सोलुखुम्बु । नेपाली काँग्रेस सोलुखुम्बुले वैशाख २५ देखि शुरुहुने ‘राष्ट्रिय जागरण’लाई प्रभावकारी बनाउन आठै स्थानीय तहबाट उपस्थितिका लागि अनुरोध गरेको छ । ‘काँग्रेस मेला’ भएकाले कार्यक्रममा अनिवार्य उपस्थितिको लागि पत्रमार्फत जानकारी गराएको हो ।

केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकले १२ वटा कार्यक्रम सार्वजनिक गर्दै यस्तो कार्यक्रम ल्याएको हो । मेलामा काँग्रेसको इतिहास, संस्थापक नेताहरूको तस्वीर, ऐतिहासिक तस्वीर, पुस्तकहरू तथा अन्य दस्तावेज राखिने छन् । मेला काँग्रेसजनका लागि उत्सव मेलाजस्तै हुने नेपाली कांग्रेस सोलुखुम्बुका सभापति विनोद बस्नतले बताए ।
नेपाली कांग्रेसले सातवटै प्रदेशका पार्टीका प्रदेशसभा सदस्यहरूका लागि प्रदेशस्तरीय संवाद र प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने, काँग्रेसबाट विजयी गाउँपालिका अध्यक्ष र उपाध्यक्षहरूको राष्ट्रिय भेला र प्रशिक्षण कार्यक्रम काठमाडौंमा आयोजना गर्ने समेत कार्यक्रम रहेको छ ।
कांग्रेसले नयाँ पुस्तामा राष्ट्रियता, लोकतन्त्र, समाजवाद, नेपाली काँग्रेसको इतिहासको जानकारी दिन र काँग्रेसमा नयाँ पुस्तालाई आकर्षित गराउन १३ वर्षदेखि १८ वर्षका विद्यार्थी र १९ वर्षदेखि २८ वर्षसम्मका युवाका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने समेत जनाएको छ ।
२३ बैशाख २०७६, सोमबार
105
Shares







