५ श्रावण २०८३, मंगलबार | Wed Jul 22 2026

तराई मधेसका राजनीतिक दलहरु चुनावी चलह पहलमा जुट्दै


२३ चैत्र २०७३, बुधबार  

0
Shares

धनुषा, २३ चैत । संविधान संशोधन बिना स्थानीय निकायको निर्वाचन हुन नदिने मधेस केन्द्रित दलको अडानले तराई मधेसका सहरमा चुनावी गतिविधि नदेखिए पनि गाउँगाउँमा चुनावको तयारीमा मधेसी मोर्चा इतरका दल जुट्दैछन् ।

जनकपुरमा नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, देशभक्त जनगणतान्त्रिक मोर्चा, नयाँ शक्ति पार्टी नेपाललगायत दल दिनहुँ कार्यकर्ता भेटघाट गर्नेदेखि पार्टी प्रवेश अभियानलाई तीव्र पारेका छन् भने अर्कोतर्फ जिल्ला निर्वाचन कार्यालयले चुनाव केन्द्रित कुनै किसिमको तयारी गर्ने माहौल नभएको बताउँदा यस क्षेत्रमा अधिकांश सम्भावित उम्मेदवार अन्योलमा छन् ।

देशका धेरैजसो जिल्लामा सम्भावित उम्मेदवारको खोजी र चर्चा भइरहेको बेला धनुषा जिल्लासहित मधेसका जिल्लामा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको विरोधका कारण प्रदेश नम्बर नं २ मा अहिलेसम्म चुनावी चहल पहल न्यूनरुपमा देखिएको हो । अन्यत्र चुनावी चहल–पहलसम्बन्धी समाचार आए पनि धनुषा जिल्लासहित आसपासका क्षेत्रमा चुनावी चलह पहल तथा मनस्थिति हालसम्म नदेखिएको नेपाल पत्रकार महासङ्घ धनुषा शाखाका पूर्वअध्यक्ष अशोक रौनियार बताउनुहुन्छ ।

Sagarmatha

तराईका जिल्लामा प्रायः चुनावी माहौल शून्य भएको बताउँदै निर्वाचन हुने वा नहुनेमा नै अन्योल रहेको निर्माण व्यवसायी सङ्घका जिल्ला अध्यक्ष विवेकानन्द मिश्रको भनाइ छ । उहाँले भन्नुभयो, “सम्भावित उम्मेदवार भए पनि हेर र पर्खको नीतिमा अहिले रहेको छ ।” मतदाता नामावलीलाई अन्तिम रुप दिएका जिल्ला निर्वाचन कार्यालयले स्थानीय तह निर्वाचनका लागि मतदान केन्द्रको पुनरावलोकन भने अहिलेसम्म गर्न सकेका छैनन् । निर्वाचन कार्यालयले पनि अहिलेसम्म मतदान केन्द्रको यकिन गर्न नसकेको धनुषाका प्रमुख निर्वाचन अधिकृत पुष्पा झा बताउनुहुन्छ ।

आन्दोलनरत पक्षको जायज माग सम्बोधन गर्दै चुनावी माहौल बनाउन सरकार र प्रमुख दललाई यहाँका बुद्धिजीवीको सुझाब छ । नेपाली जनताको कल्याणलाई ध्यानमा राखेर सोच्नुपर्ने तथा जनता सर्वोपरि भएकाले आ–आफ्नो हठ त्यागेर सहमतिका लागि सरकार र आन्दोलनकारी दुवै पक्षले सहमतिको विन्दु खोज्नुपर्ने वरिष्ठ साहित्यकार डा राजेन्द्र विमलको कथन छ ।

नेकपा (माओवादी केन्द्र) धनुषा शाखले चुनाव केन्द्रित गर्दै विभिन्न गाउँपालिका तथा नगरपालिकामा कार्यकर्ता भेला गरी उम्मेदवार छनौटका लागि लागिपरेको स्थायी सदस्य महादेव यादव बताउनुहुन्छ ।

त्यस्तै मधेसी मोर्चामा आबद्ध मधेस केन्द्रित राजनीतिक दल तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी र सङ्घीय समाजवादी फोरम नेपाललगायत दल स्थानीय निर्वाचनको विरोधमा देखिए पनि विभिन्न ठाउँमा कार्यकर्ता प्रवेश कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरेकाले आन्तरिक रुपमा उनीहरु पनि चुनावमा होमिने विश्वास स्थानीय युवा नेता सुशील कर्णको विश्लेषण छ ।

प्रमुख राजनीतक दललगायत मधेसवादी दल निर्वाचनको पक्षमा खुलेर नलागे पनि आन्तरिक रुपमा उम्मेदवारको खोजी भइरहेको जिल्लास्तरका नेताहरु बताउँछन् ।

प्रकाशित मिति : २३ चैत्र २०७३, बुधबार  ९ : ०२ बजे