अनुदान निकासा भए पनि बैंकबाट वितरणमा ढिलाइ

0 Shares

ओखलढुंगा, ३१ भदौ । ओखलढुंगामा रकम निकासा भए पनि भुकम्प पीडितहरुलाई अनुदान वितरणको काम सुस्त रहेको छ । भदौ १५ गते १७ हजार ३ लाभग्राहीको नाममा अनुदान रकम निकासा भए पनि बैंकबाट भने वितरण हुन सकिरहेको छैन ।
अनुदान वितरणका लागि स्वीकृति लिएका बैंकहरुले अनुदान वितरणको कामलाई प्रथामिकता नदिदाँ वितरणको काम सुस्त भएको हो । जिल्लाका सबै बैंकहरुले अनुदान वितरणको काम थालेको १५ दिन विते पनि एक हजार पाँच सयभन्दा बढी लाभग्राहीले अनुदान भुक्तानी नपाएको बैंकले वितरण गरेको तथ्यांकले देखाएको छ । बैंकहरुले विदाको दिन र हप्ताको एक दिन मात्र अनुदान वितरणको काम गरेपछि लाभग्राहीलाई अनुदान वितरण गर्दा काम सुस्त देखिएको हो ।
अनुदान वितरण वाणिज्य बैंकले ८ सय, टुरिजम विकास बैंकले ४ सय ५०, सिभिज विकास बैंकले १ सय ८१ लाभग्राहीलाई अनुदान भुक्तानी दिइ सकेको छ ।
कुमारी विकास बैंकले अनुदान वितरण गरे पनि यकिन तथ्यांक नभएको जनाएको छ । भिबोर विकास बैंक र सगरमाथा फाइनान्सले पनि अनुदान वितरण गरे पनि वितरण कार्य सुस्त छ । खाता संचालन लगायतका झन्झटिलो काम भएको र बैंकको नियमित काम समेत गर्नु पर्ने भएकाले भुकम्प पीडितलाई अनुदान वितरणमा ढिलाइ भएको बैंकहरुले जनाएका छन् । बैंकहरुले अनुदान वितरणको कामलाई प्रथामिकतामा नराखेकाले वितरण सुस्त भएको भुकम्प पीडितहरुले गुनासो गरेका छन् ।
यस अघि पनि बैंकहरुले खाता संचालन गर्न गाउँ जाने सहमति गरे पनि कार्यन्वयन गरेका थिएनन् । अनुदान वितरण शुरु गरे पनि हप्ताको एक दिन मात्र गर्न थालेकाले अनुदान रकम लिन प्रतिक्षमा बसेका भुकम्प पीडितहरु आक्रोसित भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार