७ असार २०८३, आइतबार | Sun Jun 21 2026

अष्ट्रेलियामा ‘अष्ट्रेलिया नेपाल सांसद मैत्री समूह’ गठन



अष्ट्रेलिया । नेपाल र नेपालीप्रति विशेष मित्रता, सदभाव र आत्मियता दर्शाउने अष्ट्रेलियाका विभिन्न स्थानबाट निर्वाचित सांसदहरुले संसद भवन राजधानी क्यान्बेरामा सांसदहरुको उलेख्य उपस्थितिमा ‘अष्ट्रेलिया नेपाल सांसद मैत्री समूह’ [Australian Nepal Parliamentarian Group] गठन गरिएको छ । अष्ट्रेलियाको लागि नेपाली राजदुत लक्की शेर्पा र नेपाली विज्ञ समुदायको प्रतिनिधिको उपस्थितिमा सो समूह गठन भएको हो ।

माननीय सांसद आन सुद्मालिस र माननिय पिटर खलिलले अध्यक्षता गरेका थिए । उनीहरु अष्ट्रेलियाको लिबेरल पार्टी र लेबर पार्टीको प्रतिनिधिका रुपमा उपस्थित भएका थिए ।

माननीय आन सुद्मालिसले नेपाल र अष्ट्रेलियावीच मैत्री सम्बन्ध सन् १९५६ देखि स्थापना भएको बताए । साथै उनले एक अर्काको मित्रतामा रोमाञ्चित हुनुको साथै हाल नेपाल अष्ट्रेलिया पार्लियामेन्ट नेट्वर्कको अध्यक्षता गर्न पाउदा खुशी भएको अनुभव सुनाए ।

पिटर खलिलले यो एतिहासिक क्षणले नेपाल र अष्ट्रेलियावीच मैत्रिपूर्ण सम्बन्ध जनस्तरसम्म बिस्तार हुने र यस सम्बन्धको पहलकदमी लिएकोमा नेपाली राजदुत लक्की शेर्पा र दुताबासका सम्पूर्ण टिमलाई बधाई दिए ।

राजदुत लक्की शेर्पाले संघीय व्यवस्थापिका संसदको सभामुख कृष्णबहादुर महराले पठाएको शुभकामना सन्देश पढेर सुनाएका थिए । सन्देशमा यस्तो खाले सहकार्यले दुई देशको संसदिय प्रणाली र सांसदवीचको सम्बन्ध मात्र नभएर लोकतान्तान्त्रिक मूल्य र मान्यतालाई बलिया बनाउनुका साथै स्थापित गराउने कार्यमा पनि टेवा पुग्ने विस्वास लिएको छ ।

थप विशेषताको रुपमा अष्ट्रेलियन कमाण्डो सर्वोच्च शिखर सगरमाथा अरोही मार्क स्कुइजले आधा घण्टा नेपाल र सगरमाथा आरोहण सम्बन्धी चित्ताकर्षक प्रस्तुति पस्केका थिए । अन्य सांसदहरुलाई प्रकृतिको अनुपम नमूना, विविधतायुक्त मुलुक नेपालमा घुम्नको लागि अनुरोध गरिनुको साथै सबैले नेपाल घुम्न जाने प्रतिबद्धता समेत गरेका थिए ।

अष्ट्रेलियाको राजनीतिमा राम्रो प्रभाव राख्ने डेभिड कोल्मेन, गै ब्रोड्मेन, मिल्टन डिक, शरोन क्ल्य्डोन, माईक फ्रील्याण्डर, मेडालिन किङ, म्याट थिसल्वेट्ट, लुक जोन गोस्लिङ, लिसा सिंह, टोनी स्मिथ, लिण्डा बर्नी, स्टिभ जेओर्गनस लगायत अन्य सांसदहरुको उपस्थिति रहेको थियो ।

नेपाली प्रतिनिधिमा दुतावासको तर्फबाट राजदुत लक्की शेर्पाको नेतृत्वमा न्यु साउथ वेल्सका अनररी कन्सुलेट दिपक खडका, नेपाल अष्ट्रेलिया फ्रेण्डसिप सोसाईटिका जीवन राना, एन.आर.एन प्रतिनिधि राजन ढुगेल, फेन्काका अध्यक्ष डा. कृष्ण हमाल, जलस्रोत विज्ञ डा. डि. डि. कडेल डेपुटी चिफ अफ मिसन दुरापदा सापकोटा, फस्ट् सेक्रेटरी प्रमिता अधिकारी लगायत दुताबास परिवारको उपस्थिती रहेको थियो ।

कार्यक्रमको अन्त्यमा नेपाली मौलिक परिकार र नेपालमा उत्पादित हस्तकलाको उपहारसहित कार्यक्रम समापन गरिएको थियो ।

प्रकाशित मिति : १७ जेष्ठ २०७५, बिहिबार  ४ : २४ बजे