काठमाडौं । नेपाली कांग्रेस सोलुखुम्बु काठमाडौं सम्पर्क समितिका पदाधिकारीले २ सय घरपरिवारलाई राहत बाड्ने भएको छ ।

फाईल तस्वीर ।
विश्व व्यापी महामारीको रुपमा फैलिरहेको दोस्रो लहरको नयाँ भेरियन्ट सहितको कोरोना भाइरस (कोभिड-१९)का कारण अति समस्यामा परेका मजदुर र विद्यार्थीहरुलाई राहत वितरण गर्न लागेको हो । सोलुखुम्बु स्थायी ठेगाना भई उपत्यकाका विभिन्न क्षेत्रमा दैनिक रुपमा काम गरेर खाने मजदुर र विद्यार्थीहरुलाई पहिलो प्राथमिकतामा राखेर २ सय घरपरिवारलाई राहत वितरण गर्न लागिएको सम्पर्क समितिका सभापति गोकर्ण बस्नेतले बताए ।

‘आज हामी भर्चुअल माध्यमबाट सम्पर्क समितिको बैठक बस्यौं । दोस्रो लहरको कोरोनालाई थप समुदायमा फैलिन नदिनका लागि सरकारले निषेधाज्ञा जारी गरेको दिन नै हामीले राहत दिने घोषणा गरेका थियौं ।’ सभापति बस्नेतले भने, ‘निषेधाज्ञा भएको केहि दिनमै बैठक बसी वास्तविक पिडितले मात्रै राहत पाओस भनेर हामीले एक नगरपालिका र ७ गाउँपालिकामा राहत वितरणका लागि संयोजक चयन गरेका थियौं । हामी भोलीनै ती संयोजकहरुलाई राहत वितरण गर्र्छौ । त्यसपछि उहाँहरुले आ-आफ्नो स्थानीय तहका अति समस्यामा परेका मजदुर र विद्यार्थीलाई राहत उपलब्ध गराउने गरी आजको बैठकले निर्णय गरेका छौं ।’
सम्पर्क समितिको भर्चुअल बैठकले पहिलो चरणमा २ सय घरपरिवारलाई राहत दिने पनि निर्णय गरेको छ । पहिलो चरणको रातह वितरण सकिएपछि आवश्यकता अनुसार अति समस्यामा परेका मजदुर र विद्यार्थीहरुको थप पहिचान गरी पुनः दोस्रो चरणको राहत वितरण गरिने पनि सभापति बस्नेतले बताए ।

फाईल तस्वीर ।
राहत लिनका लागि सोलुदुधकुण्ड नगरपालिका स्थायी ठेगाना भई काठमाडौंमा बस्दै आएका तर अति समस्यामा परेका मजदुर र विद्यार्थीले संयोजक मानबहादुर मगरलाई ९८०३३८१३२७ मा सम्पर्क गरी राहत लिन सकिने छ । त्यसैगरी थुलुङ दुधकोशी गाउँपालिकाका मजदुर र विद्यार्थीले संयोजक सौरभ बरुवाललाई ९८५११०२२७६, सोताङ गाउँपालिकाका मजदुर र विद्यार्थीले संयोजक उत्तमप्रसाद राईलाई ९८४३७४६३०४, खुम्बु पासाङल्हामु गाउँपालिकाका मजदुर र विद्यार्थीले संयोजक फूनुरु शेर्पालाई ९८४११६४२३५, महाकुलुङ गाउँपालिकाका मजदुर र विद्यार्थीले संयोजक टार्जन कुलुङलाई ९८४९०७२१७७, लिखुपिके गाउँपालिकाका मजदुर र विद्यार्थीले संयोजक प्रमिला खड्कालाई ९८६१५२२४३५, माप्य दुधकोशी गाउँपालिकाका मजदुर र विद्यार्थीले संयोजक चन्द्र खालिङलाई ९८५११९२८८६ र नेचासल्यान गाउँपालिकाका मजदुर र विद्यार्थीले संयोजक आस्था निरौलालाई ९८५१०५३१०६ मा सम्पर्क गरी अति समस्यामा परेका विद्यार्थी र मजदुरले राहत लिन सकिने सम्पर्क समितिका सभापति बस्नेतले बताए ।
पहिलो लहरको कोरोना भाइरसका कारण लकडाउनमा अति समस्यामा परेका १ हजार ३ सय भन्दा बढि घरपरिवारलाई सम्पर्क समितिका पदाधिकारीहरुले राहत वितरण गरेका थिए ।







