ।
बन्दका कारण यातायात, व्यापार, व्यवसाय, शैक्षिक संस्था ठप्प भएपछि जनजीवन समेत प्रभावित बनेको हो ।
आज पनि धनगढी बन्दका कारण छोटो तथा लामो दुरीका कुनै पनि सवारी तथा मालबाहक साधन चल्न सकेका छैनन् ।
सङ्घर्ष समितिले कञ्चनपुरदेखि नवलपरासी जिल्लासम्मको क्षेत्रलाई थरुहट थारुवान प्रदेश बनाउन माग गर्दै आएको छ ।
पछिल्लो पटक सरकारले व्यवस्थापिका संसद्मा दर्ता गराएको संविधान संशोधन प्रस्तावमा सङ्घर्ष समितिले असहमति राख्दै आएको छ ।
तीन दिनदेखि यहाँ एकपछि अर्को गर्दै भइरहेका बन्दका कार्यक्रमबाट बुधाबारदेखि सुरु भएको सुदूरपश्चिम महोत्सव समेत प्रभावित भएको छ ।






