२ जेष्ठ २०८३, शनिबार | Sun May 17 2026

साहित्य यात्रा सगरमाथा सँगसँगैः सगरमाथा हेर्दै रचना वाचन



ओखलढुंगा । नयाँ वर्षको पूर्व सन्ध्यामा नयाँ वर्ष मनाउनेहरुका विभिन्न कार्यक्रमका सूची तयारी भैसके । घुमफिर, भेटघाट, वनभोज, सांस्कृतिक कार्यक्रमको आयोजनाजस्ता कार्यक्रममा नेपालीहरु व्यस्त हुन्छन् । ओखलढुंगेली लेखक तथा सर्जकहरुले भने ०७५ सालको नयाँ वर्षमा दुई खाले साहित्यिक स्वाद चखाउने भएका छन् । प्रगतिशिल लेखक संघले समुद्र सहतबाट ३ हजार मिटर उचाइमा रहेको पत्तालेस्थित गौरीटापमा खुल्ला कविता तथा गजल प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगितामा राष्ट्रिय स्तरका कवि तथा गजलकारहरुले स्रोता तथा पाठकहरुलाई नयाँ वर्षमा नयाँ सृजनाको स्वाद चखाउने भएका हुन् ।
कार्यक्रम स्थलबाट महालंगुर हिमश्रृंखला सहज रुपमा देख्न सकिने भएकाले कार्यक्रमको नाम नै साहित्य यात्रा सगरमाथा सँगसँगै भन्ने अभियान शुरु गरिएको सर्जक तथा कार्यक्रमका प्रमुख व्यवस्थापक सिताराम गुरुङले जानकारी दिनुभयो ।
साहित्य यात्राले सर्जकहरुको भेला, अन्र्तक्रिया र विचार विर्मशले नेपाली साहित्यको लेख प्रबृत्तिको समिक्षा हुने प्रगतिशिल लेखक संघ, ओखलढुंगाका अध्यक्ष युवराज दाहालले बताउनुभयो । सगरमाथा हेरेर साहित्यका विभिन्न विधाको रसस्वादन गर्न पत्तालेको यात्राबाट र पर्यटकीय स्थलको प्रचार हुने आयोजकको अपेक्षा रहेको छ ।
कार्यक्रमको व्यवस्थापनमा पर्यटन विकास समिति, रुम्जाटार बचत तथा ऋण सहकारी संस्था, चांगेस्थान युवा विकास क्लब र त विद्यालय रहेका छन् । सोलुखुम्बु र ओखलढुंगाको सीमानामा रहेको पर्यटकीय स्थलमा हुने साहित्यिक कार्यक्रममा दुइ जिल्लाका जनप्रतिनिधीहरु समेत सहभागी हुने कार्यक्रम रहेको छ । जनप्रतिनिधीहरुलाई सहभागी गराएर साहित्यको विकासमा स्थानीय सरकारमाझ योगदान पुर्याउन आह्वान गरिने प्रगतिशिल लेखक संघले जनाएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७४, शुक्रबार  १ : २९ बजे