२५ कार्तिक २०८३, मंगलबार | Wed Nov 11 2026

कस्का चुनावी नारा कस्ता ? एमालेकाे पर्यटन, जलस्रोत र कृषिः ओखलढुंगाको समृद्धि, काङ्ग्रेसकाे केबलकार


४ बैशाख २०७४, सोमबार  

0
Shares

ओखलढुंगा, बैशाख ४– ओखलढुंगामा एक नगरसहित आठ स्थानीय तह छन् । स्थानीय तहको निर्वाचनमा दलहरुले उम्मेदवार छनौट गर्ने कामलाई तीव्रता दिएका छन् । वडा तथा गाउँ पालिकाका उम्मेदवारहरु छनौट गर्ने काममा दलहरु जुटेका छन् । माओवादी केन्द्रले तीन गाउँ पालिका सुनकोशी, चम्पादेवी र चिसंखुगढीमा उम्मेदवार छनौट गरिसकेको छ । त्यस्तै एमालेले खिजीदेम्वा गाउँ पालिका, र अन्यमा वडा तहमा उम्मेदवार छनौट भएको जनाएको छ । नेपाली कांग्रेसले चिसंखुगढी, चम्पादेवीमा छनौट भएको जनाएको छ ।
दलहरुले बैशाख पहिलो हप्तामा सबै उम्मेदवार छनौट भइसक्ने जनाएका छन् । एमालेले बैशाख ७ भित्रै उम्मेदवारको सूचीलाई अन्तिम रुप दिने एमाले सचिव शंकर कट्वालले बताउनुभयो । काँग्रेसको १० गते सम्म लाग्न सक्ने जिल्ला सचिव रुद्र अधिकारीले जानकरी दिनुभयो । एमाले र कांग्रेसमा प्रमुख पदहरुमा उम्मेदवारका आकांक्षी बढी देखिएका छन् भने माओवादी केन्द्रमा गाउँ तहमा ठूला नेताहरुलाई चुनाव लड्न दवाव परिरहेको छ । गाउँमा केन्द्रिय सदस्यहरु नै उम्मेदवार बनेका छन् ।
मतदाताले स्थानीय तहको अधिकारभन्दा सडक, पुल, खानेपानी विद्युत जस्ता विकास माग गरेपछि दलहरुले पनि आफ्ना एजेण्डा त्यतै केन्द्रित गरेका छन् । उनीहरुले विकास निर्माणमा बजेट दिने प्रतिद्धता र विगतमा भएका कामको जस लिन होडबाजीमा छन् । तर दलहरुले समृद्ध स्थानीय तह बनाउने गुरु योजना ल्याएका छैनन् । भोट माग्न नै केन्द्रित छन् । दलहरुको घोषणा पत्र केन्द्रमा बन्ने र त्यही अनुसार जिल्लामा बन्ने माओवादी केन्द्रका नेता निशान्त शर्माले बताउनुभयो ।
अधिकार होइन विकास माग्छन् मतदाता
खिजीदेम्वा गाउँपालिका ९ पात्लेका पेम्वा शेर्पा पेशाले पर्यटन व्यवसायी गर्नुहुन्छ । स्थानीय तहमा निर्वाचनको चहलपहल शुरु भए पनि उहाँ सगरमाथाको आधारशिविरमा आरोहण दलका सदस्यहरु लिएर पुग्नु भएको छ । उहाँले स्थानीय तहको निर्वाचनमा सामाजिक विकासमा योगदान दिने व्यक्तिलाई मतदान गर्ने बताउनुभयो ।
खिजी देम्वामा मात्र होइन चिसंखुगढी गाउँपालिका ३ का मित्रप्रसाद ढुंगाना पनि गाउँमा विकास ल्याउने उम्मेदवारलाई जिताउने बताउनुहुन्छ । मतदाताहरुले भोट माग्न गाउँ पसेका दलहरुलाई अधिकार होइन घर आँगनमै सेवा र गाउँको विकास माग्न थालेका छन् । मतदाताले संविधानले जे अधिकार दिए पनि घर गाउँमा नजिकैको केन्द्रबाट सेवा र गाउँको विकासमा योजना माग्न थालेको खिजीदेम्वा गाउँपालिकाको प्रमुख पदका एमाले उम्मेदवार लाक्पागेल्बु शेर्पाले बताउनुभयो । ‘गाउँमा संविधानका अधिकार होइन विकास निर्माण खोजेका छन् ।’ उहाँले भन्नुभयो ।
गाउँपालिकाको एकिकृत विकास गर्ने खाका लिएर मतदता समक्ष आफु प्रस्तुत हुने शेर्पाको भनाइ छ ।
थरिथरिका घोषणाः केबलकारदेखी कृषि र पर्यटनसम्म
स्थानीय तह निर्वाचनमा एमाले र कांग्रेसले वडा तहमै घोषणा पत्र बनाउन थालेका छन् । काग्रेसले मोलुङ गाउँ पालिका २ मा कांग्रेसले केबलकार देखी बृद्धा।म बनाउने सम्मका एजेण्डा सार्वजनिक गरेको छ । रामपुर श्रीचौर केबलकार र बृद्धाश्रम लगायतका मुद्दा घोषणामा समावेश छन् । स्थानीय आवश्यकता अनुसार एमालेले पनि घोषणा पत्र तयार गर्ने उक्त वडाका एमाले नेता बाबुराम कार्कीको भनाइ छ ।
जिल्ला तहमा एमालेले पर्यटन, जलस्रोत र कृषिः ओखलढुंगाको समृद्धि भन्ने नारा तय गरेको छ । एमालेले घोषणा पत्र तयारी समिति जिल्ला तहमा बनाएर तयारी थालेको हो । सबै क्षेत्रको सुझाव लिएर स्थानीय घोषणा पत्र तयार हुने एमालेले जनाएको छ । ओखलढुंगाको समृद्धिका लागि पर्यटनको विकास, जलस्रोतको उपयोग र कृषिको आधुनिकीकरणबाट मात्रै सम्भव हुने एमाले उपाध्यक्ष नेत्र भट्टराईले बताउनुभयो । स्थानीय तह कस्तो बनाउने भन्ने खाका एमालेले तयार गर्ने उहाँको भनाइ छ । सडक र खानेपानी एमालेका पुरक एजेण्डा हुन् । माओवादी केन्द्रले पनि आवश्यकता अनुसार स्थानीय तहमा घोषणापत्र तयार हुने जनाएको छ । स्थानीय तहको अवस्था अनुसार एजेण्डा तय हुने जिल्ला सदस्य नवराज खड्काले बताउनुभयो
सरोकारवालाहरुले भने दलहरुले स्थानीय तहको समृद्धिका लागि दिर्घकालीन गूरुयोजना बनाउनु पर्नेमा जोड दिएका छन् । विकासका योजना जता माग्छन् त्यतै दिने नभइ समृद्ध स्थानीय तह बनाउन प्रथामिकता निर्धारण र गुरुयोजना निर्माण गर्नुपर्ने उनीहरुको सुझाव छ ।

प्रकाशित मिति : ४ बैशाख २०७४, सोमबार  ३ : २८ बजे