ओखलढुंगा । बुद्ध जयन्तीका अवसरमा सुनकोशी गाउँपालिका वडा नं. ५ मुलखर्कमा गाउँपालिका स्तरीय खुल्ला भलिवल प्रतियोगिता, साँस्कृतिक कार्यक्रम विशिष्ट व्यक्तिहरुलाई सम्मान गर्ने कार्यक्रम तय भएको छ । गाउँपालिका, वडा कार्यालय र मुलखर्क युवा क्लबको आयोजनामा पाँच दिन सम्म प्रतियोगिता सञ्चालन हुने छ । 
प्रतियोगितासँगै सांस्कृतिक कार्यक्रम समापनको दिन बैशाख १७ गते विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरुलाई सम्मान तथा पुरस्कृत गर्ने कार्यक्रम रहेको छ । बैशाख १३ गते प्रथम ऐतिहासिक मुलखर्क कप २०७५ उद्घाटन हुने छ ।
उक्त अन्तर गाउँपालिका स्तरीय खुल्ला पुरुष भलिवल प्रतियोगिताको तयारी भइरहेको सुनकोशी गाउँपालिका ५ का वडा अध्यक्ष गोविन्द तामाङले जानकारी दिए । उनका अनुसार जिल्ला भलिवल संघको स्विकृत लिएर आयोजना गर्न लागिएको यो प्रतियोगिता अहिले सम्मकै सबै भन्दा ठुलो पुरस्कार राशीको प्रतियोगिता हो ।
कालीका आधारभुत विद्यालयको प्राङ्गनमा हुने प्रतियोगितामा प्रथम हुनेले ५५ हजार ५ सय ५५ रुपैंया नगदसहित साथमा शिल्ड मेडल र प्रमाणपत्र, द्वितिय हुनेले ३३ हजार ३ सय ३३ नगद सहित साथमा शिल्ड मेडल र प्रमाणपत्र, तृतिय हुनेले २२ हजार २ सय २२ नगद सहित साथमा शिल्ड मेडल र प्रमाणपत्र पाउने छन् ।
प्रत्येक विद्यामा उत्कृष्ट खेलाडीलाई नगद १ हजार १ सय ११ सहित प्रमाण पत्र र मेडलको व्यबस्था गरिएको आयोजकले जनाएको छ । सुनकोशी गाउँपालिका र ५ नम्बर वडा कार्यालयको आयोजनामा प्रतियोगिता हुने जनाईएको छ ।
खेलको बीच बीचमा राष्ट्रिय कलाकारहरुको सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिने छ । सहभागीताका लागि सबै जिल्लाबासीलाई आयोजकले आमन्त्रण गरेको छ ।
समापनको अवसरमा फरक फरक विधामा उत्कृष्ट व्यक्तित्वहरुलाई नगरसहित सम्मान र क्लबले जिल्लामा क्रियाशिल तीन जना पत्रकारहरुलाई बार्षिक पत्रकारिता पुरस्कार दिइने बताइएको छ ।
३० चैत्र २०७४, शुक्रबार
140
Shares







