काठमाडौं । तारा एयरलायन्सको जहाजबाट खुम्बु क्षेत्रमा संकलित नकुहिने ११ हजार किलोग्राम फोहोर काठमाडौं ल्याएको छ । खुम्बु क्षेत्रको वातावरणीय गुणस्तर, सन्तुलनका लागि तारा एयरले सगरमाथा प्रदुषण नियन्त्रण समिति (एसपीसीसी) र हिमालयन क्लबको सहकार्यमा ११ हजार किलोग्राम नकुहिने फोहर काठमाडौं ल्याएको हो ।
जहाजको ९ वटा उडानमा नकुहिने फोहोर तेञ्जिङ हिलारी विमानस्थल लुक्लाबाट काठमाडौं ल्याइएको हो । एयरलाइन्सद्वारा प्रोयोजित यो सेवाको लागत १० लाखभन्दा बढी रहेको एयरलाइन्सका कर्मचारीले बताएका छन् । उडान मार्फत ल्याइएको फोहर उचित व्यवस्थापन र पुनः प्रयोगको लागि मुन्सिपालिटी कर्पोरेशनलाई हस्तान्तरण गरि सकिएको छ ।

कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम अनुसार तारा एयरले सक्रियरुपमा सोलुखुम्बु क्षेत्रको फोहर व्यवस्थापन योजनालाई समर्थन र निरन्तर सहयोग गर्दै आएको छ । सन् २०१६ मा पनि यस्तै फोहर व्यवस्थापन कार्यक्रम मार्फत सोलुखुम्बु क्षेत्रबाटै एयरलाइन्सले १२ हजार किलोग्राम फोहर व्यवस्थापन गरेको थियो ।

यस कार्यक्रमले यूवा, स्थानीय उद्यमी तथा पर्यटकमा समेत जनचेतना अभिबृद्धि गरेको छ । यसको साथै उच्च हिमाली भेगका वातावरणीय तथा पर्यावरणीय सन्तुलनलाई कायम राख्न समेत थप टेवा पुगेको कम्पनीको भनाई छ । नयाँ नेपालको विकासका लागि भविष्यमा अन्य नीजि क्षेत्रले पनि आफ्ना सहयोगी हात र साथ प्रदान गर्नेमा आफुहरु विश्वस्त रहेको कम्पनीका कर्मचारीले बताए ।

तारा एयरलाइन्स र एयरलाइन्सको भगिनी संस्था यती एयरलाइन्सले सन् १९९८ देखि नेपालका विकट क्षेत्रहरुमा आफ्नो सेवा निरन्तर रुपमा प्रदान गर्दै आइरहेको छ । वर्षैभरी विकट क्षेत्रमा तालिका अनुसारका उडान सेवा उपलब्ध गराउने नेपालकै एक मात्र विमान सेवा हो ।

२ मंसिर २०७४, शनिबार
91
Shares







