६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

संविधान संशोधन नभए निर्वाचन हुँदैन : मधेसी मोर्चा


१४ चैत्र २०७३, सोमबार  

0
Shares

सप्तरी, १४ चैत । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन नभए कुनै पनि हालतमा निर्वाचन हुन नसक्ने बताउनुभएको छ ।

सप्तरीमा प्रहरीको हातबाट ज्यान गुमाएका पाँच जना मधेसी मोर्चाका कार्यकर्ताको आइतबार मलेठस्थित राजविराज औद्योगिक क्षेत्रमा आयोजित श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै उहाँले सङ्घीय प्रणालीमा स्थानीय चुनाव गराउने अधिकार काठमाडौँलाई नरहेको बताउनुभयो ।

मधेसको स्थानीय चुनाव गराउने अधिकार मधेस सरकारको भएको दाबी गर्दै उहाँले भन्नुभयो – “यदि चुनाव गराउनु छ भने केन्द्रको गराओस् । केन्द्रको चुनाव गराएर स्थानीय तह दुरुस्त बनाएपछि मात्रै स्थानीय तहको चुनाव गराइनुपर्छ ।”

Sagarmatha

तराई मधेस लोकतान्त्रिक पार्टीका (तमलोपा)का अध्यक्ष महन्थ ठाकुरले सीमाङ्कनसहित संविधान संशोधनको प्रस्ताव आए मात्र निर्वाचनमा जाने बताउनुभयो ।

यस्तै, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मुलुकका तीन ठूला दलबाट मधेसप्रति भेदभाव भइआएको बताउनुभयो ।

राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारीले २ नम्बर प्रदेशलाई छाडेर निर्वाचन गराए त्यसपछि कुनै पनि सरकारले त्यहाँ निर्वाचन गर्न सक्दैन भन्नुभयो ।
सोही श्रद्धाञ्जलिसभामा फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव, नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झा र तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले सीमाङ्कनलाई थाती राखेर वा छाडेर सहमति हुन नसक्ने धारणा राख्नुभएको थियो ।

मधेसको अधिकार प्राप्तिका लागि एउटै बलियो पार्टी बनाउनुपर्नेमा मोर्चाका शीर्ष नेताले सम्बोधनका क्रममा जोड दिएका छन् ।

दुई साता अगाडि नेकपा (एमाले)को मेची–महाकाली अभियानअन्तर्गत सप्तरीको मलेठस्थित राजविराज औद्योगिक क्षेत्रमा प्रहरीले चलाएको गोली लागेर पाँच जना मधेसी मोर्चाका कार्यकर्ताको मृत्यु भएको थियो भने दुई दर्जन घाइते भएका थिए ।

प्रकाशित मिति : १४ चैत्र २०७३, सोमबार  ४ : ०४ बजे