सोलुखुम्बु, १० असार । सोलुखुम्बुमा यत्तिबेला दोस्रो चरणको स्थानीय तह निर्वाचनको माहौल बढिरहेको छ । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी फोरम, नयाँ शक्ति नेपाल र स्वतन्त्र उम्मेदवारहरु गाउँगाउँमा भोट माग्दै जनमत आफ्नो पक्षमा पार्न व्यस्त छन् । व्यवहारमा भन्दा बोलीमा मात्र सपना देखाउने नेताहरु पनि यत्तिबेला चुनावि अभियानमा कस्सिएर लागेका छन् ।
स्थानीय तह निर्वाचनको मिति घोषणा हुनुभन्दा अघि कमै मात्र सोलुखुम्बुको सदरमुकाम सल्लेरी पुगेका नेता भनाउदाहरु पनि कस्सिएर चुनावी अभियानमा लागेका छन् । कतिपय पार्टिका उम्मेदवारहरु त गैरसरकारी संस्थामा काम गर्दागर्दै पनि उम्मेदवारी बनेका छन् । उनीहरुका लागि स्थानीय तहको निर्वाचनको सामना गर्नु फलामको चिउरा चपाउनु सो सरह हुने नेताहरुको भनाई छ ।

सोलुदुधकुण्ड नगरपालिकामा कस्ले बाजी मार्ला ?
सोलुखुम्बुको एक मात्र नगरपालिका सोलुदुधकुण्डमा सबैभन्दा बढि चर्चा नेकपा एमालेबाट मेयरका उम्मेदवार बनेका झलक शेर्पाको छ । एमालेबाट दुई पटकसम्म सांसदीय निर्वाचनमा उम्मेदवार भएका शेर्पासँग निर्वाचनको अनुभव अन्य दलकोभन्दा अलि बढिनै भएको नेताहरुको भनाई छ । मेयर पदमा उम्मेदवार बनेका नाम्गेल जाङ्बु शेर्पाको कुनै चुनावी अनुभव छैन । उनी गैरसरकारी संस्थामा काम गर्दा गर्दै स्थानीय तहको निर्वाचनमा होमिएका हुन् । नेकपा माओवादी केन्द्रका मेयरका उम्मेदवार ङिमातेण्डुप शेर्पाको पनि चुनावी अनुभव छैन । उनी पनि गैरसरकारी संस्थामा काम गर्दा गर्दै उम्मेदवार भएका हुन् ।
यता नगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसबाट छिण्डिल्हामु शेर्पा, नेकपा एमालेबाट कल्पना राई र ङिमागेल्मु शेर्पा चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । कांग्रेसका छिण्डिल्हामु शेर्पा लामो समयदेखि राजनीतिमा क्रियाशिल रुपमा लागिरहेका छन् । एमालेका कल्पना राई जिल्लाको सबै महिलाहरुको नेतृत्व गर्दै राजनीतिमा छलाङ मारेकी महिला नेतृ हुन् । सोलुखुम्बुको महिला उपमेयरमा शिक्षित र वाकशक्ति नेताको रुपमा राई दरिएकी छिन् । उनले नगरापालिकामा छुट्टै जनलहर बनाएकी छिन् । यता नेकपा माओवादी केन्द्रबाट उपमेयर बनेकी ङिमागेल्मु शेर्पाको भने त्यक्ति चर्चा छैन । किनभने छिण्डल्हामु शेर्पा र कल्पना राईको जत्ति चर्चा मतदातामा उनको त्यत्ति चर्चा नभएको मतदाताको भनाई छ ।
उता नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरमले सोलुदुधकुण्ड नगरपालिकामा चुनावी तालमेल गरेका छन् । नगरापलिकाको मेयरमा नेमी तामाङ र उपमेरयरमा जाङ्बु शेर्पालाई उम्मेदवार बनाएको छ । मुख्य तीन दलको भन्दा उनीहरुको चर्चा कम छ ।
दुधकोशी गाउँपालिकामा चुनावी चर्चा कस्तो छ ?
विशेष गरी खालिङहरुको बाहुल्यता भएको दुकोशी गाउँपालिकामा नेपाली कांग्रेसले भोजराज कार्कीलाई अध्यक्षको उम्मेदवार बनाएको छ । उनी कांग्रेसको कुशल नेता भएपनि आदिवासी जनजातिको बाहुल्यता भएको गाउँपालिका भएकाले उनको जनमत कति छ भन्ने सहजै आकलन गर्न अप्ठ्यारो भएको नेताहरुको भनाई छ ।
नेकपा एमालेबाट दुधकोशी गाउँपालिकामा बुद्धिकिरण राई अध्यक्ष पदको उम्मेदवार भएका छन् । राई पछिल्लो समयको जिल्लाको राजनीतिमा दरिलो उपस्थिति र सम्भावना बोकेको युवा नेता भएकाले उनको पक्षमा जनमत भएको नेताहरुको दावी छ । खालिङको बाहुल्यता भएकाले उनको पक्षमा जनमत बढि भएको नेताहरुको भनाई छ । यता माओवादी केन्द्रको तर्फबाट आशकुमार राईको पनि चर्चा राम्रैसँग चलेकै छ । कतिपय जिल्लाका नेताहरुको त के आकलन पनि छ भने दुई राई उम्मेदवार चुनावी प्रतिस्पर्दामा लडिरहदा कांग्रेसलाई सजिलो हुने आँकलन गरेका छन् ।
दुधकोशी गाउँपालिकाको उपाध्यक्ष पदको उम्मेदवारमा सबै नयाँ अनुहार आएका छन् । अहिलेसम्म उनीहरुको कुनै चुनावी अनुभव छैन । कांग्रेसबाट अमृता राई, एमालेबाट जुनिता मगर र माओवादी केन्द्रबाट निरकुमारी राई चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

खुम्बुपासाङल्हामु गाउँपालिकामा निमदोर्जीको चर्चा
खुम्बुपासाङल्हामु गाउँपालिकामा लामो समयदेखि सक्रिय रुपमा नेकपा एमालेबाट राजनीति गरिरहेका युवा नेता निमदोर्जी शेर्पाको चर्चा सबैभन्दा बढि छ । नेकपा एमालेको यस गाउँपालिकामा मजबुत संगठन र युवा उम्मेदवार भएकाले पनि उनको चर्चा बढी भएको बताएको हो ।
यता नेपाली कांग्रेसका अध्यक्ष पदका उम्मेदवार चुङ्बा शेर्पाको पनि चर्चा राम्रै छ । शेर्पाले पनि पञ्चायत कालदेखिको चुनावी अनुभव बटुलेका छन् । त्यसैगरी माओवादी केन्द्रकोले भने उपाध्यक्ष पदको मात्र उम्मेदवारी दर्ता गराएको छ । उपाध्यक्षामा नाम्गेल शेर्पाले उम्मेदवारी दर्ता गराएका छन् ।
खुम्बुपासाङल्हामु गाउँपालिकामा उपाध्यक्षको उम्मेदवारहरुले पहिलो चुनावी अनुभव बटुल्दै छन् । कांग्रेसबाट नाङल्हामु शेर्पा र एमालेबाट टासील्हामु शेर्पा चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।
दुधकौशीका गाउँपालिकामा कांग्रेसलाई सकस
सोलुदुधकुण्ड नगरपालिकापछिको सबैभन्दा बढि मतदाता रहेको दुधकौशीका गाउँपालिकामा नेपाली कांग्रेसलाई निर्वाचनमा सकस परेको छ । लामो समयदेखि नेपाली कांग्रेसमा सक्रिय राजनीति गरेका बीरबहादुर गुरुङलाई पार्टीले उम्मेदवारी नबनएपछि गुरुङले बागी उम्मेदवार भएर चुनावमा होमिएका छन् । पार्टीले हुतराज बस्नेतलाई अध्यक्ष पदको उम्मेदवार बनाएपछि असन्तुष्ट जनाउँदै गुरुङले स्वतन्त्रको तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् ।
दुधकौशीका गाउँपालिकामा नेपाली कांग्रेसको उपाध्यक्ष पदमा पनि बागी उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । पार्टीले सविता राईलाई उम्मेदवार बनाएपछि बागी उम्मेदवारमा प्रमिला राईले उम्मेदवारी दर्ता गरेकी छिन् । जसले यस गाउँपालिकामा कांग्रेसलाई निक्कै सकस परेको छ ।
दुधकौशीका गाउँपालिकामा नेकपा एमालेबाट अध्यक्ष पदको उम्मेदवारमा श्याम राई र उपाध्यक्षमा कल्पना गीरीलाई बनाएको छ । यस गाउँपालिकामा एमालेको जनमत मजबुत भएकाले आफूहरुले सहजै जित हासिल गर्ने उनीहरुको भनाई छ । यता नेकपा माओवादी केन्द्रको तर्फबाट अध्यक्षमा असिम राई र उपाध्यक्षमा मेनुका पुरीलाई अगाडि सारिएको छ ।
नेचासल्यान गाउँपालिकामा कांग्रेसको दुई जना बागी उम्मेदवार
नेपाली कांग्रेसको आधार ईलाका मानिएको नेचासल्यान गाउँपालिकामा नेपाली कांग्रेसको स्वस्छ छबि भएका दुई जना नेताले बागी उम्मेदवार दर्ता गराएर चुनावी अभियानमा कस्सिएर लागिपरेका छन् । पाँच दशकभन्दा बढि नेपाली कांग्रेसको सक्रिय राजनीतिमा लागेका श्रीलाल थापामगर र नारायण निरौलालाई पार्टीले उचित सम्मान नदिएकाले आफूहरु बागी उम्मेदवार उठेको बताएका छन् । पार्टीले जिल्ला सचिव समेत रहेका धनजन राईलाई अध्यक्ष पदको उम्मेदवार बनाएपछि नेपाली कांग्रेस परित्याग गरी बागी उम्मेदवार उठेको श्रीलाल थापामगरले बताए ।
थापामगरले अध्यक्ष र निरौलाने उपाध्यक्ष पदको स्वतन्त्र उम्मेदवार दर्ता गरी चुनावी अभियानमा लागेका छन् । यता नेकपा एमालेले भने सर्वसम्मत रुपमा युवा नेता डुफकुमार बास्तोलालाई अध्यक्षको उम्मेदवार बनाएको छ । बास्तोलालाई अध्यक्षको उम्मेदवार बनाएपछि नेचासल्यान गाउँपालिकामा एमालेको थप जनमत भएको एमाले निकटका नेताहरुको भनाई छ । एमालेबाट उपाध्यक्षमा अमृता राईलाई अगाडि सारिएको छ ।
उता माओवादी केन्द्रले भने केशर राईलाई अध्यक्षको उम्मेदवार बनाएको छ । पटक पटक निर्वाचनको अनुभव बटुलेका राईको पनि चर्चा परिचर्चा चलिरहेकै छ । उपाध्यक्षमा भने सविना राईलाई उम्मेदवार बनाएको छ ।
महाकुलुङ गाउँपालिकामा नरेन्द्रको चर्चा
महाकुलुङ गाउँपालिकामा नेकपा एमालेबाट अध्यक्ष पदका उम्मेदवार भएका नरेन्द्र कुलुङको बढि चर्चा चलेको छ । नेपाली कांग्रेसमा सक्रिय राजनीति गरेका युवा नेता सूर्य कुलुङलाई पार्टीले टिकट नदिएसँगै नरेन्द्र कुलुङको चर्चा थप चुलिएको हो । एमालेबाट उपाध्यक्षमा सुभधनी कुलुङलाई उम्मेदवार बनाएको छ ।
कांग्रेसले महाकुलुङ गाउँपालिकाको अध्यक्षको उम्मेदवार भलाकाजी कुलुङलाई बनाएको छ । उनी गैरसरकारी संस्थामा आबद्ध व्यक्ति हुन् । उपाध्यक्षमा भने विपना कुलुङलाई उम्मेदवार बनाएको छ । यता माओवादी केन्द्रले अध्यक्षमा सागर किराती र उपाध्यक्षमा झरना किरातीलाई अगाडि सारेको छ ।
लिखुपिके गाउँपालिकामा पनि कांग्रेसलाई सकस
डाँडापरीको गाउँपालिका भनेर परिचित लिखुपिकेमा पनि नेपाली कांग्रेसलाई चुनावी प्रतिस्पर्धामा अगाडि आउन सकस भएको छ । अध्यक्ष पदको उम्मेदवारी दावी गर्दै आएका शुभराम बस्नेतलाई पार्टीले टिकट नदिएपछि यस गाउँपालिकामा कांग्रेसलाई झन सकस भएको हो । पार्टीले रामबहादुर बस्नेतलाई अध्यक्ष पदको उम्मेदवार बनाएको छ भने उपाध्यक्षमा मीना बस्नेतलाई अगाडि सारिएको छ ।
नेकपा एमालेबाट अध्यक्ष पोष्टकुमार कार्की र उपाध्यक्षमा पल्मु शेर्पालाई अगाडि सारिएको छ । सर्वसम्म उम्मेदवारी चयन भएकाले एमालेको जनमत राम्रो भएको एमाले निकटका नेताहरुको भनाई छ । यता नेकपा माओवादी केन्द्रले भने अध्यक्षमा डम्बरबहादुर बस्नेत र उपाध्यक्षमा शर्मिला बस्नेतलाई अगाडि सारेको छ ।
सोताङ गाउँपालिकामा पनि कांग्रेस संकटमा
सोताङ गाउँपालिकामा पनि नेपाली कांग्रेसलाई स्थानीय तहको निर्वाचनमा संकट परेको छ । नेपाली कांग्रेसकै दिपक खड्काले बागी उम्मेदवार भएर अध्यक्ष पदमा चुनावी मैदानमा उत्रिएपछि नेपाली कांग्रेसलाई थप संकट परेको हो । यस गाउँपालिकामा कांग्रेसले अध्यक्ष पदको उम्मेदवार खिलाराज बस्नेतलाई बनाएको छ भने उपाध्यक्षमा नन्दकुमारी राईलाई अगाडि सारेको छ ।
त्यस्तै नेकपा एमालेले अध्यक्षमा बीरबहादुर राई र उपाध्यक्षमा लक्ष्मी बस्नेतलाई उम्मेदवार बनाएको छ । उता नेकपा माओवादी केन्द्रले अध्यक्ष पदको उम्मेदवार शाहीमान राईलाई बनाएको छ । उपाध्यक्षमा भने तारा किराती चुनावी मैदानमा उत्रिएका छन् ।
एक नगरपालिका र सात गाउँपालिकामा नेपाली कांग्रेसलाई स्थानीय तह निर्वाचनमा जित हासिल गर्न निक्कै कसरत गर्नुपर्ने जिल्लाका नेताहरुको भनाई छ ।







