१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

किरातीहरुको जातीय स्वपहिचानको मुद्धाः राई बन्ने कि राउटे ?



आजभोलि राई भन्न/भनिन चाहनेहरुबीच मधुरो स्वरमा छलफल हुने गरेको सुनिन्छ ‘–राई बन्ने कि राउटे ?’ यो बहस संख्याको आधारमा राजनीति गर्ने खासगरी भोट बैंकको लागि राजनीति गर्नेहरुका लागि वास्तमै चाखलाग्दो विषय हुन सक्छ । त्यसमाथि कानुनी रुपमा नामको पछाडि ‘राई’ लेख्न नपाउँदा (२०२१ सालको भूमिसुधार ऐन आउनुअघि) सम्म वल्लो किरात, माझ किरात र पल्लो किरातको वल्लो भेग (अरुण पूर्वको धनकुटा, संखुवासभा लगायत क्षेत्रमा) त्यो बेलाका रैतीहरुलाई खासगरी किराती मुलका रैती (अहिले चलेको भाषामा भन्नु पर्दा सर्वसाधारण नागरिक) हरुलाई नामको पछाडि ‘राई’ लेख्न पाए आफू पनि जिम्मावाल÷तालुकवाला ‘राई’ जस्तै ठूलो मान्छे होइन्थ्यो ! भन्ने लालसाले गर्दा पनि भूमिसुधार ऐनसँगै आएको व्यक्ति/परिवारको नाममा जग्गा–जमीन दर्ता गर्ने, लालपूर्जा लिने/दिने क्रममा माभ, किरात लगायतका ढाक्रे/रैतीहरुले आफ्नो नामको पछाडि ‘राई’ लेख्न चाहे । तर, जिम्मावाल÷तालुकवाला ‘राई’हरुले ‘असलीयतमा त म पो ‘राई’ हुँ, सरकारलाई कर तिरेर ‘राई’ भएको छु, यिनीहरु कसरी ‘राई’ हुन् ? यिनीहरु त मेरो ढाक्रे हुन्, रैती हुन्, यिनीहरुलाई म मरी गए पनि ‘राई’ लेख्न दिन्न भनी अड्डी कसेका थिए । तर, ती जिम्मावाल/तालुकवाला ‘राई’, ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’हरुले भूमिसुधार ऐन आएसँगै आफूले पाएको हकअधिकार अथवा एक किसिमले भनौं भने आफ्नो हैकम पनि ‘राई’, ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’सँगै उन्मुलन भएको धेरैपछि मात्रै थाहा पाए । त्यतिमात्रै होइन, त्यसपछि स्थानीयस्तरमा शक्तिशाली रहेका जिम्मावाल/तालुकवाला ‘राई’, ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’हरुको हातबाट जग्गा–जमीन (किपट) खोस्नुका साथै उनीहरुले स्थानीयस्तरमै छिनोफानो गर्न पाउने गरी पाएको पञ्चखतबाहेकका नियाँ–निसाफ गर्ने अधिकारसमेत खोसियो ।
जे होस्, यसरी २०२१ सालमा भूमिसुधार ऐन आउनुअघि जिम्मावाल/तालुकवाला ‘राई’, ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’हरुको हातमा रहेको जग्गा–जमीनको हकअधिकार खोसिएपछि जग्गा–जमीन व्यक्ति/परिवारको नाममा दर्ता गर्ने, लालपूर्जा लिने/दिने क्रम सुरु भयो । यसरी जग्गा–जमीन व्यक्ति/परिवारको नाममा दर्ता गर्ने, लालपूर्जा लिने/दिने क्रममा धेरै ठाउँमा व्यक्ति/रैतीहरुको नामको पछाडि के लेख्ने ? अन्यौल र विवाद भयो । खासगरी यो लफडा किराती क्षेत्रमा बढी भएको थियो । किनभने, २०२१ सालमा आएको भूमिसुधार ऐनअघि स्वयम ‘राई’ पदवी/पगरी पाएका व्यक्तिहरुले पनि हालका प्रधानमन्त्रीहरुले जस्तै नामका अगाडि नै ‘राई’ भनी लेख्थे भने, ती ठूला भनिएका राईहरुले पनि रैतीहरुको जस्तै आफ्नो नामको पडाडि बल्ल ज्यमी/जिमी लेखेको पूरानो कागजपत्रहरुमा देखिन्छ/भेटिन्छ । यसबारेमा सन् २००७ मा भएको विश्व आदिवासी दिवसको अवसरमा काठमाण्डौको मल्ल होटलमा भएको छलफलको क्रममा यो पंक्तिकारले वास्तवमा ‘राई’ नेपालको कुनै जात वा जाति नभएर विगतमा (नेपालको भगौलिक एकीकरणपछि) शासकहरुले दिएको पदवीपगरी मात्रै हो । तर, हाल त्यही ‘राई’ पदवी÷पगरीलाई नै जाति मान्दा २८ भन्दा बढी किरातीहरुको पहिचान लोप भएर जान लागेको छ भनी प्mलोरबाट कुरो उठाएको थियो । त्यसपछि खाना खाने ब्रेकको समयमा डा. शिव राई (जो माओवादीको सरकारको पालामा राष्ट्रिय योजना आयोगको सदस्य पनि भए) ले यो पंक्तिकारको छेउमै आएर भनेका थिए –“भाइले सारै राम्रो प्रश्न उठाउनु भयो । म पनि भोजपुरको ठूलो राईको छोरा हुँ । म सानो छँदा हाम्रो घरमा विभिन्न झैझगडा छिन्न, घरायसी राजीनामा लेख्न, बन्धकी तमसुक लेख्न रैतीहरु आउँथे । म नै त्यस्ता घरायसी राजीनामाको कागज, बन्धकी तमसुक, झैझगडाको मिलापत्र (लेख्नुपर्ने भए नत्र झैझगडा आपस्तमा कागज नगरी नै मिलाउँथे) लेख्थेँ । त्यसबापत गच्छेअुसार आना, सुका, मोहर, कसैकसैले एक रुपैयाँ पनि दिन्थे । भूमिसुधार ऐन आएपछि ऐनसँगै आएको व्यक्ति/परिवारको नाममा जग्गा–जमीन दर्ता गर्ने, लालपूर्जा लिने/दिने क्रममा ढाक्रे/रैतीहरुले नामको पछाडि ‘राई’ लेख्न चाहे भने मेरो बाबुले कुनै हालतमा ढाक्रे/रैतीलाई ‘राई’ लेख्न नदिने भए ! केही सीप नलागेपछि पञ्च–भलादमीहरु भेला भएर पाँच, छ दिनसम्म छलफल गरे । अन्ततः केही सीप नलागेपछि मेरो ‘राई’ बाबु गले । रैतीहरुको ठूलो जीत भयो । अर्थात् अब रैतीहरु पनि ‘राई’ भए ।” यसरी भूमिसुधार ऐनआउनु अघिसम्म रैती भएकाहरु पनि भूमिसुधार ऐन आएसँगै ठूला ‘राई’ भए ! भनी बताएका थिए ।
त्यसैले राई भन्नाले सुरुदेखि नै नेपालको कुनै जात वा जाति जनाउँथेन भन्ने थाहा नभएका जातजातिहरुले राई भन्ने शब्दले जाति नै जनाउँछ भन्ने भ्रम रहनुमा कुनै आश्चार्य भएन । तर, विगतमा राई जे भएपनि अहिले राईले नै चिनियौँ, त्यसैले अब राई नै हुनुपर्छ, फुटेर किन राउटे हुने ! भन्नेहरुले भने आफैप्रति निर्मम हुँदै एकपटक इतिहासतिर फर्कनैपर्छ । किनभने पृथ्वीनारायण शाह र उनका सन्तानले नेपालको भगौलिक एकीकरण गरेपछि केन्द्रमा रहेका शाह/राणा शासकहरुले पूर्वमा रहेको एउटै किरात भूगोललाई फुटाएर तीनटुक्रामा विभाजन गरेर वल्लो किरात, माझ किरात र पल्लो किरात बनाए । वल्लो किरातका स्थानीयस्तरका प्रभावशाली किराती अर्थात् सुनुवार (कोईँच) लाई मुखिया’, माझ किरातका प्रभावशाली किरातीहरु जस्तै कुलुङ, साम्पाङ, बान्तावा, चाम्लिङ आदिलाई ‘राई’, पल्लो किरातका लिम्बु र लाप्चालाई ‘सुब्बा’, याक्खालाई ‘देवान’ र तराईका थारुलाई ‘चौधराई’ दिइयो । पछि यी पदवीहरु थकाली, क्षेत्री, बाहुन, मगर, गुरुङ, दनुवार, माझी, मधेसी, मुसलमान लगायतले पनि पाएको देखिन्छ । जस्तै हाल नेकपा एमालेमा केन्द्रीय सचिव रहेका पृथ्वी सुब्बा गुरुङ, २०६४ मा बाँके क्षेत्र नम्बर–२ बाट निर्वाचित भएका तत्कालीन संविधानसभा सदस्य मोहमद इस्तियाक राई, सोलुखुम्बुका छत्रध्वोज बस्नेत, शिवबहादुर बस्नेत, कृष्णबहादुर बस्नेत, ओखलढुंगाका टेकमानध्वोज कार्की, तेजप्रसाद कोइराला (हाल उनको निधन भैसकेको छ), संखुवासभाका दूर्गामणि देवान (उनलाई काठमाण्डौमै भेट्न सकिन्छ । जो राईको जेठो छोरो भएको नाताले २०४५ मा आप्mनो असली राई बाबुको निधनपछि २०५१/०५२ सम्म राई भएका थिए । यसरी हेर्दा राजाको जेठो छोरो नै राजा भए जस्तै राईको जेठो छोरो नै राई हुन्थे ।), भुटानका गर्जबहादर गुरुङ, बेलायतका बाली राई जिम्बाबेका प्रधानमन्त्री मोर्गान सुभाङ्गी राई, मंगोलियाका पूर्व प्रधानमन्त्री जस राई आदिलाई उदाहरणको रुपमा लिन सकिन्छ । मुख्य कुरो राईको इतिहास हेर्ने हो भने, नेपालको भगौलिक एकीकरण भन्दाअघि जान सकिँदैन । यो भनेको लगभग दुईसय ५० वर्ष मात्रै हो । भाषाशास्त्री/मानवशास्त्रीहरुका अनुसार एउटा जाति वा भाषाको उत्पत्ति हुन कम्तिमा पनि हजार/१२ सय वर्ष लाग्छ ।
त्यसैले ठूलो संख्या तर, मातृभाषा, ऐतिहासिक भूगोल, मौलिक धर्म, संस्कार, संस्कृति, भेषभुषा र पहिचानविहीन ‘राई बन्ने कि, सानो संख्या भएपनि पहचिानसहित राउटे वा कुसुन्डा बन्ने ?’ हालसम्म जानेर वा नजानेर राईकरणको मारमा परेका किरातीहरुबीच अझै पनि व्यापक रुपमा बहस र छलफल गर्न ढीला भएको छैन । किनभने २०६८ को राष्ट्रिय जनगणनाको नतिजाले पनि देखाईसकेको छ कि, कथित् राई अर्थात् ठूलो संख्यामै रहन चाहने राई सर/राईनी म्याडमहरुको हालत के हुँदैछ ? किनभने, २०५८ मा भएको राष्ट्रिय जनगणनामा ६ लाख ३५ हजार एकसय ५१ जना रहेको राईको जनसंख्या २०६८ मा एक प्रतिशत मात्रै बढेको मान्ने हो भने पनि पौने ७ लाख चानचुन हुनुपर्ने हो । तर, उल्टै १५ हजार एकसय ४७ जना घटेर ६ लाख २० हजार चारजनामा झरेको छ । किन झर्यो ? त्यस्तै भाषाको सवालमा पनि २०५८ को जनगणनामा ३ लाख ७१ हजार चानचुन राई भाषी रहेको मा २०६८ मा १ लाख ५९ हजार एकसय १४ जनामा किन झरेको हो ? हो, यो प्रश्नका लागि पनि ‘ठूलै हुने तर, राई नै हुने’ मानसिकता बनाएका र, राईको नाममा लाहुरेहरुबाट मनग्गे चन्दा असुल्ने र विदेशी डोनरहरुबाट सक्दो डलर ल्याएर खाने केही राईवाला सर/म्याडमहरुले बेला छँदै सोच्ने हो कि ? किनभने राईवाला सर÷म्याडमहरुले नचाहँदा नचाहँदै र अनेक तिकडम गर्दागर्दै पनि २०६८ को राष्ट्रिय जनगाणनामा १, कुलुङ–२८,६१३ । २, नाछिरिङ–७,१५४ । ३, याम्फु–६,९३३ । ४, चाम्लिङ–६,६६८ । ५, आठपहरिया–५९७७ । ६, बान्तावा–४,६०४ । ७, थुलुङ–३,५३५ । ८, मेवाहाङ–३,१०० । ९, बायुङ/बाहिङ–३,०९६ । १०, साम्पाङ–१,६८१ । ११, खालिङ–१,५७१ । १२, लोहोरुङ–१,१५३ जातिहरु अलग्गै जातिको रुपमा आएका छन् । त्यस्तै भाषाको हकमा २०६८ को जनगणनामा १, आठपहरिया–५,५३० । २, बेल्हारे–५९९ । ३, फाङ्दुवाली–२९० अलग्गै र नयाँ भाषाको रुपमा आएको छ । त्यसअघि २०५८ को जनगणनामै कुलुङ, बाहिङ, चाम्लिङ, साम्पाङ, तिलुङ, याम्फु, लोहोरुङ, मेवाहाङ, खालिङ, थुलुङ, नाछिरिङ लगायत भाषाहरु अलग्गै भाषाको रुपमा आसकेको छ । स्रोतः केन्द्रीय तथ्यांक विभाग
स्वपहिचानको कुरो गर्दा राउटेभन्दा पनि कम संख्यामा रहेको कुसुन्डा जातिबारे त कमैलाई थाहा होला ! किनभने, २०५५/०५६ सालतिर तनहुँ जिल्लामा एकजना राजा मामा अर्थात् कुसुन्डा कान्छा भन्ने मान्छे अर्थात् कुसुन्डा जाति भेटियो भनी हल्लाखल्ला भयो । उनको वंशवृद्वि गर्न सजातीय बेहुली नभेटिएपछि काभ्रे जिल्लाको इन्द्रमाया तामाङसँग विवाह गरियो । स्मरण रहोस्, सरकारले कुसुन्डा कान्छा अर्थात् ‘राजा मामा’को लागि तनहुँमा घरसमेत बनाइ दिएको छ । तर, उनले पनि ‘ठूलै हुन्छु, राई नै हुन्छु ।’ भनेको भए (हुन त धेरै जसो कुसुन्डाहरु हैजा लगायतका असाध्य रोग लागेर भन्दा पनि ठूला जात ठकुरी, क्षेत्री, आदि भएर सकिएको भन्ने भनाइ रहेको छ) सायदै सरकारले उनको विवाह गर्ने र घर बनाइदिने जिम्मा लिन्थ्यो होला ! त्यसैले फेरि पनि ‘राई हुने कि राउटे ?’ भन्ने विषयमा राई पदवी÷पगरी हो भन्ने जानीबुफी राई जातै हो, जसले राई होइन भन्दैछ, उसको नागरिकतामा मात्रै होइन, नागरिकताको तीनपुस्ते, स्कूल पढेको प्रमाणपत्र, पेन्सनपट्टामा समेत राई छ ! भन्ने र, कथित् राई जातिको वकालत गर्ने राई यायोक्खा नामक गैर सरकारी संस्था (समाज कल्याण परिषद दर्ता नम्बर–२६५६) का हर्ताकर्ता राई सर÷राईनी म्याडमहरुले मात्रै नभएर राई के हो ? भनेर बुभ्mन बाँकी रहेका वा नबुझेका कुलुङ, बाहिङ, चाम्लिङ, साम्पाङ, तिलुङ, याम्फु, लोहोरुङ, मेवाहाङ, खालिङ, थुलुङ, कोयु, बान्तावा, जेरो, पुमा, ओम्बुले/वाम्बुले, लगायत अगुवाहरुले एक पटक आत्मालाई साक्षी राखेर सोच/विचार गर्नोस् है !
आगे राई सर/राईनी म्यामडहरुको जो आज्ञा, जो हुकुम !!! kehinajannekulung@gmail.com

प्रकाशित मिति : १० कार्तिक २०७४, शुक्रबार  ४ : ०२ बजे