५०,००० को सकसः दशैँ मान्ने कि घर बनाउने ?

-शिवप्रसाद ढुङ्गाना

भुकम्पले घर पूर्ण क्षति भएर पहिलो किस्ता ५० हजार अनुदान लिएका सिद्धिचरण नपाका एक युवाले अनुदान लिएकै भोलिपल्ट श्रीमतीलाई १० हजार दिएर बाँकी ४० हजार लिएर घुम्न जाने भनेर हिंडे । श्रीमतिले प्रहरीलाई खबर गरेपछि प्रहरीले मानेभञ्ज्याङबाट फर्कायो ।

 च्यानम गाविसका अर्का भुकम्प पीडितले ५० हजार अनुदान लिएकै रात मादक पर्दाथ र तासमा सकेपछि खाना खान बसेकै घरबाट १० हजार सापटी लिएर घर गए ।

 अनुदान वितरण शुरु भएपछि सदरमुकाम ओखलढुंगाका सुनचाँदी पसलमा भीड देखियो । धेरैले अरु १० हजार थपेर एक तोला सुन जोडे ।

०७२ सालको भुकम्पले घरबार विहीन भएका परिवारका अभिभावकले गैर जिम्मेवार भुमिका खेलेर अनुदान खर्च गरेका यी त प्रतिनिधी घटना मात्रै हुन् । यस्ता काममा अनुदानको रकम खर्च गर्ने थुप्रै लाभग्राही छन्, जसले भत्किएको घर बनाएर परिवार राख्छन् भन्ने विश्वाश गर्न सकिने आधार छैन ।
पीडित भएर पनि आम्दानीका स्रोत हुनेलाई ५० हजार अनुदानको महत्व कमै होला । तर, दिनभरी श्रम गरेर छान टार्ने हाम्रो समाजमा ठूलै जमात छ, जसमा हामी आफै पर्छौं । यस्तो आर्थिक अवस्थका हामीले चाडबाडको मुखमा पाएको अनुदान के गर्न सक्छौं ? प्रश्न खडा हुन्छ । कतिले गैर जिम्मेवार भएर दुरुपयोग गरे, त्यो फरक पाटो हो । यद्यपी इमान्दार भएर घर बनाउने योजनासहित अनुदान बुझेका हजारौं भुकम्प पीडितका अगाडी ५० हजारभन्दा ठूलो दैनिकी चलाउने पहाड उभिएको छ । मुखैमा दशैं आएको छ । यो चाड ८५ प्रतिशतले कुनै न कुनै अवस्थाबाट मान्ने गर्दछन् ।
छिमेकमा खसी काट्ने, राम्रा लुगा लगाएको देख्ने बाल मनोविज्ञानले आफ्नो अभिभावकले पनि देलान् भन्ने आशा नहुने भन्ने हुदै होइन । यस्तो अवस्थामा अनुदान रकम आम गरिब परिवारले जोगाएर घरको जग हाल्न सक्छ ? यो विल्कुल सम्भव छैन । यो अनुदान त ५० प्रतिशतका लागि दशै खर्च र सामान्य तिरोभरो मै सिमित हुनेमा दुइ मत छैन । घर भत्किएर टहरोमा बस्नु परेका समयमा चाड पर्व मनाउनु पर्ने सांस्कृतिक दायित्व आवश्यकतासँग जोडिएको छ । यस्तो संकटपूर्ण अवस्थामा दैनिक चलाउन अनुदान खर्च गर्नु पर्ने बाध्यता भएपछि दशैंको मुखमा वितरण गरिएको अनुदान दशैं खर्चमै सिमित नरहला भन्न सकिन्न । यो पंक्तिकार पनि यस्तै समस्यामा रुमलिएकै छ ।
गाँस पहिलो आवश्यकता हो बास भन्दा पहिले । त्यसैले घर बनाउनै पर्ने बाध्यतामा रहेका विपन्न भूकम्प पीडितहरु चाहेर पनि अनुदान सदुपयोग गर्न सक्ने अवस्थामा छैनन् । उता आफ्नो घर आफै निर्माण गर्न सक्षम भुकम्प पीडित र विपन्न भएर पनि अपवादका फुर्मासी गर्नेहरुले पनि अनुदान माथिका उदाहरण अनुसारकै (सदुपयोग ?) गर्छन् ।
यसले सरकारले आम नागरिकलाई सुरक्षित आवाशमा राख्न दाताको सहयोगमा अनुदान र ऋण दिने अभियान सफल हुनेमा थुप्रै आशंका छन् । पहिलो किस्ता लिएकामध्ये घरको जग हालेर दोस्रो किस्ता लिन पहिलो किस्ता लिएकामध्ये ४० प्रतिशत मात्र आउन सक्ने अवस्था देखिएका अनुदान वितरणमा संलग्न अधिकारीहरु नै बताउँछन् ।
कतिपय लडेका र भत्केका घर क्षतिको विवरणमा परेका छैनन्, तर नेता र कर्मचारीको पहुँचमा रहेका र सदरमुकाम आसपासमा सामान्य क्षतिका घर पनि पूर्ण क्षति भइ अनुदान लिएका छन् । तथ्यांक संकलनमा पनि गरिव र विपन्न पहुँच नभएकै व्यक्ति छुटेका छन्, भने अनुदान पाएका विपन्नले घर बनाइ हाल्ने अवस्था छैन । यस्तो अवस्थामा भुकम्प प्रतिरोधी घरमा आफ्ना नागरिकलाई सुरक्षित राख्ने अभियानले कसरी पूर्णता पाउला ?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार