वि.सं. २०३७ सालमा कम्युनिष्ट पाटीको भातृ संगठन अनेरास्ववियु सोलुखुम्बुको जिल्ला अध्यक्षबाट दोर्जीशुसिल शेर्पाले राजनीतिक यात्रा शुरु गर्नु भएको थियो । कम्युनिष्ट पाटीको राजनीतिक विचारलाई जनतासामु पु¥याउने शिलशिलामा शेर्पाले विभिन्न जिम्मेवारीमा रहेर काम गर्नु भएको थिए । २१ वर्षसम्म शेर्पाले कम्युनिष्ट पाटीको सिद्धान्त र विचारलाई आत्मसाथ गर्दै राजनीतिमा सक्रिय रुपमा लाग्नु भयो । पाटीले राम्रोलाई होइन हाम्रोलाई स्थान दिएपछि शेर्पाले २१ वर्षे लामो कम्युनिष्ट पाटीको विचार र सिद्धान्तलाई त्यागेर वि.सं. २०५८ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गर्नुभयो । राप्रपामा प्रवेश गरेको एक वर्षपछिदेखि शेर्पा सोलुखुम्बु जिल्लाको अध्यक्ष भएर वि. सं. २०६९ सालसम्म काम गर्नु भयो । अहिले शेर्पालाई पाटीले स्थानीय तहको निर्वाचनको लागि सोलुखुम्बु जिल्लाको केन्द्रीय प्रतिनिधीमा खटाएको छ । राप्रपालाई स्थानीय तहको निर्वाचनको माहौल कसरी लागेको छ ? निर्वाचनको लागि राप्रपासँग मुख्य एजेण्डा लगायतका विषयमा रहेर सगरमाथा अनलाईनका प्रधानसम्पादक बुद्धवीर बाहिङले गर्नुभएको कुराकानीको सम्पादित अंश ।
स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा राष्ट्रिय प्रजातन्त्र पाटी सोलुखुम्बुलाई चुनावी माहौल कत्तिको लागेको छ ?
स्थानीय तहको निर्वाचनको चुनावी माहौल राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा) लाई पनि धेरै लागेको छ । त्यही भएर राप्रपाको केन्द्रीय बैठकले मलाई सोलुखुम्बु जिल्लाको स्थानीय तहको निर्वाचनमा केन्द्रीय प्रतिनिधीको रुपमा खटाएको छ । २० वर्षदेखि स्थानीय तहको निर्वाचन भएको छैन, तथापी यो स्थानीय तहको निर्वाचन तोकिएकै मिति र समयमा हुन्छ या हुँदैन त्यो त हेर्न बाँकी नै छ ।
हाम्रो पाटीको भर्खरै केन्द्रीय महाधिवेशन सम्पन्न भएको छ । अब पाटी कसरी अगाडी जाने भन्ने एउटा नीति र विचार स्पष्ट रुपमा तयार गर्न सफल भयौं । त्यही हाम्रो नीति र विचारलाई प्रचारप्रसार गर्दै, निष्क्रिय भएको कार्यकर्ताहरुलाई सक्रिय गराउन, अहिलेको नयाँ स्थानीय तहको संरचना अनुसार पाटीको गाउँपालिका कमिटि र वडा कमिटि बनाउने अभियानमा पनि स्थानीय तहको निर्वाचनको साथ साथै लागेका छौं ।
अहिले राप्रपाको देशभरीका लाखौं नेता तथा कार्यकर्ताहरु खुशी छन् । उनीहरुले काङग्रेस, एमाले र माओवादी केन्द्रबाट धेरै नेपाली जनताहरु वाक्क भएर वैकल्पिक राजनीतिक शक्तिको खोजिमा हुनुहुन्छ । त्यसैले जनताको चाहना अनुसार राप्रपाको उदय भएको हो । तसर्थ राप्रपामा दिनप्रतिदिन सदस्य लिएर जनताहरु पाटीमा आबद्ध भैरहेका छन् । त्यही भएर हामीलाई पूरा विश्वास छ, राप्रपाले सोलुखुम्बु जिल्लामा मात्र होइन देश व्यापी रुपमा अप्रत्यासित रुपमा सफलता प्राप्त गर्छ ।

संगठन विस्तारको लागि गाउँपालिका र वडामा जाँदा त्यहाँको स्थानीय जनताको उत्साह कस्तो पाउनु भयो ?
अहिले धेरै राम्रो उत्साह छ । हिजो हाम्रो पाटी एकिकरण नभएकाले अन्य ठूलो दलमा रहेका पाटीहरुको हेपाहा प्रवृद्धिका कारणले गर्दा पाटीको नीति र केन्द्रको नेतृत्व पनि सक्रिय नभएको कारणले गर्दा हामी एउटा नीरिह जस्तै भएका थियौं । जुनबेला हाम्रो अन्य पाटीमा जाने अवस्था पनि थिएन । भाग्यवस हाम्रो पाटी एकीकरण भयो । जसले गर्दा सबै कार्यकर्ता एकदम खुशी छन् । अहिले देशमा एउटा यस्तो ठूलो समूह छ, त्यो समूह निष्पक्ष रुपमा बसिरहेको छ । त्यत्ति मात्र होइन पाटीलाई धेरै वर्ष योगदान दिँदा पनि उनीहरुले अवसर नपाएको ठूलो समूह छ । उनीहरु सबैले अवसर नपाएको र निष्पक्ष रुपमा रहेका समूहहरु अहिले राप्रपामा प्रवेश गरिरहेका छन् ।
स्थानीय तहको निर्वाचनको लागि तपाईको पाटीभित्र उम्मेद्धारको योग्यता र मापदण्डको बारेमा कसरी छलफल गरिरहनु भएको छ ?
तपाईलाई म इमान्दार साथ भन्दा केहि समय अघि नेपालका धेरै गाउँका स्थानीय बासिन्दाले अझै यो पाटी छ त भन्ने अवस्थामा पुगेको पाटी हो । त्यसैले हामीले जीरो लेबलबाट शुरु गर्दै छौं । त्यसैले स्थानीय तहको निर्वाचनको उम्मेद्धारको लागि पाटीलाई दिएको योगदान, सक्षमता, योग्यता, समाजमा पु¥याएको योगदानको आधारमा हामी उम्मेद्धारको पहिचान गरी पाटीको तर्फबाट टिकट दिन्छौं ।
सोलुखुम्बु जिल्लाको एक नगरपालिका र सात गाउँपालिकामा स्थानीय तहको निर्वाचनमा राप्रपालेको आँकलन के छ ?
अहिले हप्तादश दिनकै अवधिमा नगरपालिकाको वडाहरुमा जाँदा हामी यत्ति उत्साहित छौं की नगरपालिकामा अप्रत्यासित रुपमा अत्याधिक मतले राप्रपाले जित हासिल गर्छ । नगरपालिका बाहेक नेचासल्यान गाउँपालिकामा हाम्रो मत राम्रो छ । जेहोस नगरपालिका र तीन चार वटा गाविस चाँही राम्रो मत ल्याएर अन्य दलहरुको तुलनामा हामी अगाडि आउँछौं ।
स्थानीय तहको निर्वाचनका लागि राप्रपाले के एजेण्डा ल्याएको छ ?
हाम्रो एजेण्डा स्पष्ट छ, राष्ट्रिय प्रजातन्त्र पाटी आर्थिक उदारवादमा विश्वास गर्ने राजनीतिक दल हो । त्यत्ति मात्र होइन सबैभन्दा महत्वपूर्ण कुरा भनेको राप्रपा यो देशको वलियो राष्ट्रवादी प्रजातान्त्रिक पाटी हो । त्यसैले हामी राष्ट्रवादलाई आधार बनाएर राजनीति गरिरहेका छौं । भौगोलिक वनावटको आधारमा जनताको चाहना अनुसार विकासको योजनाहरु अगाडि बढाउँछौं । त्यहीको स्थानीयको माग अनुसार विकासे योजनाहरुमा हाम्रो साथ र सहयोग हुनेछ ।
हिन्दु राष्ट्र बनाउने मुद्धा छोड्नु भयो की अझै उठाउँदै हुनुहुन्छ ?
राष्ट्रिय प्रजातन्त्र पाटीले अहिले दुईवटा नयाँ एजेण्डा सर्वसम्मतले पारित गरेको छ । राप्रपाले किन अझै हिन्दु राष्ट्र कायम गर्ने माग ग¥र्यो भन्ने कुरामा यसको धेरै कारणहरु छ । हाम्रो जस्तो आदिवासी/जनजाती धेरै भएको जिल्लामा हिन्दु राष्ट्रको बारेमा बुझ्न धेरै आवश्यकता र जरुरी छ । यसबारेमा स्पष्ट गर्नु अहिलेको समयमा जरुरी छ । आफ्नो हक अधिकार खोज्दा अरुको हक अधिकार हनन हुनु हुँदैन । त्यसैले एउटा शेर्पाले शेर्पा प्रदेशको निम्ती राज्य माग गर्दाखेरी खुशी हुनु, त्यो स्वभाविक पनि हो । उसको हक अधिकार, धर्म, संस्कार, सँस्कृति संरक्षण, सम्वद्र्धन गर्ने कुराहरु उठाउनु पर्छ भन्ने कुरा स्वभाविक हो । आदिवासी जनजातिहरुको सवाल, महिलाहरुको हक अधिकारको सवाल, दलितहरुको हक अधिकारको सवाल स्वभाविक हो । यी सबै कुराहरु के को आधारबाट उठाई रहेका छन् भने पहिचानको आधारमा यी विषयवस्तुहरु उठाई रहेका छन् । यदि यी पहिचानको कुरा ठीक हो भने नेपालमा ८० प्रतिशतभन्दा बढि हिन्दुहरु भएको देश हो । त्यसैले हिन्दु धर्म मान्नेहरुले नेपाललाई हिन्दु राष्ट्रको माग गर्दा किन त्यसलाई अस्वभाविक मान्ने, भन्ने हाम्रो पाटीको मान्यता रहेको छ ।
राप्रपाले नेपाललाई हिन्दु राष्ट्र मात्रै हुनुपर्छ भन्ने कुरा विधानमा भनिएको छैन् । हाम्रो विधानमा दुईवटा महत्वपूर्ण शर्तहरु राखिएको छ । सर्वधर्म समभाव, पूर्ण धार्मिक स्वतन्त्रा सहितको नेपाललाई हिन्दु राष्ट्र बनाउनु पर्छ भनेर त्यही लाईनको तेस्रो बुदाँमा मात्र राखिएको छ ।
राप्रपाले स्थानीय तहको निर्वाचनमा कुनै अन्य राजनीतिक दलसँग एलायन्स गर्छ की गर्दैन ?
निश्चित रुपमा हाम्रो बलियो उपस्थिति भएको नगरपालिका वा गाउँपालिकामा सकेसम्म हामी आफै स्थानीय तहको निर्वाचनमा जाने सोच बनाएका छौं । अन्य क्षेत्रमा हामी अलि कमजोर भएको क्षेत्रमा हाम्रो अन्य फरक राजनैतिक विचार भएका दलहरुसँग चुनावी एलायन्स हुन्छ ।
अन्त्यमा सोलुखुम्बुको जनतालाई के भन्नु हुन्छ ?
यो स्थानीय तहको निर्वाचन विगतमा भएको स्थानीय निकायको निर्वाचन जस्तो होइन । यो स्थानीय तहमा स्थानीय जनताको हितमा, भलोका निम्ती, सरोकारको निम्ती काम गर्ने विश्वासिलो नेताभन्दा पनि जनताको अभिभावकको रुपमा चुन्ने एउटा सुनौलो अवसर हो । त्यसैले जनताले एउटा राम्रो, विश्वासिलो नेता छान्नु प¥र्यो, किनकी त्यो जनप्रतिनिधीबाट भ्रष्टाचार नहोस भोली । त्यस्ता किसिमका नेताहरुलाई निर्वाचित गराउन सबै जनताहरुलाई आग्रह गर्दछु ।







