५ श्रावण २०८३, मंगलबार | Tue Jul 21 2026

एमालेसँग एक्लाएक्लै भिड्न नसक्ने भएपछि माओवादी–कांग्रेसको मोर्चाबन्दी !



ओखलढुंगा, ३० चैत । ओखलढुंगाको सिद्धिचरण नपा स्थानीय चुनावमा जित्नु सबै दलहरुलाई प्रतिष्ठाको विषय बनेको छ । चुनावको मिति नजिकिदै जाँदा कसरी जित हात पार्न सकिन्छ भन्ने रणनीतिमा दलहरु जुटेका छन् । कुनै बेला कांग्रेसको किल्लाका रुपमा परिचित ओखलढुंगा ०७० को संविधान सभा निर्वाचनपछि भतिकन थालेको छ । आफैभित्रको कलह र मतदाताको विकर्षण उसका लागि ठूलो चुनौति छ । माओवादी केन्द्र नगर क्षेत्रमा मुख्य पदमा जित्ने संभावना नरहेपछि मोर्चाबन्दीमा लागेको छ । काँग्रेस समेत आफ्नो आधारभूमीमा हलचल आएपछि सिट सुरक्षित गर्न अरुको सहयोग नभइ सकिन्न भन्ने निचोडमा पुगेको छ ।
यस कारण सिद्धिचरण नपा लगायत केहि गाउँपालिका र वडाहरुमा सत्ताधारी गर्ने गरी माओवादी केन्द्र र काँग्रेसको शीर्ष नेतृत्व छलफलमा रहेको छ । माओवादी केन्द्रका जिल्ला सचिवालयका एक नेताका अनुसार आवश्यकताका आधारमा वडा र गाउँपालिकामा समेत संयुक्त प्यालन बनाएर चुनाव लड्ने गरी छलफल भइरहेको छ । नगर क्षेत्रमा माओवादीले रुपेश शाक्यलाई अघि सार्ने र अन्तमा काँग्रेसका उम्मेदवार डिल्ली खनाललाई समर्थन गर्ने विषयमा वडा सहित मिलाउने गरी छलफल भएको बताए ।
एक्ला एक्लै चुनाव नजित्ने निक्र्यौलमा दुवै पार्टी पुगेका र एमाले तालमेलका लागि अग्रसर नहुने अनुमान गरेको माओवादी केन्द्रले केन्द्रको नीति अनुसार काँग्रेस सँग १ नं. प्रदेशभरी तालमेल गर्ने नीति लिएको छ । कुइभीर लगायतका वडामा भने काँग्रेसले माओवादीका वडा प्रमुखका उम्मेदवारलाई सहयोग गर्ने चर्चा छ । माओवादीका कार्यकर्ताहरु भने कांग्रेससँग सहकार्य गर्ने पक्षमा नभएको पाइएको छ । काँग्रेसँग सहकार्य गर्दा माओवादीको हैसियत कमजोर हुने उनीहरुको निचोड छ । एक कार्यकर्ताले काँग्रेससँग पार्टीले सहकार्य गरे पनि कार्यकर्ता तहमा काँग्रेसलाई भन्दा एमालेको पक्षमा जाने बताए ।
मओवादीले स्थापित नेता गुणकुमार राईको नगरपालिकामा उड्ने चर्चा भए पनि जित्ने गरी वर्णालुमा वडा अध्यक्ष उठाउने र नगरमा काँग्रेसलाई समर्थन गर्ने तयारी गरेपछि केही माओवादी कार्यकर्ताहरुले असन्तुष्टि जनाएका छन् ।
नपाका ११ मध्ये साविकका ७ गाविस ०५४ को स्थानीय चुनाव जितेको एमालेले ०७० को संविधानसभामा समेत पहिलो भोट ल्याएपछि काँग्रेस–माओवादी एमालेसँग एक्लै भिड्न डराएको हुनसक्ने अनुमान गरिएको छ ।
चुनाव नजितिने भएपछि मिलेर पद जोगाउने रणनीतिमा माओवादी केन्द लागेपछि एमालेले दुवैको मोर्चाबन्दीलाई परास्त गर्ने गरी उम्मेदवार छनौट गर्ने गरी आन्तरिक छलफल तीब्र बनाएको जनाएको छ । एमालेमा जिल्ला अध्यक्ष मोहनकुमार श्रेष्ठ, सचिव शंकर कट्वाल, सीताराम गुरुङ, अम्बीर गुरुङ लगायतको बढी चर्चा छ । एमाले हराउन जोसँग पनि मिलन सकिने र सत्ता गठबन्धनका दलहरुसँग मिल्ने विषयमा चर्चा भएको कांग्रेसका एक जिल्ला सदस्यले नाम नबताउने सर्तमा बताए ।
एमाले विरुद्ध सबैतिरबाट मोर्चाबन्दी गरे पनि एक्लै लड्ने ताकत नभएर अरुको साहरा खोज्नेहरु समाप्त हुने एमालेका जिल्ला सचिव शंकरबहादुर कट्वालले दावी गरे । उनले एमाले हराउन नसक्ने भएपछि अत्तालिएकाहरुले अपवित्र गठबन्धन गर्ने सक्ने बताए ।

प्रकाशित मिति : ३० चैत्र २०७३, बुधबार  १२ : ५३ बजे