२९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026

प्रधानमन्त्री ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसहित उच्च अधिकारीलाई काठमाडौं बोलाए



काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीले सातै प्रदेशका मुख्यमन्त्रीसहित उच्च अधिकारीहरुलाई काठमाडौं बोलाएका छन् । प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरु काम गर्ने मेसो नपाएर अन्यौलग्रस्त भइरहेका बेला प्रधानमन्त्री ओलीले सातै प्रदेशका मुख्यमन्त्री, प्रमुख र सचिवहरुलाई बोलाएका हुन् ।

प्रधानमन्त्रीले उनीहरुसँ बुधवार सामुहिक रुपमा छलफल गरी प्रदेश सञ्चालनका लागि आवश्यक सहजीकरण गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अधिकारीले जनाएका छन् ।
प्रदेश सरकारका मन्त्रीहरु समेत काम नभएको भन्दै काठमाडौंतिरै भौतारिरहेका छन् । मुख्यमन्त्री र मन्त्रीहरुले गाडीमा झण्डासमेत हाल्न पाएका छैनन् भने कतिपय प्रदेशका मन्त्रीलाई दिने गाडीसमेत छैनन् । प्रधानमन्त्री ओलीले सोमवारमात्रै मन्त्रीलाई दिने गाडी नभएकाले प्रदेशमा मन्त्रिपरिषद सानो बनाइएको बताएका थिए ।
प्रदेश सरकारले बनाउनुपर्ने कानुनहरुको बारेमासमेत अन्यौल उत्पन्न भइरहेका बेला बुधवारको बैठकमा प्रदेशका मुख्य न्यायाधिवक्ताहरुलाई पनि सहभागी गराउन लागिएको प्रधानमन्त्री कार्यालयका एक अधिकारीले बताए । प्रधानमन्त्रीले प्रदेश सरकार सञ्चालनमा उत्पन्न भएका समस्या, पूर्वाधार विकासहरुको अवस्था लगायतका विषयमा जानकारी लिनेछन् ।
पहिलो पटक संघीय अभ्यासमा मुलुक गएकाले प्रदेश सरकारका मन्त्रीहरु आफैं सञ्चालन हुन समय लाग्ने कानुन मन्त्री शेरबहादुर तामाङले बताए । तत्कालका लागि केन्द्रबाटै प्रदेशहरुलाई नमूना कानुन बनाएर पठाउनेदेखि, प्रदेशसभाबाट कानुन बनाउन सहजीकरण गरिने उनले बताए । प्रदेश सरकारहरु बलियो बनाउन केन्द्रबाटै पहल लिन प्रधानमन्त्रीले मुख्यमन्त्रीहरुलाई बोलाएका हुन् ।

प्रकाशित मिति : ६ चैत्र २०७४, मंगलबार  ५ : ४५ बजे