२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

को बन्ला त्रियुगा नगरपालिकाको मेयर ? यस्ता छन् दावेदार



उदयपुर, २४ चैत । सरकारले आगामी बैशाख ३१ गते स्थानीय तहको निर्वाचनको घोषणा गरेपछि निर्वाचनको तयारीमा राजनीतिक दलहरु जुटेका छन् । स्थानीय तह पुनः संरचना आयोगले उदयपुरमा ४ वटा नगरपालिका र ४ वटा गाउँपालिका सिफारिस गरेपछि रदलहरु आगामी निर्वाचनमा मेयर, उपमेयर, गाउँपालिका अध्यक्ष, वडा अध्यक्षको टीकट हात पार्न लविङ शुरु गरेका छन् ।

दुई दशक देखि हुन नसकेको स्थानिय निर्वाचनका लागि विशेष गरी ठुलादलहरु टिकटका लागि जिल्लादेखि केन्द्रीय नेताहरुको घर घर धाउन थालेका छन । उदयपुरको ४ नगरपालिका र ४ वटा गाउँपालिकाको टिकट लविङका लागि स्थानिय नेताहरु तीब्र लविङमा लागेका हुन् ।

उनीहरु केन्द्रीय तहका नेतालाई फोन गर्ने देखि भेटघाट सम्म, जिल्ला तहका नेता ,वडा स्तरका आफना कार्यकर्ता, शुभचिन्तक हरु संग दैनिक परामर्श, भेटघाट तथा पार्टीका विभिन्न कार्यक्रमहरुमा ब्यस्त देखिन थालेका छन् । राजनितिक दलहरु यसरी चुनावी माहोलमा होमिए पछि मतदाता समेत चुनावी गफगाफमा व्यस्त देखिएका छन् ।
एमालेका दावेदार बस्नेत र राउत अब्बल
उदयपुर सदरमुकाम गाईघाटमा रहेको तथा उदयपुरको सबै भन्दा पुरानो नगरपालिका त्रियुगा नगरपालिकामा नेकपा एमालेका तर्फबाट मेयरका लागि नेकपा एमाले उदयपुर सचिवालय सदस्य प्रकाश बस्नेत, जिल्ला कमिटी सदस्य तथा पुर्व वडा अध्यक्ष भागवत राउत र शिव रेग्मीको दावी छ । त्यस्तै पूर्व वडाध्यक्ष ईन्द्र वहादुर थापाको नाम पनि चर्चा छ । दावेदारमध्ये प्रकाश वस्नेत र भागवत राउत बलिया मानिएका छन् । अन्य आकांक्षी मध्ये वस्नेत र राउतको समाजमा छुट्टै र भिन्नै प्रभाव रहेको छ ।
बस्नेत पाटी राजनीती र पर्दा पछाडि खेलीने सवै खेलमा माहिर र सफल मानिन्छन् भने राउत समाज सेवामा अग्रणी भएको हुँदा सामाजीक छवी र वलीयो जनाधार भएको व्यक्तिको रुपमा चिनिन्छन् । वस्नेत लगातार २० वर्ष देखि जिल्ला कमिटी सदस्य रहदै आएका जिल्ला कमिटीका सवैभन्दा वरिष्ठ सदस्य हुन भने राउत पनि ३ कार्यकाल जिल्ला कमिटी सदस्य हुनुको अलावा सानै उमेरमा नगरपालिकाको सदरमुकामको वडाध्यक्ष भएर स्थानिय निकायको अनुभव संगाली सकेका र समाज सेवाको भिन्न भिन्न आयाममा र पाटोमा काम गर्दै आएको भिजन भएको प्रखर यूवा नेताको रुपमा चिनिन्छन् । वस्नेत र राउत दुवैजना शिक्षा पे्रमी तथा समाजसेवी हुन् ।
वस्नेतले प्याराडाईज नाम गरेको उदयपुर जिल्लाकै राम्रो शैक्षिक गुणस्तरभएको निजी वोडिङ्ग संचालन गरेका छन् भने राउतले जग्गा समेत आफैले दिएर मनमोहन आदर्श सामुदायिक विद्यालय संचालन गरेका छन् । वस्नेत मेलमीलाप गर्न मिल्ने कानूनले निर्दीष्ट गरेका मुद्धाहरु प्रहरी कार्यालय सम्म नपुगी नै मीलापत्र गरेर जनतालाई सेवा प्रदान गर्ने सामुदायीक प्रहरी सेवाको अध्यक्ष हुन भने राउत नेपाल नेत्रज्योति संघ नामक आँखा रोगको उपचारमा क्रियाशिल रहेको संस्थाको सभापति हुनुको अलावा आँखा अस्पताल गाईघाटका समेत अध्यक्ष हुन् ।
यस्ता छन् काँग्रेसमा
यस्तै त्रियुगा नगरपालिकामा मुलुकको सवैभन्दा पुरानो र ठुलो राजनैतिक शक्ति नेपाली काग्रेसबाट उदयपुरका पुर्व सभापति हिमाल कार्की, २ नं. क्षेत्रिय सभापति वसन्त बस्नेत, त्रियुगा नरपालिकाका नगर सभापति सरोज बस्नेत लगायतको नाम चर्चामा रहेको छ । सभापति विदुर वस्नेतले समेत उमेदवारहुन आग्रह गरेका कार्की पूर्व जिल्ला सभापती समेत हुनुको अलावा शेर वहादुर देउवाको निकट समेत हुन् । यसर्थ कार्कीको संभावना वलियो रहेको एका काँग्रेस नेताले बताए । यद्यपी कार्की एमालेको उमेदवार हेरेर मात्र आफ्नो उमेदवारीको वारेमा निर्णय गर्ने मनस्थितिमा रहेको कार्की निकट ती नेताले वताए ।
माओवादीमा जनजाति नेताको चर्चा
यस्तै माओवादी केन्द्रबाट भने किरण राई, नारायण बुर्जा मगर, मिन बाहादुरज्यू ठकुरी, विमल किराती लगायतको नाम चर्चामा रहेको माओवादी केन्द्रका एक नेता बताए । वेला वेला साना ठूला खेल प्रतियोगीता आयोजना गर्ने गरेका किरण राई माओवादीको अन्य नेताको तुलनामा अलिक वढि सामाजिक छवीका हुन । अस्थीर राजनैतीक स्वभावका राई राजनीतीमा सफल खेलाडि मानिन्छन् । राजाको शासनकालमा तत्कालीन अंचल प्रशासक रामकुमार सुव्वाको मेयरका उमेदवार राईलाई जनयुद्धमा सामेल भएका अन्य माओवादी नेताहरुले राजनैतीक रुपमा रामकुमार सुव्वाको छोरो र प्रचण्डको झडकेलोको रुपमा वुझ्छन् । यस कारण चुनाव हारे पनि राजनीती जित्ने हो भने सौम्य र भद्र चरित्रका एमालेका पुर्व पाटि सचिव समेत रही सकेका राजनैतीक संस्कार र चरित्र भएका मिन वहादुरज्यू ठकुरी र जनमोर्चा सँग एकता प्रकृयावाट आएका सामुदायीक वन उपभोक्ता महासंघका अध्यक्ष रहिसकेका नारायण वुर्जामध्ये एकलाई टिकट दिनु पर्छ भन्ने कार्यकर्ताको धारणा छ ।
राप्रपा पनि तयारीमा
यसै गरि केहि महिना अघिमात्र पार्टी एकिकरण भएको राष्ट्रीय प्रजातन्त्र पार्टी उदयपुरले समेत मोटर साईकल ¥याली र विभिन्न साँस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रम गरेर तेश्रो शक्तिको रुपमा उदाउने कोशिस गर्दै वलियो दावेदारीको आधार पेश गर्न थालेको छ । राप्रपा वाट भने मेयरको उमेदवारको रुपमा जिल्ला अध्यक्ष धुब्र रायमाझी र नगर सभापति विरेन्द्र अधिकारीको नाम चर्चामा छ ।

प्रकाशित मिति : २४ चैत्र २०७३, बिहिबार  ११ : ३७ बजे