बुद्धवीर बाहिङ/सोलुखुम्बु, १७ असार । दुधकोशी गाउपालिकामा नेकपा एमालेका युवा नेता बुद्धिकिरण राईले २,१९१ मत ल्याएर विजयी भएका छन् । राईले नेपाली कांग्रेसका भोजराज कार्कीलाई ५९२ मतले पछि पार्दै विजयी भएका हुन् ।
त्यस्तै उपाध्यक्षमा नेकपा एमालेकै जुनिता मगरले २,२६२ मत ल्याएर विजयी भएकी हुन् । मगरले नेपाली कांग्रेसका उम्रीता राईलाई ६५४ मतले पछि पार्दै विजयी भएकी हुन् ।
नेपाली कांग्रेसका कार्कीले १,५९९ र राईले १,६०८ मत लाएका थिए ।
को हुन् बुद्धिकिरण राई ?
वि.सं. २०३९ साल वैशाख १५ गते सोलुखुम्बु जिल्लाको साविको बासा गाविसमा जन्मिएका बुद्धिकिरण राई सानै उमेरदेखि सिर्जनशील र नेतृत्व गर्ने क्षमता राख्थे । राईको बाल्यकाल वासा गाविसमै वित्यो । उनले प्रारम्भिक शिक्षा हिमालय उच्च माध्यमिक विद्यालय वासाबाट शुरु गरे । दुई जना दाई शिक्षक र अरु विद्यार्थी भएकाले एक र दुई कक्षामा नपढी एकैचोटी कक्षा ३ मा भर्ना भई पढ्न थालेका थिए ।
बुबा तुलवीर राई र आमा जीमालक्ष्मी राईको कोखबाट कान्छो सन्तानको रुपमा राईको जन्म भएको थियो । संयुक्त परिवारमा जन्मिएका राईको बाल्यकाल सुखसयलमै बित्यो । तर उनले आमाको अनुहार कस्तो थियो भनेर राम्ररी ठम्याउन समेत सकेका थिएनन् । पछि फोटोमा हेरेर आमाको अनुहार त यस्तो पो रहेछ भनेर उनले थाहा पाएका थिए । आमाको माया कस्तो हुन्छ भन्ने उनलाई अभैm पनि थाहा छैन । उनको परिवारमा सात भाई दुई बहिनी, आमाबुबा सहित ११ सदस्यीय हो । उनले हिमालय उमाविबाटै निमावि र माध्यमिक विद्यालयको पढाई पूरा गरे । प्राथमिक स्तरदेखि माध्यमिक स्तरसम्म पढ्दा उनी कहिल्यै दोस्रो भएनन् । कक्षामा उनी सँधै पहिलो स्थान ओगट्न सफल भए । सोलुखुम्बु बहुमुखी क्याम्पसबाट प्लस टू र स्नातक तहको पढाई पूरा गरेका थिए । स्नाकोत्तर तहको पढाई त्रिभुवन विश्व विद्यालयबाट शिक्षा शास्त्रमा पूरा गरेका थिए । उच्च शिक्षामा उनले पहिलो श्रेणिमा पास गरेका थिए । अहिले उनी त्रिभुवन विश्व विद्यालयमा राजनितीशास्त्र अध्ययन गरिरहेका छन् ।

उनी सानै उमेरदेखि सामाजिक कार्यमा संलग्न भएका थिए । उनकै गाउँमा एउटा क्लब गठन गरी सानै उमेरदेखि सामाजिक सेवामा लागेका थिए । हिमालयन युवा क्लब नामक सामाजिक संस्थाबाट उनले सामाजिक क्षेत्रमा काम गर्न थालेका थिए । उनी त्यो क्लबको सचिव भएर सामाजिक काममा सक्रिय भएर लागेका थिए । उनको राजनैतिक पृष्ठभूमी पनि सानै उमेरदेखि शुरु भएको छ । हिमालय उमाविमा अनेरास्ववियूको प्रारम्भिक कमिटिको सचिव भएर विद्यार्थी राजनीतिमा सक्रिय भएर लागेका थिए । उनी प्रारम्भिक कमिटिमा वि.सं. २०५१ सालमै आबद्ध भएका थिए । पढाईसँग सँगै विद्यार्थी राजनीतिमा पनि उनको उत्तिकै महत्व दिएर सक्रिय भएर लागि रहे । उच्च शिक्षा हासिल गर्ने क्रममा सोलुखुम्बु बहुमुखि क्याम्पसको प्रारम्भिक कमिटिमा सदस्य समेत रहेर काम गरे । त्यही बेलादेखि उनी जिल्ला कमिटि सदस्यमा समेत सर्वसम्म निवार्चित भए । अनेरास्ववियूको तेस्रो जिल्ला सम्मेलनबाट जिल्ला कमिटि सदस्य हुँदै उनी राष्ट्रिय परिषद सदस्य भए । चितवनमा भएको सत्रौं राष्ट्रिय सम्मेलनमा समेत केन्द्रीय सदस्य पदको उमेद्वारी दिएका थिए । तर उनले सदस्यमा जित्न सकेनन् ।
उनले सामुदायिक संस्थामा पनि निक्कै लामो समयसम्म सक्रिय रुपमा काम गरे । शुरुमा किरात राई विद्यार्थी संघ सोलुखुम्बुको सस्थापक अध्यक्ष भएर सोलुखम्बु सामुदायिक कामको शुरुवात गरे । त्यसपछि केन्द्रीय सदस्य, सचिवालय सदस्य हुँदै शैक्षिक विभाग प्रमुखको जिम्मेवारीमा रहेर समेत उनले किरात राई समुदायको काम गरे । उनी किरात राई विद्यार्थी संघ केन्द्रीय समितिको सल्लाहकार सदस्यको रुपमा समेत काम गरेका थिए ।
उनले जिमी राई उत्थान समाज स्थानीय समिति सोलुखुम्बुको एक कार्यकाल अध्यक्ष भएर काम गरे । लामो समयसम्म अध्यापन पनि गरे । माउण्ट एभे्रष्ट बोर्डिङ स्कूलमा साँढे चार वर्षसम्म पढाए । त्यसपछि रेन्बो इन्टरनेस्नल कलेज काठमाडौंमा स्नाथक तहका विद्यार्थीहरुलाई पढाए । त्यसपछि सोलु फर्किएर जन जागृति उच्च माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा पढाउन थाले । त्यही समयमा एभ्रेष्ट मल्टीपल कलेजमा पनि पढाउन थाले । त्यहाँ पढाउँदा पढाउँदै उनले जागिर छोडेर राजनीतिमा लागे ।
‘राजनीति समाज रुपान्तरको आधार हो, समाजलाई अगाडि बढाउने एउटा माध्ययम हो, योजना बनाउने, राज्यलाई अगाडि बढाउने, समाजलाई अगाडि बढाउने कुरामा एक खाले मनस्थिति त्यता लाग्यो, त्यसैले राजनीतिमा हाम फाले’ राईले भने ‘पैसा पनि आवश्यकता हो, यद्यपी पैसा सँगसँगै सामाजिक काम पनि, बढि मनस्थिति त्यतातिर लागेको हुनाले सामाजिक काम गर्ने उद्देश्यले राजनीतिमा हात हालेको हो ।’
देश विकास गर्नको लागि सबैभन्दा पहिला दूरदृष्टि हुनुप¥यो, यूवाहरुलाई विभिन्न क्षेत्रमा अगाडि ल्याउने, कृषिमा इच्छा भएकोलाई कृषिमा, पर्यटनमा इच्छा भएकोलाई पर्यटनमा, आफ्नो इच्छा अनुसारको काममा लगाउन सक्नु प¥र्यो । यी कामको लागि हामी योजना बनाउदै छौं । ती रोजगारीका अवसरहरु, विचार दृष्टिकोणका कुराहरुलाई आधार बनाएर नै हामी अगाडि बढ्ने सोचमा छौं ।
दुधकोशी गाउँपालिकाको सिंगो भुगोल, नागरिक र आस्थाका धरोहर बनेका छन् बुद्धिकिरण राई । उनको क्षमता र क्रियाशिलताले दुधकोशी गाउँपालिकालाई अबको ५ वर्षमा कस्तो बनाउँछ त ? त्यो हेर्न केहि वर्ष प्रतिक्षा गरे पुग्छ । हुने विरुवाको चिल्लो पात भनेझै राईको नेतृत्वले दुधकोशी गाउँपालीकालाई कसरी अगाडी बढाउँछ ? के उनको महत्वकांक्षा योजनाले दुधकोशी गाउँपालिकालाई सात सय ४४ स्थानीय निकायभन्दा नमूना र फरक गाउँपालिकाको दर्जा दिन सक्ला ? शुभकामना छ सफल कार्यकालको ।








