वि.सं. २०२८ सालमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको अञ्चल सभापति भएपछि औपचारिक रुपमा कम्युनिष्ट राजनीतिमा प्रवेश गर्नु भएका आङदामी शेर्पा अहिले नेकपा एमाले जिल्ला कमिटि सोलुखुम्बुको सल्लाहकार सदस्यमा हुनुहुन्छ । स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा सोलुदुधकुण्ड नगरपालिकाको प्रमुखमा शेर्पाको नाम पाटीभित्र र बाहिर चर्चामा छ । वि.सं. २०५४ सालको स्थानीय निकायको निर्वाचनमा साविकको सल्लेरी गाविसको अध्यक्षमा नेकपा एमालेको तर्फबाट भारी बहुमतले विजयी भएका आङदामी शेर्पाले तत्कालिन समयमा लोकप्रिय र जनप्रिय भएर विभिन्न विकासका योजनाहरु सम्पन्न गर्नु भयो । शिक्षा नै मानिसको पहिलो आवश्यकता हो भन्ने मूल नाराका साथ साविकको सल्लेरी गाविसको ९ वटै वडामा भएका विद्यालयहरुलाई पहिलो प्राथमिकतामा राखेर काम गरे । गरिबीको रेखामुनी रहेका जनतालाई घरघरमै खाद्यान्न र नुन उपलब्ध गराउनु भयो । शेर्पाको यो लोकप्रियताको कारणले गर्दा अन्य राजनीतिक पाटीको उम्मेदवार भन्दा सोलुदुधकुण्ड नगरपालिकाको नेकपा एमालेको उम्मेदवार बलियो छ भन्ने आधारहरु प्रशस्तै भेट्न सकिन्छ । शेर्पाको पाटीगत मात्र होइन व्यक्तिगत मत पनि अन्य पाटीको उम्मेदवारभन्दा बढीनै छ । त्यसैले नगरपालिकाको वडा–वडामा तथा गाउँगाउँमा शेर्पाको नाम चर्चा र परिचर्चा हुन शुरु भएको छ । नजिकिदै गरेको स्थानीय तहको निर्वाचनमा शेर्पाको इच्छा के हो ? नगरपालिकाको प्रमुखमा शेर्पाकै उम्मेदवारी किन ? भन्ने विषयमा सगरमाथा अनलाईनका प्रधानसम्पादक बुद्धवीर बाहिङ राईले गर्नु भएको कुराकानीको सम्पादित अंश ।
नेकपा एमाले जिल्ला कमिटिले स्थानीय तहको निर्वाचनमा अहिलेसम्म कसैको नाम सार्वजनिक गरेको छैन, तर सोलुदुधकुण्ड नगरपालिकाको प्रमुखमा तपाईको नाम चर्चामा छ, नगरपालिकाको प्रमुखमा तपाईको नाम आफैले घोषणा गर्नु भएको हो की पार्टीको पदाधिकारीहरुको संकेतले तपाईको नाम चर्चामा आएको हो ?
मलाई नेकपा एमाले जिल्ला कमिटिका पदाधिकारीहरुले संकेत दिएरनै मेरो नाम सोलुदुधकुण्ड नगरपालिकाको प्रमुखमा एकाएक चर्चामा आएको हो । म नेकपा एमालेको विधानत संगठित भएर लाग्ने पाटीको ईमान्दार कार्यकर्ता हो । त्यही भएर मलाई सबैले नगरपालिकाको प्रमुखको सच्चा र इमान्दार उम्मेदवार तपाई नै हो भनेकाले मैले भन्दा पनि पाटीका साथीहरुले मेरो नाम नगरपालिकाको प्रमुखमा चर्चामा ल्याएको हो ।

सोलुदुधकुण्ड नगरपालिकाको प्रमुखमा तपाईको उम्मेदवारी किन ?
सोलुदुधकुण्ड नगरपालिकामा नेकपा एमालेको तर्फबाट नगरपालिकाको प्रमुखमा मेरो उम्मेदवारी निश्चित छ । स्थानीय तहको नयाँ संरचना अनुसार निर्वाचनमा उम्मेदवारी दिनु ठूलो कुरा होइन, त्यो निर्वाचनमा जित हासिल गर्नु ठूलो कुरा हो । त्यसैले सोलुदुधकुण्ड नगरपालिकाको प्रमुखमा मैले उम्मेदवारी दिने निर्णय गरेको हो । जसलाई पाटीका साथीहरुले सकारात्मक र सहज ढंगबाट सहयोग गर्नुहुन्छ भन्ने लागेको छ ।
वि.सं. २०५४ सालको स्थानीय निकायको निर्वाचनमा साविकको सल्लेरी गाविसबाट गाविस अध्यक्षमा बहुमतले जित हासिल गरेको इतिहास साक्षी छ । सोही समयमा जनताहरुको सेवा गर्ने अवसर पाएको थिए । जुनबेला मैले जनताहरुको दुःख, कष्टलाई प्राथमिकताका साथ समाधान गर्ने प्रयास गरेको छु । त्यसैले नेकपा एमालेको त मलाई मत आउँछनै, त्यसमाथि पनि मेरो व्यक्तिगत सम्बन्धका आधारमा पनि धेरै मत आउँछ । अर्को कुरा के हो भने मैले १५ वर्षसम्म स्थानीय निकायमा रहेर अगुवा भएर अन्याय, अत्याचार, भ्रष्टाचारीलाई निर्मूल पार्दै शिक्षा र विकासमा जोड दिएको छु । त्यसैले नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिने मेरो पहिलो दायित्व पनि हो र कर्तव्य पनि ।
साविकको सल्लेरी गाविसको अध्यक्षमा निर्वाचित भएकै आधारमा साविकको अन्य ८ गाविसको जनताले तपाईको पक्षमा भोट हाल्छन त ?
सोलुदुधकुण्ड नगरपालिकामा ८ वटा साविकको गाविस गाभिएको छ । टाक्सिन्दु, वेनी, तामाखानी, सल्लेरी, गार्मा, केरुङ, टाप्टिङ र गोराखानी साविकको गाविसलाई नगरपालिकामा गाभेर १० वटा वडामा विभाजन गरिएको छ । नगरपालिकाको १० वटै वडामा म पुगेको छु । अहिले चुनावको मुखमा मात्रै होइन म धेरै वर्ष अगाडिदेखि गाउँगाउँमा जनताको पीरमार्का बुझ्न गएको छु । अहिले पनि निरन्तर ती गाउँ र वडाका जनताहरुसँग सम्पर्कमा छु । जसले गर्दा त्यही निरन्तर सम्पर्क र उनीहरुको अभिमतले स्थानीय तहको निर्वाचनमा सोलुदुधकुण्ड नगरपालिकाको प्रमुखमा सय प्रतिशत चुनाव जित्न सक्छु, भन्ने लागेको छ । जनताहरुकै सल्लाह र सुझावले नगरपालिकाको प्रमुखमा उम्मेदवारी दावी गर्न बाध्य भएको हो । त्यसैले जनताहरुले मलाई मत जाहेर गर्ने कुरा त नौलो भएन । मलाई विश्वास छ की नगरपालिकाको १० वटै वडाका जनताले ईमान्दारीका साथ मलाई र नेकपा एमालेका तर्फबाट उठेका उम्मेदवारलाई भोट हालेर अत्याधिक बहुमतले जिताउँछन् ।

सोलुदुधकुण्ड नगरपालिकाको प्रमुखमा चुनाव लड्नको लागि तपाईको पहिलो एजेण्डा के हुन्छ ?
नगरपालिकाको प्रमुखमा चुनाव लड्नको लागि मेरो पहिलो एजेण्डा भनेको सोलुदुधकुण्ड नगरपालिकालाई नेपालकै नमूना नगरपालिकाको रुपमा विकास गर्नको लागि योजनाको खाका कोर्छु । नगरपालिकालाई नेपालकै नमूना नगरपालिका बनाउने महत्वकांक्षी योजना भन्लान् विपक्षीहरुले तर म बोलीमा भन्दा पनि व्यवहारमा विश्वास गर्ने मान्छे हो, म गरेर देखाई दिन्छु ।
विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत अन्य हिमश्रृंखलाको राम्रो भ्यू सोलुदुधकुण्ड नगरपालिकाकै रातनाङ्गे डाँडा र सेलगुढी डाँडाबाट देख्न सकिन्छ । ती दुवै डाँडाँमा सेलगुढीदेखि रातनाङगे डाँडासम्म दुई मिटर अग्लो, तीन मीटर फराकिलो पर्खालको बाटो बनाएर सगरमाथा लगायत अन्य हिमालका दृष्यहरु अवलोकन गर्ने ठाउँ बनाउँछु । जसको नाम ‘मीनि एभ्रेष्टभ्यू वाल’ राखिने छ । जसले गर्दा छिमेकी जिल्लाका आन्तरिक पर्यटक, छिमेकी देशका पर्यटक लगायत विश्वको पर्यटकहरु यस नगरपालिकामा हिमाल हेर्न र मनोरञ्जन गर्न आउँछन् । यदि मैले यो योजना पूरा गर्न सके भने सोलुदुधकुण्ड नगरपालिका नेपालकै नमूना नगरपालिका बन्छ, भन्ने मलाई लागेको छ ।
तपाईको यो महत्वकांक्षी योजना सम्भव होला त ? की चुनावी नारा मात्र बनाउनु भएको हो ?
सम्भव छ । किन भने अहिलेको स्थानीय तहको संरचनाले मैले अघि सारेको योजना अवश्य सम्भव छ । कसरी भने विश्वको सर्वोच्च शिखर सगरमाथा, लगायत अन्य हिमालहरु आरोहण गरे बापतको सलामी दस्तुर यो जिल्लामा आउँछ । एक वर्षमा त्यो सलामी दस्तुर करिब ६ करोडभन्दा बढी आउँछ । त्यसको प्रत्येक वर्ष ३० प्रतिशत रकममात्र खर्च गर्ने हो भने पनि मैले देखेको ‘मीनि एभ्रेष्टभ्यू वाल’ ३ वर्षमै पूरा हुन्छ । त्यसैले मैले यो योजनाको कुनै चुनावी नारा बनाउन खोजेको हैन । म त सोलुदुधकुण्ड नगरपालिकालाई नमूना र समृद्ध नगरपालिका बनाउँन चाहन्छु, भन्न मात्रै खोजेको हो ।
सोलुदुधकुण्ड नगरपालिकाभित्र तपाइले ‘मीनि एभ्रेष्टभ्यू वाल’ को साथै ५ वर्षभित्रमा नगरपालिकाको अहिलेको संरचनामा कस्तो विकासे परिवर्तन ल्याउन सक्नु हुन्छ ?
५ वर्षभित्र म अहिले सडकको ट्रयाक खोलिएर गाडि गुडेका जत्ति पनि धुले सडक छन्, ती सबै सडकलाई कालोपत्रे गर्न सकिन्छ । नगरपालिकाको वडा नं. ६ जेरोप्वाइन्टदेखि नेलेसम्मको सडक कालोपत्रे हुन्छ । त्यत्तिमात्र होइन फाप्लुदेखि वडा नं. १ टाक्सिन्दुको नुनथला सडकखण्ड, सल्लेरी तामाखानी हुँदै पिकेसम्मको सडकखण्ड, फाप्लुदेखि जुनवेशीसम्मको सडकखण्ड र सल्लेरीदेखि सेलगुढी डाँडासम्मको सडकखण्ड कालोपत्रे हुन्छ । सडकले नछोएको नगरपालिकाको वडाहरुमा सडकको ट्रयाक खोल्ने, विद्युतको राम्रो सुविधा नभएको वडा र गाउँमा विजुलीको व्यवस्था गर्ने, स्वच्छ खानेपानीको व्यवस्था गर्ने, वि.सं. २०५१ सालमा नेकपा एमालेको नौ महिने अल्पमतको सरकारले ल्याएको लोकप्रिय कार्यक्रम अन्तर्गत सामाजिक सुरक्षा भक्ता नगरपालिकाको हरेक वडाका बृद्धबृद्धाहरुको घरदैलोमै पु¥याउने व्यवस्था गर्नेछु ।
नगरपालिकाको सबैभन्दा बढि आगोको जोखिम हुने सल्लेरी बजारमा बारुण यन्त्र ल्याउने, बजारको माथिल्लो क्षेत्रमा फाप्लुदेखि दोर्पुबजारसम्म १० वटाभन्दा बढी पानी ट्याङकी बनाएर आगलागीबाट हुने क्षति न्यूनीकरण गरिने छ । अहिलेको नगरपालिकाको विकासे स्वरुपमा आकाशपात्तलको फरक हुनेछ । ५ वर्षभित्र नमूना र समृद्ध नगरपालिका साथै नगरबासीले गर्व गर्न लायक सुन्दर नगर बनाउने छु ।

त्यसो भए सोलुदुधकुण्ड नगरपालिकाको १० वटै वडामा एमालेको जित सुनिश्चित छ त ?
नगरपालिकाको १० वटै वडामा एमालेको विजयी हुन्छ । तर यसमा पाटीले उम्मेदवारी छनौटमा बुद्धिमत्तापूर्ण रुपमा काम गर्नु पर्छ । अहिलेकै स्थितिमा पनि हामी नगरपालिकाको अधिकांश वडामा वडा अध्यक्ष सहित सदस्यहरु हाम्रो पाटी एमालेको बढि जित सुनिश्चित छ । झनै हामी चुनावी कार्यक्रममा घरदैलो अभियानमा गयौं भने त हाम्रो विकासे योजना र एजेण्डा देखेर जनसागर एमालेको पक्षमा उर्लिएर आउँछ । जसले नगरपालिकाको सबै वडामा एमालेको जित सुनिश्चित हुन्छ ।
अन्त्यमा सोलुदुधकुण्ड नगरपालिकाको नगरबासी जनतालाई के भन्नु हुन्छ ?
आदरणीय मतदाताहरुसँग म के भन्न चाहन्छु भने यहाँहरुको सेवामा मैले साविकको सल्लेरी गाविसको अध्यक्ष र दुईपटक प्रधानपञ्च हुँदा १५ वर्षसम्म तपाईहरुको सेवा गरे । मलाई आशा छ, १० वटै वडाको प्रत्येक नगरवासीको घरदैलोमा गएर प्रत्येक जनतालाई सेवा सुविधा घरदैलोमै दिने व्यवस्था गर्नेछु । मैले अघि पनि भने र अहिले पनि दोहो¥याउन चाहन्छु प्रत्येक बृद्धबृद्धाहरुको लागि सामाजिक सुरक्षा भक्ता बापतको रकम, अपाङ्ग भक्ता, विधुवा भक्ता प्रत्येक घरघरमा पु¥याउने मेरो लक्ष्य छ । त्यसैले समग्र नगरपालिकाको विकासको लागि सूर्य चिन्हमा मतदान गर्न म सबै नगरवासीहरुमा विनम्र अनुरोध गर्दछु ।







