काठमाडौँ, ११ पुस । छन्दवादी समाज नेपाल रुपन्देहीले ‘छन्द तपस्वी–२०७३’ बाट प्रा डा विष्णुराज आत्रेय (लाटो साथी) र ‘छन्दरथी–२०७३’ बाट डा देवी नेपाललाई बुटवलमा आयोजित कार्यक्रममा अभिनन्दन गरेको छ ।
छन्द कविता लेखनमा योगदान पु¥याएबापत उहाँहरूलाई उक्त साहित्य सम्मानबाट आइतबार अभिनन्दन गरिएको हो । समाज र नेपाल प्रज्ञा–प्रतिष्ठानको संयुक्त आयोजनामा भएको ‘बृहत् छन्द महोत्सव–२०७३’ का अवसरमा उहाँहरूलाई अभिनन्दन गरिएको हो ।
सो अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान, काव्य विभाग प्रमुख डा अमर गिरीले छन्द कविताकोे गुणस्तर विकासमा लाग्न कविहरुलाई आग्रह गर्नुभयो । महोत्सवमा ‘समकालीन छन्द कविताका प्रवृत्तिहरू’ विषयमा प्रा डा हिरण्यलाल ज्ञवालीले कार्यपत्र प्रस्तुत गर्ने क्रममा छन्दमा लेखिएका कविता भजनजस्ता पनि भएको बताउँदै कवितालाई विशेष बनाउन आवश्यक देखिन्छ भन्नुभयो ।
डा घनश्याम परिश्रमी, नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक डा नारायण नेपाल र छन्द बचाउ अभियानका माधव वियोगीले कार्यपत्रमाथि टिप्पणी गर्दै कार्यपत्रमा सन्दर्भ ग्रन्थ प्रभावकारी रुपमा नआएको बताउनुभयो ।
रुपन्देहीका निमित्त स्थानीय विकास अधिकारी भीमार्जुन पाण्डेले भाषा, कला र साहित्यको प्रवद्र्धनका लागि सम्बन्धित संस्थाले गरेका काममा जिविसले सहयोग गर्ने आश्वासन दिनुभयो ।
कार्यक्रममा साहित्यकार ऋषिराम भुसाल, वनमाली निराकार, प्रा. डा बाबुराम ज्ञवाली, जीवलाल सापकोटा, प्रा डा कपिलदेव लामिछाने, रुपन्देहीका पूर्व स्थानीय विकास अधिकारी नारायण ज्ञवाली, साहित्यकार रामचन्द्र भट्टराई र बालकृष्ण भट्टराई, पत्रकार कृष्णप्रसाद बाँस्तोला, डा नारायणप्रसाद अधिकारी, डा. शिव पौडेललगायतले समकालीन छन्द कवितामा देखिएका नकारात्मक पक्षलाई केलाउँदै सुधारका बाटा औँल्याउनुभएको थियो ।
छन्दवादी समाज नेपालका अध्यक्ष शङ्करप्रसाद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा गोर्खे साइँलो, बुँद राना, कृष्णदेवी शर्मा, कविराज पौडललगायतले छन्दोबद्ध लयात्मक कविता वाचन गर्नुभएको थियो ।






