१६ बैशाख २०८३, बुधबार | Thu Apr 30 2026

आर्थिक समृद्धिका लागि पर्यटन क्षेत्रको विकास आवश्यक’‘ आर्थिक समृद्धिका लागि पर्यटन क्षेत्रको विकास आवश्यक’


२० असार २०७४, मंगलबार  

0
Shares

काठमाडौँ, २० असार । मुलुकलाई आर्थिक समृद्धितिर लैजानका लागि पर्यटन क्षेत्रको विकास आवश्यक रहेकामा वक्ताले जोड दिएका छन् ।
जिपी कोइराला फाउन्डेसनले स्व गिरिजाप्रसाद कोइरालाको ९४औँ जन्मजयन्तीका अवसरमा यहाँ आज आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्राकृतिक र सांस्कृतिक रुपमा धनी रहेको नेपालमा पर्यटन व्यवसायले आर्थिक वृद्धि गर्नसकिने बताउनुभयो ।
देश विकासका लागि निरन्तर लागिरहने स्व गिरिजाप्रसाद कोइरालालाई सम्मान गर्न वर्तमान सरकारले संविधान कार्यान्वयन सँगै देशलाई आर्थिक समृद्धिमा लैजान लागेको मन्त्री कार्कीको भनाइ थियो । उहाँले भन्नुभयो, “गिरिजाबाबुको पालामा नेपालको आर्थिक वृद्धिदर ७.५ प्रतिशत पुगेको थियो त्यसलाई निरन्तरता दिन सकेको भए अहिले मुलुक सम्पन्नशाली हुने थियो ।”
मन्त्री कार्कीले नेपालमा पर्यटन व्यवसायका लागि भएको सम्भावनालाई पूर्ण उपयोग गर्न नसकेको भन्दै विद्यमान समस्या समाधान गर्दै पूर्वाधारको विकास गर्न सकेमात्र आशाअनुरुप पर्यटक नेपाल भित्र्याउन सकिने उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस नेत्री सुजाता कोइरालाले मुलुकमा रहेको अस्थिरताका कारणले पर्यटन प्रवद्र्धन गर्न नसकिएको बताउँदै संविधान कार्यान्वयन गरेमात्र मुलुकको आर्थिक विकास गर्न सकिने विचार व्यक्त गर्नुभयो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव शङ्करप्रसाद अधिकारीले सांस्कृतिक र प्राकृतिकरुपमा धनी रहेको देशले पर्यटनमा सोचेजस्तो फड्को मार्न नसकेको बताउनुभयो । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले दिगो विकासको मुख्य आधार भनेको पर्यटन व्यवसाय भएकाले यसको विकास र विस्तारका लागि निजी क्षेत्र र सरकार मिल्नुपर्ने बताउनुभयो ।  नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष आङछिरिङ शेर्पाले एक मुठी माटो नबेची आम्दानी गर्ने व्यवसाय पर्यटन भएकाले यसको विकास र विस्तारका लागि सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : २० असार २०७४, मंगलबार  १२ : २६ बजे