७ असार २०८३, आइतबार | Sun Jun 21 2026

ओखलढुंगामा वाम गठबन्धनको यस्तो प्रचार शैली ! सिद्धिचरणलाई फूलमाला बलबहादुरलाई अभिवादन (फोटो फिचार)



अाेखलढुंगा । गठबन्धनले नजिकिएका एमाले–माओवादी वाम गठबन्धन र काँग्रेस अहिले शत्रुवत् व्यवहारमा उत्रिनु नौलो विषय होइन । ओखलढुंगामा मनोनयनकै दिन संघीय प्रतिनिधि सभाका काँग्रेस उम्मेदवार रामहरि खतिवडाले वाम गठबन्धनका आफ्ना प्रतिस्पर्धी यज्ञराज सुनुवार र प्रदेश ख का उम्मेदवार मोहन खड्काको नामै लिएर ‘हलि र खेताला’को संज्ञा दिए ।
यसको जवाफमा गठबन्धनका नेताहरुले गठबन्धनका उम्मेदवारहरु जनताको हलि र खेताला नै भएको र आगामी दिनमा पनि खेताला भएरै काम गर्न तयार रहेको भन्दै ‘पाँच तारेमा सुरा सुन्दरीसँग’ नरमाउने जनताका खुःख सुखमा रमाउने बताए ।
ओखलढुंगामा लामो समय सत्रुवत् व्यवहारमा उत्रिएका एमाले र माओवादी केन्द्र तालमेलले एक ठाउँमा उभिएर चुनावी अभियान चलाइरहेका छन् । दुई दलबीचको लामो अन्तद्र्वन्द्व तालमेलले सौर्हादतामा ल्याइदियो । चुनावी प्रचारमा वाम गठबन्धन काँग्रेसभन्दा अघि प्रचार अभियानलाई लिएर गाउँ पसेको छ । काँग्रेसलाई लोकतान्त्रिक संस्कार सिकाउन भन्दै गठबन्धनका उम्मेदवारहरुले अभियानको शुरुवात् देखी नै फरक अपनाएका छन् ।
सिद्धचरणलाई फुलमाला बलबहादुरलाई अभिवादन !
उम्मेदवारी दर्ताका दिन र्यालीको शुरुवात् नै वाम गठबन्धनका संघीय प्रतिनिधी सभाका उम्मेदवार एमाले केन्द्रिय सदस्य यज्ञराज सुनुवारले युगकवि सिद्धिचरण श्रेष्ठको शालिकमा फुल चढाएर गरे । क्रान्ति चेत र जनताको आवाज बोलेका युगकविको सम्मान गरेर अभियान थालेको प्रदेश ख का उम्मेदवार मोहन खड्काले बताए ।
शनिवार संयुक्त वाम गठबन्धनले प्रचार अभियानको थालनी फरक शैलीमा गरेको छ । शविबार विहान ११ बजे ओखलढुंगाको गोरुमारेभञ्ज्याङमा रहेको बलबहादुर राईको शालिक परिसरमा भिडभाड देखियो । यत्तिकैमा संयी प्रतिनिधि सभाका उम्मेद्वार यज्ञराज सुनुवार, र प्रदेशसभाको निर्वाचन क्षेत्र ‘क’ का उम्मेद्वार अम्बिरबाबु गुरुङले काँग्रेसका त्यागि नेता तथा पूर्व मन्त्री बलबहादुर राईको शालिकमा खाता ओढाएर अभिवादन गरेर यही बाट वाम गठबन्धनको चुनावी अभियान शुरु भएको घोषणा गरे । ‘हामी असल राजनीतिको संस्कार देखाउन चाहन्छौं’ सुनुवारले भने– ‘पार्टी अर्कै किन नहोस् स्वच्छ छवि र इमान्दार नेताको योगदानको कदर गर्दै हामीले यहीँबाट प्रचार औपचारिक थालनी गरेका हौं ।’
अभियानका क्रममा सिद्धिचरण नगरपालिककाको निशंखेमा रहेको एमालेका स्वर्गीय नेता छविलाल कार्कीको सालिकमा माओवादी नेताहरुले माल्यार्पण गरे । सँगै रहेको माओवादी सहिदहरुका नाममा निर्मित पार्कमा एमाले नेताहरुले फूल चढाए । माओवादी कार्यकर्ताले हत्या गरेको छवि कार्कीका सालिकमा माओवादी नेता बाबुराम गौतम लगायतले फूल चढाए । माओवादीले बनाएको सहिदपार्कमा एमाले नेताले फूल चढाएर आपसी सद्भाव र एकता देखाए भने आफ्नै कार्यकर्ताले शान्तिकाल शुरुभएपछि ०६७ सालमा हत्या गरिएका एमाले नेता स्व. कार्कीलाई माओवादी नेताहरुले शहिद भनेर सम्बोधन गरे ।
वाम गठबन्धनले प्रचार अभियानलाई आक्रामक तर शिष्ट रुपमा अघि बढाउने जनाएको छ । यी गतिविधीबारे एमाले नेता हर्कबोल राईले गालीगलौज, आरोप प्रत्यारोप गर्न उत्रिएको संस्कार विहीन काँग्रेसका उम्मेदवारलाई असल काम गर्नेका सम्मान गर्न जान्नु पर्छ भनेर सन्देश दिन खोजेको बताए ।
प्रचारः काँग्रेस पश्चिमबाट गठबन्धन पूर्वबाट


नेपाली काँग्रेसले भने आइतबारबाट प्रचार अभियानको शुरु गर्दैछ । गाम्नाङटार र रगनी दुई ठाउँबाट अभियान शुरु हुने काँग्रेस नेता तेजेन्द्र खनालले बताए । असन्तुव.ष्ट नेता कार्यकर्ता र वागी व्यवस्थापनमा चुनौति भोगेको काँग्रेसमा कोइराला पक्षका नेताहरु हराउने अभियानमा लागेकाले चुनौति थपिएको छ । वामगठबन्धनका तर्फबाट संघीय प्रतिनिधी सभामा सुनुवार तथा प्रदेश क मा एमाले नेता अम्बिरबाबु गुरुङ तथा क्षेत्र ख मा माओवादी नेता मोहन खड्का चुनावी मैदानमा छन् । त्यस्तै कांग्रेसबाट संघीय प्रतिनिधी सभामा रामहरि खतिवडा, प्रदेश क मामित्रसेन दाहाल र क्षेत्र ख मा जिल्ला सभापतिप्रदिप सुनुवार प्रतिस्पर्धामा उत्रिएका छन् । आगामी मंसिर ७ गते भित्र अभियान सम्पन्न गर्ने वाम चुनावी प्रचार तथा व्यवस्थापन समितिका संयोजक मोहनकुमार श्रेष्ठले बताए ।

प्रकाशित मिति : १२ कार्तिक २०७४, आइतबार  ८ : ३६ बजे