राष्ट्रिय जागरणका लागि मेची–काली दौडमा सापकोटा

0 Shares

काठमाडौँ, २५ भदौ । “मेचीको काँकडभित्ताको पानी र माटो बोकेर राजमार्गमा दौड यात्रा गरेर महाकालीको दोधारा–चाँदनी पु¥याउनेछु, त्यहाँको पानी र माटोमा मिसाएर टीका लगाउनेछु ।”

प्रगतिशील साहित्यिक जागरणका लागि प्रथम हिमाल आरोही साहित्यकार लक्ष्मण सापकोटाको सो सन्देशमूलक र साहसी अभियान आगामी असोज १ गतेदेखि प्रारम्भ हुनेछ । दुई वर्षअघि छ हजार २०० मि अग्लो सोलुखुम्बुको इम्जात्से हिमालको सफल आरोहण गरेका सापकोटामा आफू मधुमेहबाट पीडित भए पनि पर्याप्त तयारी र अभ्यासबाट साहसी यात्रामा निरन्तर लाग्नबाट पछि नहट्ने अठोट छ । इम्जात्से हिमाल चढ्दा उनले नेपाल प्रज्ञा–प्रतिष्ठान, महानन्द सापकोटा वाङ्यमय प्रतिष्ठान र जनसाहित्यिक मञ्चको तुल लिएर गएका थिए ।

नेपाल प्रज्ञा–प्रतिष्ठानको परिसरबाट सुरु हुने साहित्यिक दौड बनेपा, पनौती, धुलिखेल (बिपी राजमार्ग) बाट तराई हुँदै महाकालीको गड्डाचौकीमा पुगेर असोज १८ गते समापन हुनेछ । उनी भन्छन्, “दौड मात्रै गर्ने हो भने मेरा लागि यो यात्रा केवल सात दिनको हुनेछ तर बीचबीचमा साहित्यिक र सांस्कृतिक जागरणका कार्यक्रम गरी राष्ट्रियता र समृद्धिका लागि प्रवद्र्धन पनि गर्ने मेरो लक्ष्य छ ।” सापकोटाको प्रतिदिन कम्तीमा ४० किमी दौडने कार्यक्रम छ । उनका सहयोगी समूहले दौडका क्रममा गाडीमा सवार भई पछ्याउनेछन् ।

सापकोटा काँकडभित्ताबाट इटहरी, कञ्चनपुर, लहान, ढल्केवर, चन्द्रनिगाहपुर, हेटौँडा, भरतपुर, बुटवल, चन्द्रौटा, लमही, कोहलपुर, भुरीगाउँ र झलारी हुँदै गड्डाचौकी पुग्ने योजनामा हुनुहुन्छ । सो यात्रामा उहाँले समुदायस्तरबाट पनि सहयोगको अपेक्षा गर्नुभएको छ । गत वर्ष बनेपा–सिन्धुलीको बिपी राजमार्ग दौड सुरु गरी १८० किमी पार गरिसके पनि मधेसको नाकाबन्दीका कारण उनको दौड यात्रामा विश्राम लागेको थियो ।

यात्रा सफलताको कामनासहित शुक्रबार प्रगतिशील लेखक सङ्घ (प्रलेस) को झन्डा र प्रतीकचिह्न ग्रहणपछि उनले भने, “मैले १५ वर्ष युएइमा विशेष कमान्डो फोर्समा रहँदा ५२ डिग्री सेल्सियसको गर्मीमा अत्याधुनिक हतियार बोकेर पनि तालिम गरेँ, त्यहाँ रहँदा मैले राष्ट्रिय जारगणका लागि अतिरिक्त काम गरेँ, अरबमा १५ वर्ष नामक पुस्तक पनि तयार गरेँ, मेची–काली दौडपछि सर्वाेच्च शिखर सगरमाथामा पुगेर त्यो पुस्तक विमोचन गर्ने र नयाँ विश्व कीर्तिमान गर्ने धोको छ ।” सगरमाथामा हालसम्म लेखक आफैले आफ्नो पुस्तक विमोचन गराएको कीर्तिमान छैन । चुचुरामा पुगेर अक्सिजनबिना आफ्नो एक राष्ट्रवादी कविता पाठ गर्ने, राष्ट्रिय गान गाउने, गौतम बुद्ध र पशुपतिको तस्बिर प्रदर्शन गर्ने, विश्व कम्युनिस्ट पार्टी स्थापनाको घोषणापत्र र प्रलेसको झन्डासमेत पु¥याउने अठोट सापकोटाको छ ।

झन्डा हस्तान्तरण गर्दै प्रलेसका अध्यक्ष मातृका पोखरेलले प्रगतिशील साहित्यको राष्ट्रियस्तरमा गतिविधि र समाजमा जागरण फैलाउन सापकोटाको यात्रा उल्लेखनीय हुने अपेक्षा व्यक्त गरे । सापकोटा प्रलेस, काभ्रेका उपाध्यक्ष र जनसाहित्यिक मञ्च नेपालका जिल्ला अध्यक्ष हुन् । एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घका इञ्चार्ज बलराम तिमल्सिना, राष्ट्रिय जनसांस्कृतिक महासङ्घका उपाध्यक्ष प्रा डा जीवेन्द्रदेव गिरी, अखिल नेपाल जनसांस्कृतिक महासङ्घका अध्यक्ष डा ईश्वरचन्द्र ज्ञवाली, एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासङ्घका महासचिव सरल सहयात्री र रक्तिम सांस्कृतिक परिवारका रामप्रकाश पुरीले सापकोटाको साहसिक यात्रालाई प्रगतिशील साहित्यिक क्षेत्रले जागरण विस्तारको अवसरका रुपमा लिनुपर्ने जनाउँदै शुभकामना दिए । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार