कलैया, ८ असोज । महागढीमाई नगरपालिकामा नेपाली काँग्रेसका प्रमुख तथा उपप्रमुख विजयी भएका छन् ।
प्रमुख निर्वाचन अधिकृत खडानन्द गौतमका अनुसार काँग्रेसका उपन यादव ५ हजार ७ सय ६५ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी संंघीय समाजवादी फोरम नेपालका शरदाशङ्कर जैसवालले ५ हजार २ सय ७५ मत ल्याएका छन् ।
उपप्रमुखमा काँग्रेसकी तारादेवी गुप्ता ५ हजार ३ सय ७५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी फोरम नेपालकी उमाराउतीदेवी बरैइले चार हजार ५२२ मत ल्याएका छन् ।
यसैगरी जीतपुर सिमरा उपमहानगरपालिका प्रमुखमा नेकपा (एमाले) का डा कृष्ण पौडेल र उपप्रमुखमा एमालेकै सरस्वती चौधरी निर्वाचित भएका हुन ।
डा पौडेलले १४ हजार ८ सय ६५ र चौधरीले १४ हजार ४ सय ५९ मत ल्याएका छन् । उनीहरुका निकटतम प्रतिद्वन्द्वी क्रमशः काँग्रेसका कृष्णव्रत सिंहले १२ हजार ४३ र नीरु रायमाझीले १२ हजार ४ सय ६५ मत ल्याएका छन् ।

जितपछि प्रतिक्रिया दिँदै प्रमुख डा पौडेलले सबै मतदाताको इच्छा र चाहनानुसार सहमति, सहकार्य र एकताका साथ राजनीतिबाट टाढा रही समृद्ध उपमहानगरका रुपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन् ।







