३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026

गाउँसभाको निर्णय अनुसारनै गाउँपालिकाको नाम र केन्द्र : अध्यक्ष राई



सोलुखुम्बु । माप्य दुधकोशी गाउँपालिको नाम र केन्द्र गाउँसभाको निर्णय अनुसारनै गरिएको अध्यक्ष बुद्धिकिरण राईले बताएका छन् । केहि अनलाईनले झुठो र भ्रामक समाचार प्रकाशित गरेपछि अध्यक्ष राईले शनिबार सल्लेरीमा पत्रकार सम्मेलन गरी प्रायोजित समाचारप्रति विश्वास नगर्न सबैलाई आग्रह गरेका हुन् ।

“गाउँ सभाका ३९ मध्ये ३६ सदस्य उपस्थित भई (तीन सदस्य अनुपस्थित) माप्य दुधकोशी राख्ने निर्णय गरिएको हो” राईले भने । उनले गाउँपालिकाको केन्द्र पनि गाउँ सभाको निर्णय बमोजिम नै कायम रहेको बताए ।
अध्यक्ष राईले विकास, शान्ति र समृद्धिका लागि हातेमालो गरेर अघि बढ्न समेत आग्रह गरेका छन् । पत्रकार सम्मलेमा धारणा राख्दै राईले माप्य दुधकोशी गाउँपालिकालाई नमूना गाउँपालिकाको रुपमा अघि बढाउन आफूहरु प्रतिबद्धताका साथ अघि बढेको भन्दै अनावश्यक विवाद झिकेर विकास कार्यमा अलमल नल्याउन आग्रह गरे । पत्रकार सम्मेलनमा अध्यक्ष राईले व्यक्तिगत प्रयोजनका लागि पत्रकारिता प्रयोग नगर्न समेत सुझाब दिए ।

पत्रकार सम्मलेनमा वडा नम्बर ५ का अध्यक्ष निमराज तामाङले गाउँपालिकाको आधिकारिक श्रोतसँग सम्पर्क नगरी गलत समाचार प्रकाशनमा आएको भन्दै दुख व्यक्त गरे ।
गाउँपालिकाको केन्द्रका विषयमा हालको अस्थायी कार्यालदेखि बासा स्वास्थ्य चौकी नजिकै माझ गाउँ खोला, सोमबारे खास्ताप बासाभित्र ५० रोपनी जग्गा उपलब्ध हुने स्थानमा राख्ने निर्णय गाउँसभाले गरेको अध्यक्ष राईको भनाई छ । यस बारे संक्षेपमा खास्ताप, बासा लेखि पठाए बमोजिम संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले निर्णय गरेको बताइएको छ ।
पुस १३ देखि भएको गाउँसभावाट निर्णय गरी सोही निर्णय बमोजिम गाउँपालिकाको नाम र केन्द्रका विषयमा यहि फागुण १४ गते राजपत्रमा समेत सूचना प्रकाशित भएको थियो ।

प्रकाशित मिति : १९ फाल्गुन २०७४, शनिबार  १ : २५ बजे