पाकिस्तानमा नयाँ राजनीतिक उतारचढाव, पूर्वप्रम शरीफ पक्राउ

Facebook Debugger

पेसावर । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफ पक्राउ परेका छन् । उनलाई शुक्रबार साँझ नियन्त्रणमा लिइएको हो ।
उनलाई शुक्रबार पाकिस्तानको लाहोरस्थित विमानस्थलमा ओर्लिएलगत्तै पक्राउ गरिएको हो । उनीसँगै आएकी छोरी मार्यम नवाजलाई पनि पक्राउ गरिएको छ । पूर्वप्रधानमन्त्री शरीफले पनि आफूलाई सेनाले पक्राउ गर्न सक्ने बताएका थिए ।
शरीफलाई हालैमात्र यहाँको एक अदालतले १० वर्ष जेल सजायको फैसला सुनाएको थियो । इस्लामावादमा रहेको एक अदालतले केही समयअघि उनलाई १० वर्ष कारावासको फैसला गरेको हो ।
सो फैसलाको समयमा लन्डनमा रहेका शरीफलाई हिजो स्वदेश फर्किएलगत्तै निणन्त्रणमा लिइएको छ । उनलाई यसरी पक्राउ गरिएपछि यहाँको राजनीतिमा भने नयाँ उतारचढाव आएको छ ।
पाकिस्तानमा यही जुलाई २५ मा संसदको निर्वाचन हुन लागेको छ । सो निर्वाचनको प्रचारप्रसार अभियान शुरु भइसकेको छ । निर्वाचनको पूर्व सन्ध्यामा उनलाई यसरी नियन्त्रणमा लिएपछि यहाँको राजनीतिमा नयाँ उथलपुथल हुने अनुमान गरिएको छ ।
उनले आफूलाई पाकिस्तानको सेनाले सधैँ तारो बनाएको बताए । लन्डनबाट पनि हिजो स्वदेशका लागि प्रस्थान गर्नुअघि उनले सार्वजनिक गरेको एक भिडियोमा भनेका थिए, “म पाकिस्तानी सेनाको तारो बनेको छु, मलाई लाग्छ म विमानस्थलमा पुगेपछि उनीहरु मलाई पक्राउ गर्न सक्छन् ।”
उनलाई १० वर्षे जेल सजायसँगै एक करोड अमेरिकी डलर जरिवाना पनि तोकिएको अदालतले जनाएको छ । श्रीमतीको उपचारका लागि पूर्वप्रधानमन्त्री सरिफ बेलायतको लण्डनमा थिए । उनकी श्रीमती क्यान्सर रोगबाट पीडित छन् ।
प्रायः उतारचढावपूर्ण रहेको पाकिस्ताको राजनीतिक यात्रा सरिफको पक्राउपछि भने कता मोडिने हो भन्ने कौतुहल पाकिस्तानी नागरिकको रहेको बताइन्छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार