६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

सिद्धिचरण नगरपालिकाको मेयरमा काे काे भिड्दैछन् ? यस्ताे छ समिकरण


२३ चैत्र २०७३, बुधबार  

0
Shares

सिपी ढुङ्गाना
ओखलढुंगा, २३ चैत । ओखलढुंगाको सदरमुकामका चिया पसलहरुमा अहिले चुनावी बहस राम्रै हुन थालेको छ । विहान पाँचै बजे नै खुल्ने लोकतान्त्रिक चोकका सुवास चिया पसल र रमेश चिया पसलमा विहान १० बजे सम्मै स्थानीय तहको निर्वाचन र उम्मेदवारको चर्चा हुन्छ । ओखलढुंगामा एक नगरपालिकासहित ७ गाउँ पालिका रहेका छन् । चोक चोकमा चुनाव र उम्मेवारको चर्चा भइरहँदा नगर क्षेत्रमा चुवावी माहौल तातिइसकेको छ । दलका नेता कार्यकर्ता चुनावी अभियान लिएर मतदताकाहाँ पुगेका छन् । चिया पसलमा प्राय भेटिने फेदिगुठ गाविसबाट ०४९ का निर्वाचित गाविस अध्यक्ष लक्ष्मीकुमार तामाङ अहिले गफगाफका अन्य विषय नै नउठ्ने बताउँछन् ।
युगकवि सिद्धिचरण श्रेष्ठको नामबाट नामाकरण गरिएको यस नगरपालिकामा साविकका ११ गाविस मिलाएर १२ वडाको नगरपालिका बनाइएको छ । यस अघि यस नगरपालिकामा ६ गाविसमात्र समावेश थिए । हाल स्थानीय तहको पुनः संरचना गर्दा बेतिनी, तलुवा, ठूलाछाप, जन्तरखानी र विगुटार मिसाएर पुनःसंरचना गरिएको छ । २८ हजार ३ सय ७४ जनसंख्या रहेको नगर क्षेत्रमा मुख्य प्रतिपर्धा एमाले र काँग्रेसको हुने देखिएको छ ।
यस्तो छ समिकरण
साविकका ११ गाविसहरुको ०५४ सालको निर्वाचनको नतिजालाई आधार बनाउँदा हाल नगरपालिकामा समेटिएका ११ मध्ये ७ गाविसमा एमालेले जितेको थियो । हाल समेटिएका ओखलढुंगा सदरमुकामसहितका जन्तरखानी, तलुवा, ठूलाछाप, बेतिनि, विगुटार र रुम्जाटार गाविस एमालेले जितेको थियो । काँग्रेसले ज्यामिरेसहित बर्णालु, सल्लेरी र अधेरी नारायणस्थान गरी  जितेका ४ गाविस हुन् । यसरी हेर्दा कांग्रेस र एमालेको नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । मतका हिसाबले एमाले अगाडी छ ।
नेकपा माओवादी केन्द्रको नगर क्षेत्रमा संगठन कमजोर भएकाले अहिले संगठन निर्माण गर्ने अभियानमा जुटेको छ । माओवादी केन्द्र अरुले कमजोर भने पनि संगठन विस्तार र प्रशिक्षण निरन्तर चलाइएकाले आफुहरु सशक्त दावेदार भएको नगर संयोजक कुलबहादुर नेपालीले बताए ।
एमाले अघिअघि काँग्रेस पछिपछि
एमालेले जितेको निर्वाचन क्षेत्र नं. १ मा रहेको एक मात्र नगरपालिकामा समेटिएका गाविसबाट ०७० सालका संविधान सभा निर्वाचनमा एमालेले पहिलो मत ल्याएको थियो । साविकका ११ गाविसमध्ये ज्यामिरे, अधेरी नारायाणस्थान र सल्लेरी बाहेकका गाविसबाट पहिलो भोट एमालेले ल्याएकाले नगर क्षेत्रमा पहिलो शक्ति रहेको एमाले सचिव संकर कट्वालले बताए । नगर क्षेत्रमा समेटिएका गाविसहरुमा ०५४ स्थानीय निर्वाचन परिणाम अनुसार पनि एमाले पहिलो, काँग्रेस दोस्रो थियो ।
सदरमुकाम समेत रहेकाले नगरपालिकाको निर्वाचनलाई सबै दललले प्रतिष्ठाको विषय बनाएका छन् । एमालेले जितेकै निर्वाचन क्षेत्रमा रहेका नगरपाालिका जितेर इतिहाँस रच्ने तयारी काँग्रेसले गरेको छ भने एमालेले नगर क्षेत्रलाई मुख्य प्रथामिकतामा राखेर चुनावी अभियान चलाएको छ । काँग्रेसका सचिव रुद्र अधिकारीले नगर क्षेत्रमा विगतभन्दा संगठन बलियो र मतदाता काँग्रेसको पक्षमा रहेकाले काँग्रेस पहिलो शक्ति भएको दावी गरे ।
यहाँ संघीय समाजवादी फोरम, राप्रपा र नयाँ शक्ति अस्तित्वमा रहे पनि दुई मुख्य प्रतिस्पर्धी एमाले काँग्रेसपछिको निर्णायक शक्ति माओवादी नै हो । माओवादीले ल्याउने मतले एमाले–काँग्रेस कस्ले जित्छ जित निर्धारण गर्न सक्छ ।
मुख्य प्रतिस्पर्धी एमाले र कांग्रेसमा मेयरका उम्मेवारका आकांक्षीहरु बढ्न थालेका छन् । दुवै पार्टीमा आंकाक्षीको सूची लामै छ । दुवै पार्टीले आफुले जित्ने आँकलन गरेकाले उम्मेदवार हुन चाहनेहरु बढेका हून् ।
एमालेमा अध्यक्षकै माग
एमालेमा नगर क्षेत्रमा धेरै नेताहरु रहेकाले दावेदार आधा दर्जन रहेका छन् । एमालेका १७ जना जिल्ला कमिटी सदस्य नगर क्षेत्रमा रहेका छन् । नगर क्षेत्रमा लोकप्रिय रहेका जिल्ला अध्यक्ष मोहनकुमार श्रेष्ठ नै मेयरमा उठ्नु पर्ने आवाज कार्यकताहरुबाट समेत उठेको छ । यद्यपी श्रेष्ठले उम्मेदवारीबारे पार्टीले निर्णय गर्ने बताउँदै आएका छन् । श्रेष्ठ उम्मेदवार भएमा अरु प्रतिस्पर्धी नै नहुँने एमाले कार्यकर्ताको मूल्यांकन छ । उम्मेदवारको दावेदारका रुपमा जिल्ला सचिव शंकर कट्वाल, केदारबाबु बस्नेत, अम्बीरबाबु गुरुङ, सिताराम गुरुङ, मेखबहादुर खड्का
लगायत रहेका छन् ।


भोटको हिसाब किताबमा चुनाव जितिने निक्र्यौलमा पुगेकाले आकाँक्षी बढेको एमालले जनाएको छ । दावेदारमध्ये जिल्ला सचिव शंकर कट्वाल, नेताहरु सिताराम गुरुङ, अम्बीरबाबु गुरुङलगायत चर्चामा छन् । एमालेका सचिव समेत रहेका शंकर कट्वाल साविक ठूलाछाप गाविस र सिताराम गुरुङ रुम्जाटार गाविसका अध्यक्ष हुन् ।
चर्चा जस्ले जस्को गरे पनि जिल्ला पार्टीले एकजना सर्वसम्मत उम्मेदवार चयन गर्ने उपाध्यक्ष नेत्र भट्राई बताए । महिला उम्मेदवारको रुपमा सञ्जु श्रेष्ठ, राधा निरौला, निर्मला श्रेष्ठ लगायत जिल्ला सदस्यहरुको चर्चा छ ।
काँग्रेसमा खनाल परिवारको दवदवा
नेपाली कांग्रसमा पनि आंकाक्षी धेरै छन् । मुख्य दावेदारका रुपमा महासमिति सदस्य डिल्लीराम खनाल, उपसभापति तेजेन्द्र खनाल रहेका काँग्रेसका नेताहरुले बताएका छन् । क्षेत्रीय सभापति दानवहादुर बानिया, युवा नेता विनोद केशी देवी केशी लगायतको समेत दावी रहेको काँग्रेस सचिव अधिकारीले बताए । महिला नेतृहरु गोमा केशी, बाला अधिकारी, हेमालक्ष्मी राई संगीता राई लगायतको समेत उम्मेदवारीमा चर्चा छ । यसमध्ये डिल्लीराम र तेजेन्द्रमध्ये एक काँग्रेसबाट उम्मेदवार हुने सम्भावना छ । चर्चा पनि तेजेन्द्र र खनाल र डिल्लीराम खनालको बढी छ । क्षेत्रीय सभापति दानवबहादुर बानिया पनि ससक्त दावेदार हुन् ।
काँग्रेसको एक समुहले भने दुवै खनाल एकै परिवारका भएकाले एक नभएको अर्को हुने गरि उम्मेदवार बन्ने सेटिङमा पारिवारवाद लाद्न खोजेको भन्दै युवा नेता विनोद केशीलाई अघि सार्न पार्टीभित्र दवाव शुरु भएको एक जिल्ला नेताले बताए । उनले युवाहरु विकल्पमा रहेको भन्दै दावेदार थुप्रै रहेको जानकारी दिए । यद्यपी डिल्ली खनालकाे उम्मेदवारी पक्का जस्तै देखिन्छ ।
माओवादी केन्द्रमा तीन मुख्य दावेदार
एमाले र काँग्रेसको तुलनामा उम्मेदवार माओवादी केन्द्रमा कम प्रभावशाली देखिएका छन् । अहिले माओवादीमा नगर इञ्र्चाज गुणकुमार राई र रुपेश शाक्यको चर्चा छ । अर्का नगर संयोजक कुलबहादुर नेपाली पनि मेयरका दावेदार हुन् । माओवादीमा गुणकुमार र रुपेश शाक्य भने पार्टीभित्रका मूख्य दावेदार भएको माओवादीका नेताहरुले बताएका छन् । शाक्य युवा र बजार क्षेत्रका भएकाले अघि सार्न पार्टीभित्र समेत दवाव छ । ‘हामी प्रभावकारी ढंगले अभियान चलाइरहेका छौं, जनमत हाम्रो पक्षमा आएको छ’ शाक्यले भने । शाक्य नै माअाेवादीका उम्मेदवार हुने पनि पक्का रहेकाे बताइन्छ ।
साना दलको अभियान शुन्य
अन्य साना दलको औपचारिक चुनावी अभियान शुन्यप्राय छ । नगर क्षेत्रमा राप्रपा, संघीय समाजवादी फोरम, क्रान्तिकारी माओवादी, राष्ट्रिय जनमोर्चा र नयाँ शक्ति समेत क्रियाशील छन् । उनीहरुको उपस्थिति ठूला तीन दलको तुलनमा सुस्त छ । चुनाव बहिस्कारमै रहेका फोरमले अभियान चलाएको छैन भने अन्य दलहरुको चुनावी गतिविधी शून्यप्राय छ ।

याे नगरमा  एमालेले अाफ्नाे बर्चश्व कायम राख्न जति सहज छ काँग्रेसका लागि इतिहास जाेगाउन उतिनै सकस पर्ने निश्चित छ ।

Sagarmatha

प्रकाशित मिति : २३ चैत्र २०७३, बुधबार  ४ : २२ बजे