६ फाल्गुन २०८२, बुधबार | Thu Feb 19 2026

जनकपुरबासीसँग भारतीय विदेशमन्त्री सुष्मा स्वराजले माफी मागिन्



काठमाडौं । जनकपुरबासीलाई भारतीय भनेर विवादास्पद अभिव्यक्ति दिएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले माफी मागेकी छन् । उनले आफूबाट गल्ती भएको भन्दै ट्विटरमार्फत् माफी मागेकी हुन् ।
नेपालको जनकपुरमा प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको सम्बोधनलाई उनले भारतीयलाई सम्बोधन गरेको बताएकी थिइन् । उनको अभिव्यक्तिसँगै विवादमा मुछिएपछि ट्विटरमार्फत माफी मागेकी हुन् ।
उनले आफ्नो सम्बोधनको भिडियोसमेत राख्दै लेखेकी छन्, ‘मेरो तर्फबाट यसमा गल्ती भयो । म इमान्दारीका साथ यसमा माफी चाहान्छु ।’ विदेश मन्त्रालयमा सोमबार आयोजित एक कार्यक्रममा स्वराजले भनेकी थिइन, ‘नरेन्द्र मोदी यस्तो प्रधानमन्त्री हुनुहुन्छ, जसले अमेरिकाको मेडिसनदेखि जनकपुरको मैदानसम्म लाखौंलाख भारतीयलाई सम्बोधन गरेर उनीहरुसँग सीधै जोड्ने काम गर्नुभएको छ ।’


भारतीय प्रधानमन्त्री मोदीले गत वैशाख अन्तिम साता नेपाल भ्रमणको शुरुवात जनकपुरबाट गर्दै नागरिक अभिनन्दनका क्रममा रंगभूमि मैदानमा सम्बोधन गरेका थिए । सो सम्बोधनको आयोजना प्रदेश सरकार र जनकपुर उपमहानगरपालिकाले गरेको थियो भने प्रदेश २ का विभिन्न जिल्लाबाट सर्वसाधारणलाई सहभागी गराइएको थियो ।

प्रकाशित मिति : १५ जेष्ठ २०७५, मंगलबार  १ : ५६ बजे