धौलागिरि आधार शिविर पुग्ने पदमार्ग निर्माण

105 Shares

म्याग्दी । संसारको सातौँ अग्लो (८ हजार १६७ मिटर) धौलागिरि हिमालको आधार शिविर पुग्ने पदमार्ग निर्माण भएको छ ।
पर्यटन विभागको सहयोगमा रघुगंगा गाउँपालिका–७ चिमखोलाका बासिन्दाले धौलागिरि आइसफल पदमार्गको कालीबराह खोलाको दोभानदेखि आधार शिविर जोड्ने पदमार्ग निर्माण गरेका हुन् ।

विभागको १० लाख सहयोगमा पहाडमा ढुंगाको सिँढीसहितको एक हजार ५०० मिटर पदमार्ग निर्माण गरिएको उपभोक्ता समितिका सदस्य धु्रवकुमार पाइजाले जानकारी दिए । चिमखोलाका ४८ मजदूरले २७ दिनसम्म जंगलमै बास बसेर पदमार्ग निर्माण गरेका हुन् ।
थप ५० मिटर पहाड काट्ने र दुई किलोमिटर भिरमा पदमार्ग बनाएपछि धौलागिरि पहिलो हिमालको आधार शिविरमा सहजै पुग्न सकिने पाइजाले बताए । यसअघि सोसलधाराको कोशेभिरदेखि कालीबराहको दोभान र सोसलधारादेखि कोशेभिरसम्म दुई चरणमा पदमार्ग निर्माण गरिएको थियो ।
विभागले धौलागिरि आइसफल पदमार्ग निर्माणका लागि पछिल्लो तीन वर्षयता दश÷दश लाख बजेट उपलब्ध गराएको छ । सडकका कारण विस्थापित भएको बेनी–जोमसोम पदमार्गको विकल्पमा टे«किङ व्यवसायी एशोसिएशन अफ नेपाल (टान)को पहलमा सात वर्षअघि पदमार्ग पहिचान भएको थियो ।
ढुंगाको सिँढी चिरेर बनाइएको दुई मिटर फराकिलो पदमार्गमा खच्चरसमेत आवतजावत गर्न सक्छन् । भगवतीको रुइसेदेखि पछेत्राधुरी, सोबाङधुरी, लोसधुरी, दहबुकी, फेदी, सुगुरथला हुँदै ससलधारा क्षेत्रसम्म पदमार्गको निर्माण भइसकेको छ ।
त्यस्तै कालीबराहको दोभानबाट कालीबराह ताल हुँदै मुस्ताङको लेते निस्कने परम्परागत गोरटो बाटोलाई स्तरोन्नति गरे पछि क्याम्पिङ गर्ने पर्यटक भ्रमणमा जान सक्ने छन् । पदमार्ग, आवासका लागि पूर्वाधार, नक्सांकन र प्रचारप्रसार गरी सञ्चालनमा ल्याउन पहल गरिएको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले बताए ।
७ दिनमा यात्रा गर्न सकिने पदमार्गमा रहेका अग्ला पहाडबाट हिमशृंखला धौलागिरि हिमाल निरन्तर खसिरहने हिमपहिरो, झरना, काली बराहताल, लालीगुराँसको जंगल, यार्सागुम्बालगायतका जडीबुटी, जंगली जनावर, चराचुरुङ्गीको विशेष आकर्षण रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार