विराटनगर । सोलुखुम्बु जिल्लाको प्रदेश ‘ख’ का सांसद बुद्धिकुमार राजभण्डारीले प्रदेशसभाको पहिलो बैठकमै धेरैको आकर्षणको केन्द्र विन्दु बने । सांसद राजभण्डारीले हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा जातिको पोशाक छुवा लगाएर पहिलो बैठकमा सहभागी हुँदा सबैको ध्यान तानेका हुन् ।

सांसद राजभण्डारीसँग फोटो खिच्ने, सेल्फी लिने र अन्तवार्ता लिनेहरुको लाईन बाक्लो रुपमा प्रदेशसभा बैठक स्थल परिषरमा देखियो । प्रदेश १ का मुख्यमन्त्रीका दावेदार शेरधन राई, ओखलढुंगाका प्रतिनिधी सभाका सदस्य यज्ञराज सुनुवार, समाजवादी फोरमका प्रत्यक्ष निर्वाचित सांसद जयराम यादवदेखि प्रदेशसभाको पहिलो बैठक हेर्न आउने सबैले उनीसँग फोटो खिचाए । यत्ति मात्र होइन उनी सुरक्षा प्रमुखहरुको नजरमा पनि परे, र सुरक्षा प्रमुखहरुले राजभण्डारीलाई स्यालुट गर्दै फोटो खिच्न आग्रह गरे ।

फोटो, सेल्फी र मिडियामा अन्तवार्ताकारको जिज्ञासामा सांसद राजभण्डारीले आफूले निर्वाचनमा गरेको प्रतिबद्धता अनुसार नै पहिलो बैठकमा शेर्पा जातिको पोशाक लगाएको प्रतिक्रिया दिए । ‘सोलुखुम्बुको मेरो निर्वाचन क्षेत्रमा नेवारहरु अल्पसंख्यक छौं, म अल्पसंख्यक भएकाले मैले सबै जातिको पहिचानको नमूना स्वरुप मेरो निर्वाचन क्षेत्रको सबैभन्दा बढि जनसंख्या भएको शेर्पाको पोशाक लगाएको हो’ राजभण्डारीले भने, ‘माघ २९ गतेको दोस्रो बैठकमा शेर्पापछिको बढि जनसंख्या भएको खालिङ राईको पोशाक र तेस्रो बैठकमा तामाङ जातिको पोशाक लगाएर बैठकमा सहभागी हुनेछु ।’

सांसद राजभण्डारीले खसआर्यको प्रतिनिधित्व हुने दौरासुरुवाल, नेवारी पोशाक लगायत अन्य जातजातिको पनि पोशाक लगाएर बैठकमा सहभागी हुने बताए । नेकपा एमालेबाट सांसद भएका राजभण्डारीले पार्टीको बहुपहिचानको नीति अनुसार नै विभिन्न जातजातिको पोशाक लगाएको बताए ।







तस्वीर : बुद्धवीर बाहिङ र दिनेश राजभण्डारी ।







