२६ फाल्गुन २०८२, मंगलबार | Wed Mar 11 2026

पुनर्जन्म पाएर बाँचिरहेको छु : थगेन्द्र बाहिङ राई



हरेक मानिससँग सम्पत्ती भएपछि उसको इच्छा र आकांक्ष सुविधा सम्पन्न शहरबजारतिर घरजम गरेर बस्ने हुन्छ । मानिसलाई चाहिने आधारभूत आवश्यकता समेत नभएको विकट गाउँमा जो कसैलाई पनि बस्ने इच्छा हुँदैन । हामीले पनि त्यस्तै देख्दै र भोग्दै आएका छौं । तर कोहि मानिसहरु यस्ता हुन्छन्, उनीहरुलाई सुविधा सम्पन्न शहरबजारको रौनकले केहि प्रभाव पार्दैन । उनीहरुलाई त्यही अभाव, समस्या र विकट क्षेत्रको उकाली ओरालीमा जीवन बिताउन मन पर्छ । विकट क्षेत्रको विभिन्न समस्याहरुसँग पौठेजोरी खेल्दै सामाजिक सेवामा समर्पित हुन मन लाग्छ ।
यस्तै विकट क्षेत्रलाई आफ्नो जीवनको अन्तसम्म कर्मथलो बनाउने इच्छा राखेका छन्, ओखलढुंगा होटल व्यवसायी संघका अध्यक्ष थगेन्द्र बाहिङ राईले । राई भारतीय पूर्व गोर्खा सैनिक हुन् । सेनाबाट अवकाश लिएपछि उनी गाउँमा फर्किएर सामाजिक सेवाको साथमा होटल व्यवसायमा व्यस्त बनेका छन् । उनै उर्जाशील राईसँग चाम्फुरी मासिकका सम्पादक बुद्धवीर बाहिङले गरेको कुराकानीको सम्पादिक अंश उनकै शब्दमा ।
मेरो जन्म वि. सं. २०३३ साल साउन १२ गते ओखलढुंगाको बर्णालुको रयाले राई टोलमा भएको हो । मेरो बाबुको नाम हैकमसिं राई र आमाको भिमलक्ष्मी राई हो । परिवारमा म साइलो छोरको रुपमा जन्मिएको थिए ।
मेरो प्रारम्भिक शिक्षा सिंहदेवी आधारभूत विद्यालय चुप्लुबाट शुरु भएको हो । त्यो विद्यालयमा कक्षा ५ सम्म पढे । माध्यमिक शिक्षाको लागि सदरमुकाम आउनु पथ्र्यो । मेरो गाउँबाट सदरमुकाम आइपुग्नु १ घण्टा मात्र लाग्थ्यो । मैले सगरमाथा जनता माध्यमिक विद्यालयबाट कक्षा ६ देखि एसएलसीसम्म पढे । वि. सं. २०४८ सालमा द्धितीय श्रेणीमा एसएलसी उत्तिर्ण गरे । मेरो परिवारको आर्थिक स्थिति कमजोर भएकाले मैले उच्च शिक्षा हासिल गर्न सकिन ।
वि.सं. २०५२ सालमा भारतीय गोर्खा सेनामा भर्ना भए । म भारतीय सेनाको कुनै प्रान्तीय सेनाको रुपमा नभई केन्द्रीय सरकारको नेतृत्वमा रहेको भारतीय सेनामा काम गर्ने अवसर पाए । मैले केन्द्रीय सरकारको डिफेन्सीप फोर्सको रुपमा काम गरे । मैले भारतमा रहँदा धेरै प्रान्तमा घुम्ने अवसर पाए । भारतको कथित युद्धभूमी जम्बुकास्मीर भनेर चिनिने पाकिस्तानको बोर्डर त्यहाँ पनि मैले साँढे ९ वर्ष काम गरे । जम्बुकास्मीरमा रहेर भारतीय गोर्खा सैनिक भएर काम गर्दा आफैलाई गर्व लाग्थ्यो । तर गोर्खा सैनिकको अगाडि भारतीय सेना भन्दा मन खिन्न हुन्थ्यो ।
म भारतीय गोर्खा सेनामा कार्यरत रहँदा एघार गोर्खा रेजिमेण्टमा पाँचौं बटालियनमा थिए । मेरो सैनिक क्रम संख्या चाँही ९४२२४७३ हो । म भारतीय गोर्खा सेनामा रहँदा बहादुरीका साथ काम गरे । जुनसुकै पेशामा पनि अनुशासन र इमान्दारीताका साथ काम गरियो भने जस्तो सुकै कठिन परिस्थितिमा पनि सफल हुन सकिदो रहेछ भन्ने पाठ सिके ।
म भारतीय सेनामा हुँदा विशिष्ट पदमा त पुग्न सकिन । तर कर्पोरल रेङ्गसम्म पुगे । भारतीय सेनामा रहँदा १९ हजार फिटको उचाईमा ग्लेसियरमा काम गरेकाले मलाई भारतीय सरकारले बहादुरकी तक्मा दिएको छ । जम्बुकास्मीरमा लामो सयमसम्म रहेर काम गर्नेलाई दिने पदक पनि पाए । हिमाली क्षेत्र र पहाडी क्षेत्रमा काम गरे बापत साहासिक पदक पनि पाए । मैले अर्को विदेश सेवा पदक पनि पाएको छु । शान्ति मिसन जाँदा लेबनानमा यो पदक पाएको थिए । बेलायतबाट भारत स्वतन्त्र भएको ५० औं वर्ष पूरा गरिसक्दा हामीले एउटा परेड देखाएका थियौं । त्यही परेड देखाए बापत पनि पदक पाएको छु । भारतीय सेनामा प्रवेशगरेपछि ९ वर्ष सफलता पूर्वक पूरा गरेपछि पनि पदक पाइन्छ त्यो पदक पनि पाएको छु ।

शहरबजारमा हामी जस्तो मानिसको केहि खाँचो हुँदैन । तर जहाँ अभावै अभावमा, अशिक्षाको अन्धकारमा, विभिन्न स्रोत साधनको अभावमा जो वर्षौंदेखि पिछडिएर बसेको गाउँहरु छन्, त्यहाँ चाँही हामीले बाहिर सिकेका सीपहरु, ज्ञानहरु अनि बाहिरबाट कमाएर ल्याएका दुई चार पैसाहरु बचत गरेर आफ्नै गाउँठाउँमा सदुपयोग गर्न पाइयो भने हाम्रो पछाडी १० जनाले काम पाउँछन् । यसमा मलाई ज्यादै आनन्द आउँछ । तर यही तरिकाले हामी शहरबजारमा गएर जीन्दकीभर हाडछाला घोटेर कमाएको पैसा शहरमै लगानी गर्ने हो भने त्यो एउटा व्यक्तिमुखि, परिवारमुखि मात्रै हो, समाजमुखी भएन, त्यसले गर्दा मैले यो आफ्नै गाउँठाउँलाई नै रोजेको हो ।
त्यत्तिमात्र होइन जहाँ म जन्मे, हुर्के । मेरो बाल्यकाल यही बित्यो । जब किशोर अवस्थामा रमाईलो गर्ने बेलामा म विदेशी सेनाको रुपमा देश छोडेर गए । त्यो बेलाको पीडाहरु मनमा अझै ताजै बनेर रहिरहेको छ । त्यही भएर पनि मैले आफ्नै जन्मभूमी क्षेत्रलाई रोजेको हो ।
मैले होटल व्यवसाय नै रोज्नुको कारण के हो भने होटल मात्रै यस्तो एउटा पवित्र सेवा प्रदायक सेवा हो । जुन पेशामा ग्राहकले कुनैबेला पनि जस्तोसुकै परिकार खान पाउँछ । तर यही होटललाई समाजले हेर्ने दृष्टिकोण तल्लो स्तरको छ । त्यत्तिमात्र होइन राज्यले गर्ने व्यवहार पनि विभेदकारी छ ।
वि. सं. २०७२ साल फागुन ५ गते मध्यान्न १२ बजे दिउँसो त्यो मेरो लागि जीन्दकीको ठूलो टर्निङ प्वाइन्ट हो । जुन दिन म मृत्यु शैयामा पुगेर पनि बाँचेर आए । अहिले म तपाईसँग कुराकानी गरिरहेको छु । यसलाई म दोस्रो जीवन पाएको अनुभुती भएको छ । त्यो फागुन ५ गतेको कालो दिनलाई सम्झने बित्तिकै मेरो आँखा रसाएर आउँछ । यो मेरै घरको चौथो तलाबाट ९० डिग्रीको एङ्गलमा सिधै कंक्रिटमा पछारिएको थिए । जुनबेला मलाई देख्नेहरु, मेरो घटनाको खबर सुन्नेहरु जो कसैलाई पनि विश्वास नै थिएन की यो थगेन्द्र भन्ने मान्छे बाँचेर आउँछ, फर्किएर आउँछ ? अब यसको जीन्दकी गयो । अब यो निको हुन सक्दैन भनेर भन्ने शुभचिन्तकहरु धेरै थिए । तर मेरो उपचार सफल भयो । म पहिलाको जस्तै हिड्न सक्ने, बोल्न सक्ने भए । यो मेरो लागि पुनर्जन्म हो ।
साभार : चाम्फुरी मासिक 

प्रकाशित मिति : ७ माघ २०७४, आइतबार  २ : ११ बजे