काठमाडौं, ३० भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज प्रदेश नं. २ जाने भएका छन् । प्रदेश २ मा असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि अन्तिम चुनावी सभा सम्बोधन गर्न ओली प्रदेश नं. २ का विभिन्न स्थानमा पुग्ने भएका हुन् । एमालेले प्रदेश २ मा समेत पहिलो पार्टी बन्ने अभियान स्वरुप सबै शीर्ष नेतालाई विभिन्न स्थानीय तहमा खटाएको हो ।
ओलीले शुक्रबार जितपुर, सिमरा उपमहानगरपालिका र बर्दिया नगरपालिमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले प्रचार विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिए । प्रदेश २ को निर्वाचनलाई सबै दलले प्रतिष्ठाको विषय बनाएका छन् । एमालेले पनि प्रचारप्रसारलाई तिब्रता दिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीबाहेक सबै नेता केही दिनअघिदेखि तराईंमै केन्द्रित भएर चुनावी प्रचारमा जुटेका छन् ।

थापाका अनुसार वरिष्ठ नेता माधव नेपाल गृहजिल्ला रौतहटका चुनावी कार्यक्रममा व्यस्त छन् । नेपाल बारा, पर्सा र महोत्तरीका चुनावी सभामा पुग्ने कार्यक्रम छ । नेता झलनाथ खनालले शुक्रबार बाराका विभिन्न स्थानीय तहमा पुगेर प्रचार प्रसारलाई तीर्वता दिँदै छन् ।
उपाध्यक्ष वामदेव गौतम र भीम रावल विभिन्न जिल्लाका चुनावी कार्यक्रममा सहभागी हुँदै छन् । महासचिव ईश्वर पोखरेल वीरगञ्ज महानगरपालिकामा बढी प्रभावित क्षेत्रमा केन्द्रित हुँदै बारा र पर्साका विभिन्न कार्यक्रममा सक्रिय भएर अहिले महोत्तरीका विभिन्न कार्यक्रममा सहभागी भइरहेका छन् । पोखरेल शुक्रबार सिरहा र सप्तरीका कार्यक्रमहरुमा केन्द्रित हुनेछन् ।
पार्टी सचिव प्रदीप ज्ञवाली केही दिनयता तराईमै छन् । बिहीबारदेखि भने सचिव ज्ञवाली सिरहामा केन्द्रित भएका छन् । अर्का सचिव भीम आचार्य सप्तरीमा केन्द्रित छन् । सचिव गोकर्ण विष्ट शुक्रबार सर्लाही पुग्दै छन् । सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराई सप्तरी, सिरहा, धनुषा र महोत्तरीका कार्यक्रमहरुमा सक्रिय रुपमा सहभागी भइरहेका छन् शुक्रबार भने सर्लाहीका नगरपालिकाकेन्द्रित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै छन् ।
३० भाद्र २०७४, शुक्रबार
0
Shares







