३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026

पत्रकार डोमा शेर्पा सगरमाथा आरोहणमा आधारशिविरतर्फ प्रस्थान



काठमाडौं । पहिलो महिला शेर्पा पत्रकारको रुपमा सगरमाथा आरोहणका लागि पत्रकार डोमा शेर्पा मंगलबार (आज) आधारशिविरतर्फ प्रस्थान गरेका छन् । महिला शेर्पा पत्रकारमध्ये उनी पहिलो सगरमाथा आरोहीको रुपमा तेञ्जिङ हिलारी विमानस्थल लुक्ला हुँदै आधारशिविरतर्फ प्रस्थान गरेका हुन् ।

पत्रकार शेर्पा आज लुक्लामै बास बस्ने कार्यक्रम छ । लुक्लापछि फाक्दिङहुँदै सगरमाथाको प्रवेशद्धार नाम्चेबजारमा बास बस्न पुग्ने कार्यक्रम छ । नाम्चेबजारमा एक दिन हाईअल्टिच्युडको लागि रेष्ट गर्ने कार्यक्रम छ । एकदिनको बसाईपछि पाङबोचेहुँदै दिङबोचेमा गएर फेरी एक दिनसम्म रेष्ट गर्ने कार्यक्रम रहेको आरोही शेर्पाले बताए ।
एक दिनको रेष्टपछि दिङबोचेबाट गोरक्सेपमा बास बस्न पुग्ने उनको योजना छ । गोरक्सेपपछि सगरमाथाको आधारशिविर पुग्ने कार्यक्रम तय भएको आरोही शेर्पाले बताए ।

शेर्पाले मे महिनाको पहिलो हप्ता सगरमाथाको शिखर चुम्ने योजना बनाएका छन् । उनको एक जना सिपालु सहयोगी भएको बताए । उनको सहयोगीले तीन पटक सफल रुपमा सगरमाथाको आरोहण गरिसकेका छन् । उनी पायोनियर एडभेञ्चर प्रा.लि.बाट सगरमाथा आरोहण गर्दैछन् ।
लामो समयसम्म सगरमाथा आरोहण गर्नकै लागि समय खर्चिएका शेर्पाले यसअघि सोलुखुम्बुमै रहेको आइसल्याण्ड पिक सफल रुपमा आरोहण गरिसकेका छन् । तेञ्जिङनोर्गे शेर्पा र सर एडमण्ड हिलारीले पनि धेरै वर्षको प्रयासपछि आइसल्याण्ड पिक आरोहण गरेपछि मात्रै सगरमाथाको सफल आरोहण गरेको आरोहीहरु बताउँछन् ।

प्रकाशित मिति : २७ चैत्र २०७४, मंगलबार  ३ : १९ बजे