७ असार २०८३, आइतबार | Sun Jun 21 2026

वाङ्छु आफै फस्दै, ‘श्रीमतिलाई जेलबाट निकाल्न मात्र मैले यो कुरा मिडियामा ल्याएको हो,’

समाचार टिप्पणी : ‘यस्तो प्रमाणले मात्र राजदूत माथिको आरोप पुष्टि होला त ?’



अष्ट्रेलिया । अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथि उनकै चालक, भान्सेले पैसा लिएर आफुलाई अष्ट्रेलिया ल्याएको आरोप लगाएपछि त्यो विषय एकाएक सामाजिक सञ्जालमा भाइरल भयो । उनको आरोप न्यूज ट्वान्टीफोर टेलिभिजनको जनतासँग सिधा कुरा कार्यक्रममा सार्वजनिक भएपछि त्यो विषय भुसको आगोसरी फैलिन केही बेर लागेन ? स्वभाविक रुपले अष्ट्रेलियाका नेपाली समाजमा यसले बढी तरंग ल्यायो । सामाजिक सञ्जालमा राजदूतमाथि लागेको आरोपमा दुई मत भयो । कसैले भने आरोप मात्र होइन यो घटनामा सत्यता छ ? अनि कसैले भने सस्तो लोकप्रियता र आफूले गरेको गल्ती ढाकछोप गर्न मिडियाको दुरुपयोग गर्दै राजदूतमाथि झुठो आरोप हो ।

सबैको एउटै प्रश्न छ ? आरोप पुष्टि हुने आधार र प्रमाण के छन् त ? यो प्रश्नले अष्ट्रेलियामा घण्टे हानेर बचेकुचेको समय पत्रकारितामा खर्च गरिरहका हामी श्रमजिवी पत्रकारमाथि पनि तेर्सियो । जुन स्वभाविक थियो । यो प्रश्न मेरालागि झन् पेचिलो बनेको छ । कारण मैले, आरोप लगाउने वाङ्छुलाई पनि भेट्ने मौका पाए । भेटको प्रसंग कुनै बेला लेखुलाँ । त्यसो त, शक्तिको आडमा जे पनि गर्न पछि नपर्ने नेपाली भिआईपीले यो काण्ड पनि गरेन होला भनेर तर्क गर्न गार्हाे छ । त्यसैले पनि पदको दुरुपयोग गर्नेको भण्डाफोर गरि कानूनी कठघरमा उभ्याउन म प्रमाण खोज्न जुटे । अष्ट्रेलियाली नेपाली समाजका धेरै वर्गका मानिस, साथीभाई र नेपालबाट आएका टेलिफोनमा सबैले एउटै प्रश्न सोध्ने गरेका छन् । त्यसको सामूहिक जवाफ हो यो टिप्पणी ? यो बसाईमा म दुबैपक्षले पेश गरेका आधारहरु प्रस्तुत गर्दैछु । अष्ट्रेलियन कानून र सम्मानित अदालतमा वाङ्छु विरुद्धको मुद्दा विचाधीन भएकाले केही व्यक्तिगत सूचनाहरु लेख्ने चेष्टा गरेको छैन । राजदूत र वाङ्छुलाई भेटेपछि मैले प्राप्त गरेको सूचनाको आधारमा यो स्वत्तन्त्र टिप्पणी लेखिरहेको छु । खोजमुलक समाचार लेख्दा सबैभन्दा गहन विषय हुन्छ प्राप्त सूचनाहरुको सत्यताको जाँच । प्राप्त सूचनाको जाँचपछि यो टिप्पणी लेखिरहेको छु । मेरो क्षमताभन्दा बाहिरका सूचना अरुसँग छन् भने त्यसको विश्लेषण उनीहरुबाट नै आउने छ । राजदूत माथि लागेको आरोप सार्वजनिक भईसकेकाले खासै लेखिरहन मन लागेन । त्यसैले सिधै आरोपको आधारतर्फ लागौ । (यहाँ प्रस्तुत तथ्यहरुको भिडियो र तस्बीर सुरक्षित छ ।)
राजदूतले चालक, भान्से वाङ्छु शेर्पासँग पैसा लिएर अष्ट्रेलिया ल्याएको पुष्टी गर्ने आधार-तमसुक ? : वाङ्छुले रबि लामिछानेसँग लाईभमा राजदूतका श्रीमान् र आफुबीच अष्ट्रेलिया लैजान तिर्नुपर्ने ६४ लाखको तमसुक भएको दावी गरेका थिए । मसँगको भेटमा पनि तमसुकबारे प्रश्न राखे । उनले मोवाईलमा रहेको तमसुक देखाए । एक हरफको तमसुकमा घरायसी लनदेनका क्रममा वाङ्छुले ६४ लाख रुपैया ४ वर्षमा राजदुतका श्रीमान्लाई तिर्नुपर्ने लेखिएको छ । तर, साक्षी बिनाको तमसुकमा वाङ्छुको हस्ताक्षर भएपनि राजदुतका श्रीमान्को हस्ताक्षर छैन । हस्ताक्षर खै त ? भन्ने प्रश्नमा वाङ्छु भन्छन्, ‘कागज गर्ने बेला राजदुतका श्रीमान् नेपालमा भएकाले हस्ताक्षर गराउन सकिएन ।’ घरायसी लेनदेनको यति ठूलो रकम भएको तमसुकमा पैसा दिने र साक्षीको हस्ताक्षर नभएपछि यसको सच्चाई कसरी पुष्टी होला ?

अर्काे प्रमाण एसएमएस र म्यासेन्जर : राजदुतमाथिको आरोप पुष्टि गर्ने सक्ने अर्काे आधारभन्दै फेसबुक र म्यासेजमा भएको कुराकानी आरोपकर्ताले पेश गरेका थिए टेलिभिजनमा । त्यसबारे पनि मैले भेटमा प्रश्न गरे । मोवाईलको स्क्रिनसटका रुपमा सुरक्षित ती मेसेजहरु वाङ्छु र राजदुतका श्रीमान्बीचको थियो । तर, बुझ्न लायक चाँहि के छ ? भने, ३२ लाख, ६४ लाख मैले दिएको भन्दै वाङ्छुले एकोहोरो मेसेज पठाएको देखिन्छ । पैसा र अरु व्यक्तिको बारेमा वाङ्छुले पठाएको मेसेजमा राजदुतका श्रीमान्ले ‘तमसुकमा कसैले हस्ताक्षर गरेको छैन । त्यो फेक हो । चिन्ता छैन । किन भागेको ? क्लियर गरेको भए हुन्थ्यो भनेर जवाफ पठाएका छन् । एसमएसमा वाङ्छुको श्रीमती अष्ट्रेलिया ल्याउने भन्दै दोहोरो कुराकानी चाँहि भएको छ । जसमा राजदुतको श्रीमान्ले वाङ्छुलाई श्रीमतीको छिटो मेडिकल र पुलिस रिपोर्ट बनाउन सुझाएका छन् । त्यसपछिको अर्काे मेसेजमा भने, राजदुतका श्रीमान्ले हामीले तिम्रो श्रीमतीलाई ल्याएर सहयोग गर्न लागेपनि तिमी दुतावासबाट भागेकाले ल्याउन नसकिएको भन्दै वाङ्छुसँग गुनासो गरेका छन् । यो कुराकानीले वाङ्छुको श्रीमती अष्ट्रेलिया आउने तयारीमा रहेको बुझिएपनि पैसा नै दिएर ल्याउन लागिएको भनेर स्वतन्त्र पुष्टी कसरी होला ?

बैंक खाता : त्यसो त, वाङ्छुले बैंक खाता बारे पनि कुरा राखेका छन् । राजदूतको श्रीमान्को बैंक खाता समेत सार्वजनिक गरिदिएका छन् । तर, राजदुतले सिड्नीमा केही संचारकर्मी र समाजिक अगुवासँग भेटेर आफ्नो बैंक खाता र अन्य आरोपको स्वतन्त्र छानविन गर्न आफुले संघीय प्रहरीलाई सघाएको दावी गरेकी छिन् । उनले वाङ्छुले सिंगापुरबाट लिएको भनिएको पैसा आफ्नो खाता वा नगद रुपमा नलिएको छानविनबाट देखिसकेको दावी गरिन् ।
कुटनीतिक दायरा अनुसन्धानका लागि खुल्ला : सोमबार सिड्नीमा राजदुत शेर्पाले संचारकर्मी, सामाजिक अगुवा, एनआरएनका पदाधिकारीलाई भेट गरे । संचारकर्मीको समूहमा म पनि सामेल थिए । राजदूतले आफुलाई जवरजस्त फसाईएको बताईन् । उनले संचारकर्मी र अगुवा सामु आफुमाथी लागेको आरोपमाथि विना कुनै बाधा छानविन गर्न अष्ट्रेलियाको संघीय प्रहरी र परराष्ट्र मन्त्रालयमा आफुले एक वर्ष अघिनै पत्राचार गरेको विवरण देखाईन् । ‘कुटनीतिक मर्यादा अनुसार राजदुतको बैक खाता लगायत छानविन गर्न प्रहरीलाई अप्ठ्यारो होला भनेर मैले डिप्लेम्याटिक युमिनिटी ओपन गरिदिएको हो ।’ छानविनका लागि राजदुतले संचारकर्मी र अगुवासमक्ष स्पष्ट पारिन् ।
दूतावासको चोरी, संघीय प्रहरीको छानविन र ब्रिजिङ भिषामा वाङ्छु : वाङ्छु गत वर्ष नै दुतावासबाट ३ तोला सुन चोरी गरि फरार रहेको सूचना दूतावासको फेसबुकमा सार्वजनिक भयो । तर, वाङ्छु भने चोरेर नभई संघीय प्रहरीसँग गएको बताउछन् । संघीय प्रहरीले वाङ्छुको आरोपमा सात महिना लामो अनुसन्धान गरेको वाङ्छु नै बताउछन् । उनको आरोपको छानविन भएको भन्ने आधार एक वर्ष अघि राजदूतले कुटनैतिक घेरा खुल्ला गरेको पत्रबाट पनि पुष्टी हुन्छ । छानविनबाट वाङ्छु स्वतन्त्र भईसकेका छन् भने, यहाँको प्रहरी र परराष्ट्रले दूतावास वा राजदूतसँग सम्बन्धित विषयमा केही पत्रचार वा आपत्ति जनाएको देखिदैन । यो कुरा राजदूतले सामाजिक अगुवासँग सार्वजनिक गरेकी छिन् । यो कुरा वाङ्छु पनि मान्छन् । बरु उनी त, ब्रिजिङ भिषा पाएकोमा दंग छन् । र भनिरहेका छन्, ‘श्रीमतिलाई जेलबाट निकाल्न मात्र मैले यो कुरा मिडियामा ल्याएको हो ।’
वाङ्छुको श्रीमती किन जेल गए ? : राजदूत, उनका श्रीमान् र वाङ्छुबीच आर्थिक लेनदेनको ठोस आधार नदेखिएपनि वाङ्छुको श्रीमती र सिंगापुरमा बस्ने एक युवाबीच भने लेनदेन भएको बैकिक रेकर्ड भेटियो । तीनै युवाले आफुलाई अष्ट्रेलिया लेजाने भन्दै वाङ्छुले पैसा लिएको र उनकी श्रीमतिको नाममा पैसा पठाएको बयान दिएका थिए । त्यहि आधारमा वाङ्छुको श्रीमति जेल परेकी हुन् भने, वाङ्छु विरुद्ध पनि अदालतमा मुद्दा विचाराधिन छ । यहाँ कसैलाई दोषी र कसैलाई सफाई भन्दा पनि आरोप पुष्टि गर्ने आधारबारे सरसर्ती लेखिएको हो । यो पढेर तपाई आफ्नो विचार बनाउन स्वतन्त्र हुनुहुन्छ । अष्ट्रेलियामा गोप्य रुपमा गरिने भिडियो वा अडियो रेकर्ड गैरकानुनी भएकाले वाङ्छुसँग भएको भनिएको संवाद मैले सुन्न नपाएकाले त्यसबारे मेरो कुनै टिप्पणी छैन । (समाचार टिप्पणी पत्रकार सरल गुरुङले गरेका हुन् । गुरुङले दुवै पक्षको कुराकानी र खोजको आधारमा टिप्पणी तयार पारेका हुन् । यसबारेमा हाम्रो कुनै धारणा संलग्न छैन । सम्पादक)

प्रकाशित मिति : १९ मंसिर २०७५, बुधबार  ८ : ०६ बजे