सहरी विकास मन्त्रालयले सबै नगरपालिकाहरुमा त्यस क्षेत्रको विकास र समृद्धिको रुपरेखा तयार गर्न, कार्यान्वयन गर्न महत्वपूर्ण अधिकार सहित नगरविकास समितिको गठन गरेको छ । नगर क्षेत्रका सार्वजनिक सम्पत्तिको सदुपयोग, व्यवस्थित, सभ्य र सुरक्षित नगरको विकास र विस्तारको लागि बनाईने नगर विकास समितिले काम थालिसकेका छन् । सोही क्रममा सुन्दर पर्यटकीय नगरी हिमाली जिल्ला सोलुखुम्बुको साविकको ८ वटा गाविस मिलेर बनेको एक मात्र नगरपालिका सोलु दुधकुण्ड नगरपालिकाको नगर विकास समितिको अध्यक्षको जिम्मेवारी मन्त्रालयले नेपाली काँग्रेसका युवा नेता, समाजसेवि, नगर क्षेत्रको बृहत्तर विकासमा अनवरत रुपमा सक्रिय नाम्गेल जाङ्बु शेर्पालाई प्रदान गरेको छ । यही सेरोफोरमा रहेर उनै नवनियुक्त अध्यक्ष शेर्पासँग सगरमाथा अनलाईनले गरेको कुराकानीको सम्पादित अंश
नगर विकास समितिको अध्यक्ष बन्नु भयो । तपाँइको राजनैतिक हैशियत के हो ?
मैले मेरो ओठमा जुंगाको रेखा नबस्दै २०५६ सालमा काँग्रेसको क्रियाशिल सदस्य लिएको हुँ । नेवीसंघ सोलुखुम्बुको सदस्य हुँदै कोषाध्यक्ष रहेका बेला २०६२/०६३ को जन आन्दोलनसक्रिय भुमिका निर्वाह गरँे । म नेपाली काँग्रेसमा आवद्ध भएको २० वर्ष भयो । म शुरुदेखि
पार्टीको हरेक अभियनमा निरन्तर क्रियाशिल छु । काग्रेसको १३ औँ अधिबेशनको क्षेत्रीय सदस्य समेत भइसकेको र निरन्तर कांग्रेसमा क्रियाशिल भएका कारण पार्टीेले नगरविकासको अध्यक्षको जिम्मेवारीमा सिफारिस गरि नेपाल सरकारले मनोनित गरेको हो ।

नगर विकासले के गर्छ त ?
हाल सालै गठन भएका नयाँ नगरपालिकाको आधारभुत सरंचना तयार गर्न, नगरउन्मुख क्षेत्रको विकासको अवधारणा बनाउने काम यो समितिको हो । सरकारले २०४५ सालमा तयार गरिएको ऐन विभिन्न कालखण्डमा संशोधन भई २०७१ सालमा नयाँ निर्देशिका जारी गरिए पछि नयाँ अधिकार सहित यो समिति गठन भएको हो । यो समितिले नगरक्षेत्रका सार्वजनिक सम्पत्तिको अभिलेख तयार गरि सही व्यवस्थापन गर्ने, नगर क्षेत्रको सहरि विकास योजना लागु गर्ने र समग्र सम्बृद्धिका लागि गूरु योजना निर्माण गरि लागु गर्ने यसको मुख्य काम हो ।
समितिको कार्य क्षेत्र के त ?
यसको कार्यक्षेत्र ठुलो छ ।ऐनले पनि नगरविकास समितिलाइ प्रसस्त अधिकारहरु दिएको छ । त्यसमा के भनेको छ भने सम्पूर्ण नगरपालिकालाई आफ्नो कार्यक्षेत्र बनाएर सरकारको नाममा प्रतिजग्गाहरु र भौतिक सम्पत्ति र संरचनाहरुको अभिलेख तयार गरि त्यस्लाई नगरविकास र नगरबासिको सुविधा र हितको लागि उचित तरिकाले प्रयोग गर्ने र नगरपालिकालाई दिर्घकालिन कार्यक्रम बनाइ सफा, सुन्दर, सुरक्षित र व्यवस्थित बनाउनका लागि गुरु योजना तयार गर्ने र त्यो गुरु योजना अनुसार नगरपालिकामा कार्यक्रम तयार गर्ने र कार्यक्रम कार्यान्वयन गर्न निर्देशन दिने, नगरक्षेत्र भित्र सरकारी, गैरसरकारी संघ सस्था र व्यक्तिहरुले निर्माण गर्ने भौतिक संरचनाहरु सरकारको मापदण्द अनुसार भयो भएन अनुगमन गरी मापदण्ड विपरित भएका संरचनालाई रोक लगाउदै नियन्त्रण गर्ने र मापदण्ड अनुसार कार्यक्रमलाई अगाडि बढाउने नमुना नगरपालिका आचारसंहिता लागु गर्ने र नगरविकास समितिले नगरपालिका र अन्य सरोकारवाला निकायसँग समन्वय गरेर अगाडि बढ्ने छ । ऐनले निर्दिष्ट गरेकोअधिकार र जिम्मेवारी प्रयोग गरि त्यसका आधारमा नगरपालिकालाई सुन्दर बस्ती बसाउन र व्यवस्थित बनाउने कार्यमा समिति लाग्ने छ ।
यो भन्दा अगाडि धेरै व्यक्तिहरु नियुक्त भए, तपाँइले चाँही यी सबै काम गर्ने विश्वासको आधार के त ?
हिजो नियुक्ती भएका ब्यक्तिले के गरे के गरेनन् त्यस तर्फ म जान चाहान्न । अहिले हाम्रो नगरपालिकाको भौगोलिक र कार्यक्षेत्र विस्तार भएको छ । राज्यले नगरविकास समितिलाई काम गर्न प्रशस्तै अधिकार र जिम्मेवारी दिएको छ । जनताको सेवा गर्ने हाम्रो दायीत्व हो । म अहोरात्र यो काममा लागि पर्छु । म सँग काम प्रतिको दृढता र संकल्प छ र त्यो नै जनताले विश्वास गर्ने आधार हो ।
तपाँइले गुरु योजनाको कुरा गर्नु भयो, कस्तो किसिमको गुरु योजना बनाउनु हुन्छ त ?
कुनै पनि कामलाई प्रभावकारी र व्यवस्थित ढंगले अगाढी बढाउनको लागि योजना अपरिहार्य कुरा होे । विशेष गरेर हाल सालै गठन भएको नयाँ नगरपालिका सोलुदुधकुण्ड नगरपालिकाको सन्दर्भमा नगरपालिकाको दीर्घकालिन, मध्यकालिन र अल्पकालिन लक्ष्यहरु हाँसिल गर्नका लागि हालसम्म विस्तृत गुरु योजना नभएकोले समितिको पहिलो प्राथमिक्ता नै गुरु योजना निर्माण गर्नु हो । गुरु योजना भित्र नगर क्षेत्र भित्रको भौगोलिक अवस्था, जैविक विविधता, सामाजिक आर्थिक अवस्था, पर्यटकीय र धार्मिक सांस्कृतिक सम्पदा, प्राकृतिक श्रोत साधनको पहिचान गरि उपलब्ध श्रोतसाधनलाइ नगरपालिकाको विकासमा कसरी उपयोग गर्न सकिन्छ भनेर विस्तृत अध्ययन गरि एउटा खाका तयार गरिनेछ । त्यस्कै आधारमा नगरपािलकाको भावी रणनीति तथा योजना तयार हुनेछ ।
नगरपालिका भित्र तत्काल गर्नु पर्ने कामहरु के के छन त ?
हालनगरपालिका भित्र रहेका वस्तीहरु अत्यन्तै अव्यवस्थित छन् । आधारभुत पुर्वाधारहरु त्यार हुन सकेका छैनन् । तसर्थ तत्काल नै नगर क्षेत्र भित्र बस्ति बसाल्न योग्य ठाउहरुको पहिचान गर्न आवश्यक छ । त्यस्का लागि अध्ययन हुन जरुरी छ । बढ्दो शहरीकरणसँग सँगै ब्यवस्थित वस्तीहरु बसाल्न सुरक्षाको दृष्टिकोणले उपयुक्त र स्वास्थ्य, शिक्षा, विजुली, सडक, खानेपानी जस्ता आवश्यक सेवाहरु सहज रुपमा व्यवस्था गर्न सकिने र ढल निकास फोहोरमैलाको उचित व्यवस्थापन गर्न सकिने ठाउँहरुको पहिचान गर्न जरुरी छ । नगर क्षेत्र भित्र रहेका स्रोत साधनहरुलाई नगरबासिको हितको लागि परिचालन गर्नको लागि समेत विस्तृत अध्ययन गर्न जरुरी छ । यसको लागि सम्बन्धित मन्त्रालयहरुसँग पनि समन्वयन गरीरहेको छु । हाल स्थानिय चुनाव घोषणा भएको र निर्वाचन आचारसंहिता समेत लागु भएका कारण नयाँ कार्यक्रम स्विकृति नभए पनि पहल कदमिहरु गरिरहेको छु ।
अध्यक्ष ज्यू, नगरपालिकाको समवृद्धिको लागि तपाँइको दृष्टिकोण के छ नि ?
दुधकुण्ड नगरपालिका प्राकृतिक श्रोत साधनको दृष्टिकोणले सम्बृद्धिको लागि प्रचुर सम्भावना भएको नगरपालिका हो । जसलाई उचित ढंगले परिचालन र सदुपयोग गर्न सकेको खण्डमा नगरपालिकाको विकासमा छोटो समयमै कायापलट हुन सक्छ । उदाहरणको लागि नगरपालिका क्षेत्र भित्र पर्यटकीय दृष्टिकोणले ४,५०० मिटर उचाई रहेको पिके पिक छ । जहाँबाट नेपालको पूर्वको कन्चनजंघादेखि पश्चिमको धौलागिरीसम्मको हिमश्रृंखलाको अवलोकलन गर्न सकिन्छ । यसलाई प्रबर्धन गर्न सकेको खण्डमा धेरै आन्तरिक र बाह्य पर्यटकहरु भित्र्याउन सकिन्छ ।
त्यसै गरि धार्मिक सांस्कृतिक दृष्टिले महत्वपूर्ण रहेको पुर्वकै मनकामनाको रुपमा परिचित ज्वालामाईदेवीको मन्दिर, बौद्ध ङिङ्मापाको ठूलो गुम्बा थुप्तेनछोलिङ, बौद्ध र हिन्दु धर्मावलम्विको आस्था रहेको दुधकुण्ड ताल, नुम्बुर हिमाल, सांसरकै नमुनाको रुपमा रहेको टाक्सिन्दु गुम्बा, पुरानो ईतिहास रहेको चिवाङ गुम्बा, पर्यटकीय गन्तब्यको रुपमा रहेको पत्ताले, रातनाँगि, सेलगुडिजस्ता सुन्दर आकर्षितभुगोलहरु, एकसय देखि एक सय पचास मेगावाट क्षमता उत्पादनको सम्भावना भएका अपार खोलानालाहरु, बहुमुल्य जडिबुटि उत्पादनहरु ज्मिनहरु, जिल्लाकै ठूला र घना जंगलहरु हाम्रै नगरपालिका भित्र छन् । यी अथाह श्रोतसाधन र सम्पदाहरुलाई अधिकत परिचालन र उपयोग गरि नगरपालिकाको सम्बृद्धि हाँसिल गर्न सकिन्छ । तर त्यस्का लागि गुरु योजना मार्फत स्पष्ट खाका तयार गरि अगाडी बढ्नु जरुरी छ
अब स्थानीय चुनाव नजिक आईसक्यो, दुधकुण्ड नगरपालिकाको मेयर कस्तो हुनुपर्दछ ?
तपाईले महत्वपूर्ण प्रश्न गर्नुभयो । २० वर्ष पछि हुन लागेको स्थानीय चुनाव आफैमा महत्वपूर्ण र ऐतिहासिक छ । जनताको लामो समयको व्याग्र प्रतिक्षा पछि हुन लागेको यो चुनावमा शिक्षित, स्पष्ट दृष्टिकोण भएको जुझारु, विकासप्रेमि र सामाजिक सेवाको भावना भएको युवा वर्ग नेतृत्वमा स्थापित हुनुपर्छ ।
त्यसो भए तपाँइ पनि मेयरको आकाँक्षि हो त ?
हेर्नुस, अबको समाज रुपान्तरण युवा पुस्ताबाटै हुनुपर्छ । हाम्रा अग्रजहरुकोसल्लाहर सुझाब लिएर उहाँहरुलाई सम्मान गर्दै हामी युवा नै अगाडी बढ्ने हो । जहाँसम्म मेरो कुरा छ, म दुई दशक देखि राजनिति र समाजसेवामा समय व्यतित गर्दै आएको ब्यक्ति होे । राजनितिका नाममा कुनै लाभको पद नलिए पनि हालसम्म यही क्षेत्रका बृहत्तर विकासमा नै तल्लिन छु । मैले गैह्रसरकारी संस्था मार्फत शिक्षा, स्वास्थ्य, सामाजिक सशक्तिकरणको क्षेत्रमा योगदान दिँदै आएको छु । मैले पार्टीमा पनि निश्वार्थ रुपमा काम गर्दै आएको छु । पार्टी भित्र पर्दापछाडी बसेर साथीहरुलाई अगाडी बढ्न प्रेरित गरेको छु । राजनितिमा लाभको पद लिने र ठूलो मान्छे बन्नु भन्दा पनि राजनिति मार्फत निश्वार्थ रुपमा जनताको सेवा गर्नु पर्छ, समाज र देशको विकास गर्नुपर्छ भन्ने मेरो मान्यता हो । तर पार्टीले मलाई मेयर पदको लागि उपयुक्त ठाने र जनताले विश्वास गरे म त्यस्को लागि पनि तयार छु ।







