नगरपालिकाले अनुगमन थाले,खाद्यान्न पसल र होटलमा म्याद गुज्रेको सामान

0 Shares

भक्तपुर । भक्तपुर नगरपालिकाका बजार अनुगमन समितिले आज मासु र खाद्यान्न पसल तथा होटलको अनुगमन गर्दा मासु पसल फोहर र खाद्यान्न एवं होटलमा म्याद गुज्रेको सामान बिक्री गरेको पाइएको छ ।

समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा भक्तपुरको ब्यासी, दूधपाटी नःपुखु इताछेंलगायतका स्थानमा सञ्चालित मासु पसलमा भएको अनुगमनमा अधिकांश मासु पसल दर्ता नगरी सञ्चालन भएको र न्यूनतम मापदण्डसमेत पूरा नगरेको पाइएको छ ।

टोलीले इन्द्रायणी मिटसप, सानो व्यासी मासु पसल र सरिता शाहीको राँगोको मासु पसल दर्ता नभएको, मासु खुल्ला राखेर बिक्री गरेको, एप्रोन नभएको, मूल्यसूची नभएको, ढक तराजुमा कैफियत भएको तथा नापतौल विभागमा दर्ता नगरेको अनुगमनका क्रममा पाइएको छ ।

त्यस्तै शोभा मिटसप, नःपुखु मिटसप पसल नवीकरण नगरेको, ढक तराजु नापतौल विभागमा नवीकरण नगरेको, बाटोको मापदण्डमै राखेर मासु बिक्री गरेको, फोहर फ्रिजमा मासु राखिएको पाइएपछि ती पसललाई तीन दिनभित्र सुधार गर्न र दर्ता तथा नवीकरण गर्न निर्देशन दिएको टोलीका वडा निरीक्षक रामकृष्ण प्रजापतिले बताए ।

त्यसैगरी समितिले अनुगमन गरेको अधिकांश खाद्यान्न र होटलमा म्याद गुज्रेका सामान बिक्रीका लागि राखिएको पाइएको छ । अनुगमनमा विनायक किराना कन्सर्नमा सरसफाइ गर्न म्याद नाघेको मसलालगायतका विभिन्न सामान हटाउनुपर्ने, विनायक मिठाइ भण्डारको भान्सा निकै फोहर भएको, राजकुमार किराना पसलमा फोहर रहेको र साइनबोर्ड नराखेको पाइएको छ ।

श्यामकृष्ण कोण्डाको खुद्रा पसलमा पेटीको सामान र फ्रिज एक हप्ताभित्र हटाउन, जित गोपाल श्रेष्ठको पकाएको खानेकुरा पसलमा एप्रोन प्रयोग गर्न र खानेकुरा जाली छोपेर राख्न, मूल्यसूची राख्न, त्यस्तै केवी स्टोरमा पसल दर्ता गर्न र पेटी एंव पेटिमुनिको समान हटाउन, मूल्यसूची राख्न, रुद्रप्रसाद प्रजापतिको खाना होटलमा फोहर भएकाले सरसफाइ गर्न, मूल्यसूची राख्न, श्यामबहादुर तामाङको खाजा पसलमा तीन दिनभित्र पसल दर्ता गर्न अनुगमन टोलीले निर्देशन पनि दिएको छ ।

त्यस्तै शिखर एण्ड स्टोर पसल तत्काल दर्ता गर्न, सरसफाइ गर्न, मूल्यसूची राख्न, बजगाईं भोजनालय एण्ड खाजा घरलाई तीन दिनभित्र दर्ता गर्न, क्यालिफोर्निया नेपाली खाजा घरलाई नवीकरण गर्न, सरसफाइ गर्न, मूल्यसूची राख्न, खानेकुरालाई जालीले छोप्न निर्देशन दिएकोे अनुगमन समितिका वडा निरीक्षक प्रजापतिले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार