२५ कार्तिक २०८३, मंगलबार | Wed Nov 11 2026

एभरेष्ट शेर्पा रिसोर्टबाट ‘३६० डिग्री भ्यू’ अवलोकन


लाक्पा जी शेर्पा

१० माघ २०७५, बिहिबार  

196
Shares

प्राकृतिक सौन्दर्यतालाई नियाल्न विश्वभरबाट नेपालमा बर्षेनी हजारौं पर्यटकहरु आउने गर्दछन् । यसमध्येमा पनि अधिकांश पर्यटकले खुम्बु क्षेत्रको भ्रमण गर्न रुचाउँछन् । दुई याम ‘सिजन’ अशोज-मंसिर र फाल्गुन-जेठमा यस क्षेत्रमा बढी मात्रमा पर्यटकहरुको घुँइचो लाग्ने गरेको छ । खुम्बु क्षेत्रमा भ्रमण गर्ने अधिकांश पर्यटकहरु विदेशी नै हुन्छन् । विदा मनाउन, विभिन्न विषयको अध्यायन अनुसन्धान गर्न, विभिन्न क्षेत्रमा सहयोग गर्ने र त्यसको अनुगमनका लागि समेत विदेशी पाहुनाहरु आउने गरेका छन् । अक्टोबरको सिजनमा पर्यटकहरुको यस क्षेत्रमा बढी नै भिड देखिन्छ । सगरमाथाको प्रवेशद्धारा भनेर चिनिने नाम्चे बजार र यस क्षेत्रमा पर्यटकलाई लक्षित गरी विभिन्न होटल तथा लाँजहरु खोलिएका छन् । यी होटलहरुमा अधिकांश विदेशी नै बस्छन् । नेपालीहरुका लागि वस्नका लागि भने मुस्किलै पर्छ । यसरी निर्माण गरिएको मध्ये एक हो ‘एभरेष्ट शेर्पा रिसोर्ट ।’ २४ बर्षअघि निर्माण गरिएको यो रिसोर्ट स्याङबोचेमा अवस्थित छ । स्याङबोचे विश्वकै अग्लो ठाउँमा रहेको होटल मध्ये यो तेस्रो स्थानमा आउँछ । करीब १० रोपनी क्षेत्रफलमा फैलिएर बनेको रिसोर्टमा वस्ने, खाने लगायत सबै सुविधाहरु छन् ।
विशेषगरी सगरमाथा वेसक्याम्प, गोक्यो, थ्रीपास लगायत घुम्न जाने पर्यटकहरुको एक दिन नाम्चेमा विश्राम हुने गर्दछ । त्यस दिन पर्यटकहरु स्याङबोचे, थामे लगायतका स्थानमा घुम्न जान्छन् । स्याङबोचेमा रहेको विश्वकै अग्लो स्थानमा रहेको विमानस्थललाई हेर्नका लागि आउने पर्यटकहरुका लागि ‘टि ब्रेक’ लिने आकर्षक थलोको रुपमा छ । त्यस्तै, यहाँबाट विश्वका अग्ला हिमश्रृंखलाहरुको दृश्यपान गर्न सकिन्छ । सगरमाथा, कोङदे, नुत्से, थामसेर्कु लगायतका दर्जनौ हिमाल र खुम्बु क्षेत्रको देवताको रुपमा रहेको खुम्विला पर्वतलाई नजिकबाट हेर्नका लागि रिसोर्टमा पर्यटकहरुको भिड लाग्ने गरेको छ । रिसोर्टको प्रमुख विशेषता ‘३६० डिग्री भ्यू’ हो । सबैको दृश्य देखिने भएकाले यस रिसोर्टलाई ‘पानारामा होटल’ भनेर पनि चिनिन्छ । खुम्बु पासाङ ल्हमु गाउँपालिकामा रिसोर्ट अवस्थित छ ।
बरिपरिका दृश्यलाई नजिकबाट नियाल्नका लागि रिसोर्टको प्राङ्गणमा ठूलो ‘दुरविन’ राखिएको छ । पर्यटकहरु पालैपालो दुरविनबाट हिमाल, पर्वतहरुलाई नजिकबाट नियाल्छन् । हिमश्रृंखलाहरु अवलोकन गर्न रिसोर्टमा विहान ६ बजेदेखि नै पहुनाहरुको आगमन हुन्छ । करीब मध्यान्ह १२ बजेपछि बादलले सबै हिमालहरु डाक्ने भएकाले प्रायः सबै विहान नै यहाँ आइपुग्छन् ।
चारैतिर पर्खालले घेरेर दुई तिर ठूल्ठूला प्रवेशद्धारा र कलात्मक कृतिहरुले सजिएको घरमा रिसोर्ट सञ्चालनमा छ । ‘भूकम्पअघि रिसोर्ट निक्कै आकर्षक थियो । केही क्षति पुगे तथापी अहिले पुरानो अवस्थामा ल्याई सकेका छौं ।’ रिसोर्टका म्यानेजर पासाङ ङिमा शेर्पाले भने ‘पहिला रुमहरु धेरै थियो भूकम्पले क्षति पुर्याएपछि केही घटेको छ । तर, वस्नको लागि खतरा छैन ।’ विभिन्न क्षेत्रको अध्यायन, सोध तयार गर्ने, शान्त वातावरणमा केही समय वस्न रुचाउनेहरुका लागि रिसोर्ट छनौटमा पर्ने गरेको छ ।

रिसोर्ट नजिकै चरणमा रहेको याक, नाकहरु र उनीहरुको गलामा झुण्डिएका घण्टीहरुको सुमधुर आवाजले वातावरण थप मनोराञ्जनात्मक बनाउँछ । त्यस्तै, सल्ला, धुपी, अन्य जडीबुटीहरुको सुगन्धले स्वास्थ्यलाई समेत लाभ हुने सञ्चालक दोर्जी शुसिल शेर्पा बताउँछन् । रिसोर्टमा ‘एट्याच बाथ रुम, तातो चिसो नुहाउने व्यवस्था छ । त्यस्तै, २४ घण्टा वक्ति, समान तापक्रमको प्रवाह, नेटइन्टरनेटको व्यवस्था गरेका छन् ।
३ हजार ८ सय ४१ मिटर उचाईमा रहेको रिसोर्टमा २२ वटा कोठा, ५० वटा वेड क्षमता छ । त्यस्तै, बसेर खाने आकर्षक रेष्टुराँ जसको क्षमता एकै पटक ५० जना बसेर खान सकिन्छ । राती भित्र बसेर खाने, रमाइलो गर्न सकिने ‘डाइनिङ’ को व्यवस्था छ भने विहान दृश्यालोकण गर्नका लागि खुल्ला चौरमा समेत ५० जना भन्दा बढी वसेर खाने, घुम्न सक्ने छन् ।

रिसोर्टमा अनुभवि सेफ, कुक खानेकुरा तयार गर्ने र वेटरहरुले सेवा दिन्छन् । इटालियन, चाइनिज, कोरियन, इन्डियन, जापनीज खानका परिकारहरु पाइन्छ । नेपाली दालभात, रोटी तरकारी लगायत खाजाका ‘आइटम’हरु पाहुनाका छनौट अनुसार तयार हुन्छ । त्यस्तै, पेय पदार्थहरु पनि रिसोर्टले सुलभ दरमा उपलब्ध गराउँदछ । रिसोर्टका लागि आवश्यक खानेकुराहरु काठमाडौंबाट हेलिकोप्टरबाट स्याङबोचेमा ल्याउने गर्छन भने कतिपय रामेछापको मन्थलीबाट हवाईजहाजबाट लुक्ला र त्यहाँबाट खच्चड, जप्क्यो लगायत स्थानीय ढुवानीका साधन प्रयोग गरी परिपूति गर्छन ।

यस उचाईमा रहेपनि होटलको मेनु भने नाम्चे र त्यस क्षेत्रमा रहेको अन्य होटलको भन्दा निक्कै सस्तो छ । १० प्रतिशत सेवा शुल्क र १३ प्रतिशत कर जोडेर रिसोर्टले अन्तिम विल जारी गर्छ । रिसोर्टमा नेपालीहरुका लागि भने विशेष छुटको व्यवस्था छ । रिसोर्टको अर्को विशेषता शेर्पा रहनसहन, आत्मिय आतिथ्य सत्कार, सुलभ, शान्त वातावरण र छिटो सेवा दिनु हो । एक जना पर्यटकले होटलमा एक रात विताउन १ सय ७० डलर खर्चनुपर्छ ।

प्रकाशित मिति : १० माघ २०७५, बिहिबार  २ : ४७ बजे