६ असार २०८३, शनिबार | Sun Jun 21 2026

पर्यटकको आकर्षणस्थल कमलपोखरी संरक्षणको पर्खाइमा



पोखरा, १ असोज । पोखरा उपमहानगरपालिका– १३ कुँडहरस्थित विश्व रामसार सूचीमा सूचीकृत कमलपोखरी ताल स्वदेशी एवम् विदेशी पर्यटकको आकर्षणस्थल बन्दै गएको छ ।

पोखराको मुख्य बजार क्षेत्रबाट अत्यन्त छोटो दुरीमा रहेको कमलपोखरीमा नागको बासस्थान रहेको प्राचीन जनविश्वास समेतले दृश्यावलोकनका साथै धार्मिक पर्यटक पनि आकर्षित बन्ने गरेका छन् ।

पछिल्ला वर्षमा ताल अवलोकनका लागि दैनिक रुपमा ठूलो सङ्ख्यामा पर्यटक आउने गरेको स्थानीयवासी बबिता विश्वकर्माले बताउनुभयो ।

“तालका साथै तालमा पाइने विभिन्न जातका माछाका र टाढा टाढाबाट आउने चराचुरुङ्गीले पर्यटकलाई लोभ्याउने गरेका छन्,”– उहाँले भन्नुभयो ।

कमलपोखरी ताल पर्यटकको आकर्षण बन्दै गएपछि यसको संरक्षणमा स्थानीय दलित समुदाय एकदशक अघिदेखि जुटेको भए पनि राज्यको तर्फबाट संरक्षणमा जत्ति चासो हुनुपर्ने थियो त्यो हुन नसकेको उहाँको भनाइ छ ।

Sagarmatha

कमलपोखरी परिसरमा प्रत्येक वर्षको नागपञ्चमीमा विशेष मेला लाग्ने गरेको उहाँले बताउनुभयो ।

तालमा झार झाँगिदै गएपनि त्यसतर्फ कसैको पनि ध्यान नपुग्दा कतै ताल नै पुरिने त होइन भन्ने आशङ्का बढेर गएको छ । कमलपोखरीको संरक्षण र विकासका लागि स्थानीय दलित समुदाय केही मात्रामा सक्रिय बने पनि तालमा बढिरहेको झारप्रति कसैको चासो पुग्न सकेको छैन ।

कमलपोखरी तालको क्षेत्रफल सुरुमा ३८ रोपनी भए पनि पछिल्ला वर्षमा अतिक्रमणको सिकार बनिरहेको स्थानीयवासीको गुनासो छ ।

भगवान विष्णुको प्रतिकका रूपमा मानिने कमल फूलफूल्ने भएका कारण कमलपोखरी ताल नामाकरण भएको स्थानीय समाजसेवी एवम् कमलपोखरी संरक्षण समितिका उपाध्यक्ष विक्रम विश्वकर्मा बताउनुहुन्छ ।

उहाँका अनुसार विशेष गरी शनिवार र अन्य सार्वजनिक बिदाका दिन ठूलो सङ्ख्यामा पर्यटक कमलपोखरी घुम्न आउने गरेका छन् ।

तालको संरक्षणका लागि स्थानीयवासी २०४५ सालदेखि नै सङ्गठित बन्दै आएको जानकारी दिँदै उहाँले केही वर्ष अनौपचारिक रुपमा सङ्गठित बनेका स्थानीयवासी २०५२ सालमा कमलपोखरी आमा समूह दर्ता गरी औपचारिक रुपमै क्रियाशील बन्न थालेको बताउनुभयो ।

पछिल्लो समयमा २०६४ सालमा गठित कमलपोखरी संरक्षण समिति पनि तालको संरक्षणमा जुटेको उहाँको भनाइ छ । कमलपोखरी आमा समूह २०५१ सालदेखि नै संरक्षणमा जुटेको बताउँदै समूहकी संस्थापक अध्यक्ष हस्तीमाया विकले प्राकृतिक दृश्यावलोकनका साथै धार्मिक पक्षसँग प्रत्यक्ष जोडिएको कमलपोखरीमा अझै पर्यटकलाई आकर्षित गर्न स्थानीयवासीका साथै सरकारी निकाय सबैको सामूहिक प्रयास आवश्यक हुने उल्लेख गर्नुभयो ।

प्रकाशित मिति : १ आश्विन २०७३, शनिबार  १० : ०८ बजे