बुद्धवीर बाहिङ,सोलुखुम्बु । नेपालीहरुको महान चाड बडा दशैँ घरघरमा धुमधामका साथ भित्रिसकेको छ । लामो समय घर बाहिर रहेका नेपालीहरु घर फर्किएर दशैँ मनाउन व्यस्त छन् । इष्टमित्र, नातागोता र आफन्तहरुसँग रमाइलो जमघटको मुख्य अवसर पनि हुने गरेको छ दशैँ । वर्षभरिको सबैभन्दा ठूलो चाड भएकाले पनि दशैँलाई विशेष गरी मनाउने गरिन्छ । सोलुखुम्बुका स्थानीय तहका प्रमुखहरुको यसपालिको दशैँ आफन्तहरुसँग भेटघाट र पारिवारिक जमघटमा बित्ने बताएका छन् ।

सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङ्बुको दशैँ
सोलुखुम्बुको एक मात्र नगरपालिका सोलुदुधकुण्डका मेयर नाम्गेलजाङ्बु शेर्पाले आफन्तहरुसँग भेटघाट गरेर यसपालिको दशैँ मनाउदै छन् ।
काठमाडौंमा रहेका आफन्तहरुसँग भेटघाट गरेर शुभकामना आदानप्रदान गर्ने दशैँ मनाउने शेर्पाले बताए ।
पारिवारिक सदस्यलाई समेत प्रशस्त समय दिएर दशैँ मनाउने उनको योजना छ । यत्ति मात्र होइन मेयर शेर्पा राजनीतिक व्यक्ति भएकाले केन्द्रीय स्तरका नेताहरुसँग राजनीतिक भेटघाट गर्दै दशैँ विदाको सदुपयोग गर्ने बताए ।
‘यसपालिको दशैँले आम सोलुदुधकुण्ड नगरबासीमा सुख, शान्ति, समृद्धि एवं उत्तोरोत्तर प्रगति होस भन्ने शुभकामना व्यक्त गर्दछु’ मेयर शेर्पाको शुभकामना सन्देश छ ।
नेचासल्यान गाउँपालिका अध्यक्ष डुफकुमारको दशैँ
नेचासल्यान गाउँपालिका अध्यक्ष डुफकुमार वास्तोलाको यसपालिको दशैँ विशेष गरी पारिवारिक भेटघाटमै बिताउने मुख्य योजना छ ।
पार्टिको राजनीतिमा सक्रिय रुपमा लागेकाले वर्षैभरि परिवारका सदस्यलाई समय दिन नभ्याएकाले खुशी साटासाट गर्ने अवसर नै दशैँको समय भएकाले पारिवारिक भेटघाटलाई बढि महत्व दिने सोच बनाएको बताए ।
वर्षभरीको दुःख भुलेर हर्सोल्लासका साथ दशैँ मनाइने भएकाले गाउघरका आफन्तहरुकोमा पुगेर पनि यसपालिको दशैँ मनाउदै छन् अध्यक्ष वास्तोलाले । ‘यो दशैँले नेचासल्यान गाउँपालिकाका सम्पूर्ण न्यायप्रेमी जनसमुदायमा सरकारात्मक सोच र खुशी छाओस भन्ने शुभकामना दिन चाहन्छु’ अध्यक्ष वास्तोलाको सन्देश छ ।
दुधकोशी गाउँपालिकाको अध्यक्ष बुद्धिकिरणको दशैँ
दुधकोशी गाउँपालिकाको अध्यक्ष बुद्धिकिरण राईले पारिवारिक भेटघाटमै यसपालिको दशैँ मनाउँदै छन् । परापूर्व कालदेखि विशेष गरी हिन्दुहरुले मनाउँदै आएको बडा दशैँ अहिले राष्ट्रिय चाडको रुपमा धुमधामसँग मनाउन थालिएको छ ।
हिन्दुको मात्र होइन अन्य जातजातिको चाडपर्वलाई पनि उत्तिकै महत्वका साथ मनाइएको अध्यक्ष राईले बताए ।
चाडपर्वमा नै आफन्तहरुसँग रमाइलो भेटघाट हुने । शुभकामना साटासाट हुने भएकाले यसपालिको दशैँलाई हर्सोल्लासका साथ मनाउने अध्यक्ष राईले बताए । उनले चाडबाडको नाममा भड्किलो व्यवहार नदेखाउन सबैलाई आग्रह गरेका छन् । दशैँको नाममा मौलाउँदै गएको जाँडरक्सीको अत्यधिक सेवनले कतिपय गाउँमा झैझगडा हुने जस्ता कुसंस्कारको विकास भैरहेको छ । चाडबाडको नाममा त्यस्ता कुसंस्कार ल्याउन खोज्नेलाई सम्बन्धित क्षेत्रको प्रशासनले न्यूनिकरण गर्नु पर्ने अध्यक्ष राईको भनाई छ ।
‘नेपालीहरुको महान चाड दशैँले आम दुधकोशी गाउँपालिकाका न्यायप्रेमी जनसमुदाय, कर्मचारी साथीहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तोरोत्तर प्रगतिको हार्दिक शुभकामना दिन चाहन्छु ।’ अध्यक्ष राईको शुभकामना सन्देश छ ।
खुम्बुपासाङल्हामु गाउँपालिकाको अध्यक्ष निमदोर्जीको दशैँ
खुम्बुपासाङल्हामु गाउँपालिकाको अध्यक्ष निमदोर्जी शेर्पाको दशैँ पारिवारिक भेटघाट भन्दा नी अटम सिजनको पर्यटकहरुलाई व्यवस्थित र सुरक्षित भ्रमण गराउने मुख्य योजना रहेको छ ।
सगरमाथा क्षेत्रमा वर्षको अटम सिजनमा सबैभन्दा बढि विदेशी पर्यटकहरुको चाप हुने भएकाले उनीहरुको यात्रालाई व्यवस्थित र सुरक्षित बनाउनको लागि दशैँ विदामै भएपनि गाउँपालिकाका केहि कर्मचारीहरुलाई कार्यालयमै बस्न आग्रह गरेको बताए । दशैँको विदामा पनि गाउँपालिकामै बसेर पर्यटक आवगमनलाई थप व्यवस्थित बनाउने अध्यक्ष शेर्पाको योजना छ ।
शेर्पा समुदायले दशैँ नमनाए पनि एक आपसमा शुभकामना आदान प्रदान हुने गरेको छ । ‘खुम्बुपासङल्हामु गाउँपालिकाका सम्पूर्ण जनसमुदायमा दशैँले सुख, शान्ति र समृद्धि ल्याओस भन्ने शुभकामना दिन चाहन्छु’ अध्यक्ष शेर्पाको शुभकामना सन्देश छ ।

दुधकौशिका गाउँपालिकाको अध्यक्ष असिमको दशैँ
दुधकौशिका गाउँपालिकाको अध्यक्ष असिम राईको दशैँ साथीभाईहरुसँग भेटघाट, राजनीतिक बहस र छलफलमै बित्ने बताए छन् ।
थुलुङ समुदायले खासै दशैँ नमनाउने भए पनि एक आपसमा भेटघाट हुने र शुभकामना आदानप्र्रदान गरेर दशैँको विदा सदुपयोग गर्ने अध्यक्ष राईले बताए ।
आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधी सभाको निर्वाचनको तयारी छलफको लागि अध्यक्ष राई दशैँ विदामा काठमाडौं गएको बताए । काठमाडौंमै राजनीतिकर्मी र साथीभाईहरुसँग भेटेर राजनीतिक छलफल एवं बहस गर्दै यसपालिको दशैँ मनाउने उनको योजना छ ।
‘दशैँको अवसरमा दुधकौशिका गाउँपालिकाका आम जनसमुदाय सुख, शान्ति छाओस भन्ने शुभकामना दिन चाहन्छु’ अध्यक्ष राईको शुभकामना सन्देश छ ।
महाकुलुङ गाउँपालिका अध्यक्ष सागरको दशैँ
महाकुलुङ गाउँपालिमा अधिकांश क्षेत्रमा कुलुङहरुको बसोबास रहेकाले कुलुङ समुदायले खासै दशैँ मनाउँदैनन् । कुलुङहरुको महान चाड त चाक्चाकुर हो ।
चाक्चाकुर धुमधामसँग महाकुलुङका कुलुङहरुले मनाउँछन् ।
तर हिन्दुहरुको चाड दशैँ भएकाले कुलुङहरुले पनि एक आपसमा जातिय सदभाव कायम राख्नको लागि दशैँको शुभकामना आदानप्रदान गर्ने गरेका छन् । दशैँमा लामो विदा भएकाले शहरबाट गाउँमा कुलुङ समुदायका मानिसहरुको चहलपहल बढ्ने गरेकाले पनि दशैँको सदभाव कुलुङ समुदायमा भएको अध्यक्ष सागर किरातीले बताए ।
‘महाकुलुङ गाउँपालिकाभित्र बसोबास गर्ने सम्पूर्ण जनसमुदायमा दशैँले सुख, शान्ति र समृद्धि ल्याओस भन्ने शुभकामना दिन चाहन्छु’ अध्यक्ष किरातीको शुभकामना सन्देश छ ।
लिखुपिके गाउँपालिका अध्यक्ष डम्बरबहादुरको दशैँ
दशैँ गाउँमै धुमधामका साथ मनाउने अध्यक्ष डम्बरबहादुरको योजना छ ।
विभिन्न पेशा, व्यवसाय र अध्ययनमा शहर गएका आफन्त, गाउँलेहरु गाउँमै फर्किने गरेकाले उनीहरुसँग भेटघाट गरेर दशैँको विदा भरपूर सदुपयोग गर्ने अध्यक्ष बस्नेतले बताए ।
‘यसपालिको दशैँले लिखुपिके गाउँपालिकाका सम्पूर्ण जनताहरुको सुख, शान्ति र समृद्धि छाओस भन्ने शुभकामना दिन चाहन्छु’ अध्यक्ष बस्नेतको शुभकामना सन्देश छ ।
सोताङ गाउँपालिका अध्यक्ष वीरबहादुरको दशैँ
दशैँ मनाउन सोताङ गाउँपालिका अध्यक्ष वीरबहादुर राई काठमाडौं गएका छन् ।
दैशँमा विदा लामो भएकाले आफन्तहरुसँग भेटघाट र केन्द्रीय नेताहरुसँग राजनैतिक छलफल गर्न अध्यक्ष राई काठमाडौं गएका हुन् ।
‘दशैँको विदामा खासै ठूलो योजना त छैन, काठमाडौंमा रहेका साथीभाईहरुसँग भेटघाट गरी दशैँको शुभकामना आदानप्रदान गर्ने योजना छ’ अध्यक्ष राईले भने । काठमाडौं आएकै अवसरमा प्रदेश र प्रतिनिधी निर्वाचनमा गाउँपालिकाले गर्ने तयारी र जिम्मेवारीको बारेमा समेत नेतहरुसँग छलफल गर्ने अध्यक्ष राईले बताए ।
‘सोताङ गाउँपालिकाभित्र रहनु भएका सम्पूर्ण न्यायप्रेकी जनसमुदायहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तोरोत्तर प्रगतिको कामना गर्दछु’ अध्यक्ष राईको शुभकामना सन्देश छ ।







