ट्रम्प र क्लिन्टनबीच कडा प्रतिस्पर्धा:मत सर्वेक्षण

0 Shares

वासिङटन (अमेरिका), ३० भदौ । अमेरिकी राष्ट्रपतिको निर्वाचनको प्रतिस्पर्धामा रहनुभएका रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीका नेता हिलारी क्लिन्टनबीच पहिलो बहस सुरु हुनुभन्दा दुई हप्ता अघि कडा प्रतिस्पर्धा रहने बुधबार सार्वजनिक गरिएको एक राष्ट्रिय सर्वेक्षणले देखाएको छ ।

अमेरिकी सञ्चारमाध्यम सीबीएस न्युज तथा न्युयोर्क टाइम्स (एनवाईटी) को राष्ट्रिय मत सर्वेक्षणले हिलारी क्लिन्टनको पक्षमा ४६ प्रतिशत मत आउने देखाएको छ भने उहाँका प्रतिस्पर्धी रिपब्लिकन नेता ट्रम्पलाई ४४ प्रतिशत प्राप्त भएको छ ।

तर मतदानका लागि नाम दर्ता भएका मतदाताहरुबीच भएको सर्वेक्षणले डेमोक्रेटिक पार्टीतर्फका उम्मेदवार क्लिन्टनको ४६ प्रतिशत र ट्रम्पको ४१ प्रतिशत देखाएको छ ।

यसैबीच, एक दिन पहिले क्विनीपियाक युनिभर्सिटीले डेमोक्रेटिकको तेस्रो उम्मेदवारबाट समर्थन प्राप्त गरिसकेको अवस्थामा क्लिन्टनलाई ४१ प्रतिशत मत प्राप्त हुने देखिएको जनाएको छ ।

उक्त सर्वेक्षणले रिपब्लिकन नेता ट्रम्पलाई ३९ प्रतिशत मतदाताको समर्थन प्राप्त हुने देखाएको छ ।

सीबीएन अर्थात् एनवाईटीको सर्वेक्षणले टेमोक्रेटिक पार्टीका समर्थकबीच एक महिना पहिलेको तुलनामा मतदानका लागि उत्साह घटेको तर रिपब्लिकनका प्रशंसकमा भने उत्साहमा वृद्धि देखिएको दाबी गरेको छ ।

अगस्टको सर्वेक्षणले ७७ प्रतिशत मतदाताले आफू क्लिन्टनलाई मतदान गर्ने उत्साहित रहेको जनाएकोमा यस महिना यसमा कमी आएर ६४ प्रतिशतमा झरेको देखिएको जनाएको छ ।

तर रिपब्लिकनमा भने अघिल्लो महिना ४३ प्रतिशत मतदाता उत्साहित देखिएकोमा यसमा वृद्धि भएर यस महिना ६८ प्रतिशत पुगेको बताइएको छ ।

दुई उम्मेदवारलाई समर्थन गर्ने पुरुष मतदातामा ट्रम्पले दुई अङ्कको फरकले नेतृत्व लिएको देखिन्छ भने क्लिन्टनलाई पनि महिला मतदाताको दुई अङ्कको फरकको नेतृत्व (लिड) हुने सर्वेक्षणले देखाएको छ ।

सवेक्षणले ट्रम्पलाई अफ्रिकी मूलका अमेरिकी मतदाताको मन जित्नमा कठिनाई देखिएको र क्लिन्टनलाई श्वेतहरुको समुदायमा प्रसिद्धि कमाउन गाह्रो परेको देखिएको छ ।

त्यसैगरी श्वेत समुदायका कम शिक्षित मतदाताहरुको आकर्षण अर्थात् ५८ प्रतिशत समर्थन ट्रम्पमा देखिएको छ तर क्लिन्टनको भने श्वेत समुदायका शिक्षित मतदाता माझ प्रभाव राम्रो देखिएको छ । रासस/एएफपी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार