२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

चिसंखुगढी गाउँपालिकाद्वारा शिक्षा ऐन जारी

कार्यन्वयन गर्न शिक्षा शाखामा कर्मचारी नै छैनन्


२७ बैशाख २०७५, बिहिबार  

21
Shares

ओखलढुंगा । ओखलढुंगाको चिसंखुगढी गाउँपालिकाले ०७५ बैशाख २६ गते शिक्षा ऐन जारी गरेको छ । गाउँसभाले चिसंखुगढी शिक्षा ऐन–२०७५ पारित गरेपछि ऐन कार्यन्वयनमा आएको हो ।
ओखलढुंगामा शिक्षा ऐन जारी गर्ने आठ स्थानीय तहमध्ये चिसंखुगढी पहिलो स्थानीय तह हो । अन्य गाउँपालिका तथा नगरपालिकाले ऐन जारी गरेका छैनन् । संविधानको मर्म प्रतिकुल नहुने गरि ऐन जारी गरिएको गाउँपालिकाका अध्यक्ष निशान्त शर्माले जानकारी दिए ।
ऐनले आधारभूत तहसम्म अंग्रेजी माध्यम अनिवार्य गरेको छ । ऐनमा शिक्षकहरुको आन्तरिक पदस्थापन, दरबन्दी मिलान लगायतका विषयलाई प्रथामिकतामा राखेको गाउँपालिकाका कार्यकारी अधिकृत सुवास पौडेलले बताए । उनका अनुसार नियमावली विधायन समितिमा छलफल चलिरहेको छ । शुल्क सम्बन्धी व्यवस्था नियमावलीमा व्यवस्थित गरिने भएको छ । चालु शैक्षिक सत्रमा कक्षा १ सम्म अंग्रेजी माध्यममा संचालन गर्ने विषयमा समिति बनाएर अध्ययन भइरहेको गाउँपालिकाले जनाएको छ । यो गाउँपालिकामा हाल कक्षा ३ सम्म संचालन भएका समेत गरी ४६ वटा सामुदायिक विद्यालय रहेका छन् । केही विद्यालय अभावका कारण मर्ज हुने क्रममा रहेका छन् ।

कार्यन्वयन गर्न शिक्षा शाखामा कर्मचारी नै छैनन्

यसैबीच जारी गरेको ऐन प्रभावकारी कार्यन्वयन र शैक्षिक सुधारका काम गर्न शिक्षा शाखामा कर्मचारी नै छैनन् । कर्मचारी नभएपछि रचनात्मक शैक्षिक सुधारका काम गर्न नसकिएको गाउँपालिकाका अध्यक्ष शर्माले बताए । जिल्लास्थित कर्मचारी समायोजन समितिले व्यवस्थापन गर्न नसक्दा गाउँपालिकामा शिक्षा शाखामा कर्मचारी नै नभएका हुन् । सरोकारवाला पक्षले यसबारे ध्यान नदिएर समस्या आएको शर्माको भनाइ छ । कर्मचारी अभावमा विद्यालयको अनुगमन र पठनपाठनमा सुधार ल्याउने काम हुन सकेका छैन  । शिक्षा शाखामा शाखा प्रमुख र अन्य कुनै कर्मचारी नभएपछि अहिले शिक्षकलाई तलब खुवाउनेबाहेक अन्य प्रशासनिक काम भने भएका छैनन् । कर्मचारी व्यवस्थापन गर्न गाउँपालिकाले समायोजन समितिलाई माग गरेको छ ।

Sagarmatha

प्रकाशित मिति : २७ बैशाख २०७५, बिहिबार  १ : २७ बजे