६ फाल्गुन २०८२, बुधबार | Thu Feb 19 2026

राष्ट्रपति ट्रम्प मनिला पुगे, सोमबार एसियाली सम्मेलन शुरु



मनिला । एसियाका पाँच देशको १२ दिने भ्रमणको अन्तिम पाइलाका रुपमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार फिलिपिन्स पुगेका छन् ।
उनी सोमबार बिहान मनिला पुग्दा फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेले स्वागत गरेका थिए । राष्ट्रपति डुटेर्ते फिलिपिन्समा लागूऔषधको अवैध ओसारपसार सम्बन्धी कानूनमा विवादमा परेका छन् ।
उनले यस्ता काममा संलग्नलाई प्रहरीले सिधै गोली हान्नेसम्मको अधिकारी प्रहरीलाई दिने कानून ल्याएपछि अधिकारवादीहरुले यसलाई अधिनायकवादी कानून भनी विरोध गरिरहेका छन् ।

फाईल तस्वीर 

राष्ट्रपति ट्रम्प र एसियाका १८ देशका नेताहरु मनिलामा दुई दिनसम्म सञ्चालन हुने एसियाली सम्मेलनमा सहभागी हुनु हुनेछ । सो सम्मेलनमा सहभागिताका लागि अन्य देशका नेताहरु पनि त्यहाँ पुगेका छन् ।
कतिपय अधिकारवादीहरुले राष्ट्रपति ट्रम्पले डुटेर्तेको सो कडा कानूनको विरोध गरिदिउन् भन्ने चाहन्छन् । उनीहरुले राष्ट्रपति ट्रम्पले अधिकारवादीका पक्षमा केही बोलिदिउन् भन्ने चाहना पनि राखेका छन् ।
यसैबीच प्राप्त अर्काे एक समाचार अनुसार राजधानी मनिलामा कडा सुरक्षाकाबीच पनि राष्ट्रपति ट्रम्पका विरुद्धमा प्रदर्शन भएको छ । प्रदर्शनकारीहरुले राष्ट्रपति ट्रम्पका विरुद्धमा नाराबाजी गरेका थिए ।
दर्जनौँ प्रदर्शनकारीलाई फिलिपिन्स प्रहरीले पक्राउ गरेको छ । सो प्रदर्शनले आजै मनिला आइपुग्ने कतिपय देशका नेताहरुलाई पनि प्रभाव परेको बताइएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७४, सोमबार  ३ : १८ बजे