७ कार्तिक २०८३, शुक्रबार | Fri Oct 23 2026

लामो तथा मध्यम दूरीमा असोज ७ गतेदेखि दसैँको टिकट बुकिङ खुल्ला


३ आश्विन २०७३, सोमबार  

0
Shares

काठमाडौँ, ३ असोज । उपत्यकाबाट लामो तथा मध्यम दूरीका सवारी साधनबाट दसैँमा घर फर्कन चाहनेहरुका लागि असोज ७ गते शुक्रबारदेखि टिकट बुकिङ खुल्ला गरिएको छ ।

यातायात व्यवस्था विभागमा आइतबार सम्पन्न विभागका अधिकारी, ट्राफिक प्रहरी र यातायात व्यवसायीबीचको बैठकले यस्तो निर्णय गरेको हो ।

विगत वर्षमा दसैँ आउन एक महिनाअघि नै टिकट बुकिङ खुल्ला गरिन्थ्यो । यसवर्ष ‘रुट परमिट’ नलिई यातायात सञ्चालन भएका कच्ची सडकमा दुर्घटना भई दर्जनौँको मृत्यु भएपछि यातायात सञ्चालनमा रोक लगाइएकाले टिकट बुकिङ खुल्ला गर्न ढिला भएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कच्ची सडकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले नै अस्थायी ‘रुट परमिट’ दिने निर्देशन दिएपछि टिकट बुकिङ खुल्ला गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

Sagarmatha

घटस्थापनाको एक साताअघि असोज ७ गते उपत्यकाका १२ स्थानबाट लामो तथा मध्यम दूरीमा जाने सवारी साधनको टिकट बुकिङ खुला गरिएको छ ।

गोङ्गबु नयाँबसपार्क, बालाजु, चावहिल, जोरपाटी, साँखु, बनेपा, गौशाला, कोटेश्वर, सातदोबाटो, बल्खु, कलङ्की र पुरानो बसपार्कबाट अग्रिम टिकट बुकिङ खुला गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष डोलनाथ खनालले बताउनुभयो ।

“टिकट बुकिङ खुला गरिएका १२ वटै स्थानमा यात्रुका लागि सहयोग कक्ष पनि राखिनेछ, सहयोग कक्षमा विभागका कर्मचारी, ट्राफिक प्रहरी र यातायात व्यवसायीका प्रतिनिधि रहनेछन्” – उहाँले भन्नुभयो ।

सहयोग कक्षले बढी भाडा लिने, दोहोरो सिटको टिकट वितरण गर्ने, टिकटको कालोबजारी गर्नेलगायत समस्या समाधानका लागि पहल गर्ने विभागले जनाएको छ । यसवर्ष दसैँदेखि छठपर्वसम्म लामो तथा मध्यम दूरीका सबै सवारी साधनमा दुईजनालाई मात्र विद्यार्थी सहुलियत दिने महासङ्घका अध्यक्ष खनालले बताउनुभयो । रासस

प्रकाशित मिति : ३ आश्विन २०७३, सोमबार  ८ : ३३ बजे