२१ भाद्र २०८३, आइतबार | Sun Sep 6 2026

सूचना तथा सञ्चारमन्त्रीद्वारा पुरस्कार वितरण


२५ पुस २०७४, मंगलबार  

14
Shares

विराटनगर, सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले आज विराटनगरमा पाँचजना सञ्चारकर्मीलाई एक समारोहमा सम्मान गर्नुभयो।

नेपाल प्रेस युनियन मोरङद्वारा आयोजित पत्रकारिता पुरस्कार तथा सम्मान समर्पण कार्यक्रममा शैलजा आचार्य स्मृति पत्रकारिता पुरस्कारबाट न्यू सृष्टि दैनिकका सम्पादक शंकर खरेल, उद्घोष दैनिकका पत्रकार विक्रम निरौला र उर्लाबारीका पत्रकार रुपेन्द्र शेर्मालाई सम्मान गरिएको थियो । सो अवसरमा पुरस्कृत पत्रकारलाई सम्मानपत्रका साथै जनही रु १५ हजार प्रदान गरिएको थियो ।

त्यस्तै, सोही अवसरमा मन्त्री बस्नेतले ‘रमाप्रसाद–मायादेवी रिजाल पत्रकारिता पुरस्कार’बाट मकालु टेलिभिजनका पत्रकार अभयकुमार राई र पत्रकार भारती उपाध्यायलाई सम्मान गर्नुभयो । पुरस्कृत हुनेलाई सम्मानपत्रसहित जनही रु १५ हजार प्रदान गरिएको थियो ।

Sagarmatha

सो अवसरमा सूचना तथा सञ्चारमन्त्री बस्नेतले शैलजा आचार्य प्रष्ट वक्ता, स्वच्छ छविका साथै प्रजातन्त्रप्रति समर्पित हुनुहुन्थ्यो भन्नुभयो । शैलजा आचार्यजस्ता व्यक्तित्वको नेपाली काँग्रेसमा अभाव भएको प्रसंग उल्लेख गर्दै उहाँले नेतासमक्ष पार्टीका कमीकमजोरीबारे बोल्न नसक्ने र कूटनीतिक रुपले काम गर्न नसक्ने भएका कारण नेपाली काँग्रेस धरापमा परेको बताउनुभयो ।

उहाँले सरकारले चाँडै नै प्रदेश प्रमुखको नियुक्ति गर्ने र अस्थायी प्रादेशिक राजधानी तोक्ने विषयमा दलहरुबीच सहमति गर्न प्रधानमन्त्रीले सहमति गरी निर्णय गर्न खोजेको स्पष्ट पार्नुभयो । मन्त्री बस्नेतले विराटनगरबाट गोरखापत्र दैनिकको दोस्रो संस्करण वैशाखभित्रै प्रकाशन गर्ने तयारी भइरहेको र यस विषयमा आजै विराटनगरमा गोरखापत्र संस्थानको सञ्चालक समितिको बैठक बस्न लागेको जानकारी दिए ।

लोकतान्त्रिक पद्धतिलाई संस्थागत गर्न नेपाली काँग्रेसले महत्वपूर्ण भूमिका निर्वाह गरेको जानकारी गराउँदै उहाँले काँग्रेसले अभिभावकत्वको भूमिका निर्वाह गरेको र आगामी दिनमा पनि त्यस्तै भूमिका निर्वाह गर्ने बताए।

सोही अवसरमा रु १५ हजार राशिबाट पुरस्कृत हुनुभएका न्यू सृष्टि दैनिकका सम्पादक शंकर खरेलले विपन्न अवस्थामा रहनुभएका नेत्रहीन निकेश थापामगर, कृष्ण कोइराला ‘चारघरे’ र रमेश भट्टराई ‘पाखे’ लाई रु पाँच–पाँच हजारका दरले रकम प्रदान गरे।

प्रकाशित मिति : २५ पुस २०७४, मंगलबार  ११ : ४२ बजे