
काठमाडौं । सक्रिय राजतन्त्रको बेला कल्पनाभन्दा पनि परको कुरा । त्यतिबेला राजालाई हेर्न लाम लाग्नु पर्थ्यो । राजा आउँथे टकटक अनि भन्थे, मैले बुझेँ । अहिले भने उतिबेलाका प्रजाहरु पूर्व भइसकेका राजासित सेल्फी खिच्न सक्छन् । रेस्टुरेन्टमा भेटिँदा एउटा फोटो खिचौँ न भनेर ग्रुप फोटो खिच्न पाउँछन् । शायद् यसैलाई गणतन्त्रको उपलब्धि मान्ने होला । जनताको छोराछोरी राष्ट्रप्रमुख हुँदा पनि आलोचना चर्किएकै छ ।

अर्को एउटा पनि फरक देखिएको छ । राजतन्त्र कालमा राजपरिवारका पार्टीहरु गफमा मात्र सुनिन्थे । अहिले भने उनीहरु सार्वजनिक रुपमा रेस्टुरेन्टमा जान्छन्, खान्छन्, नाच्छन् । अनि उनीहरुका फोटो पनि सार्वजनिक रुपमा हेर्न पाइन्छ ।

पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल आफ्ना छोरा पूर्व युवराज पारससहित राजपरिवारका अन्य सदस्यहरु शुक्रबार त्रिसरा रेस्टुरेन्टमा पुगेका थिए । तर पूर्व युवराज्ञी हिमानी भने पार्टीमा देखिइनन् । बाउछोराको भने राम्रै मिलाप भएको फोटोमा देखिन्छ ।

पार्टीका क्रममा पूर्वराजा ज्ञानेन्द्र छमछमी नाँचेका थिए । त्यस्तै रेस्टुरेन्टमा भेटिएकाहरुसँग सामूहिक फोटोसमेत समेत खिचेका थिए ।











