शान्ति र सुरक्षा विषयमा इयु र एन नेताहरुबीच भेट

0 Shares

संयुक्त राष्टसंघ, ३ असोज । संयुक्त राष्ट्रसङ्घीय महासचिव बान कि मुनले आइतबार युरोपेली परिषदका अध्यक्ष डोनाल्ड टस्क र युरोपेली आयोगका प्रथम उपाध्यक्षसँग भेटवार्ता गर्नुभएको छ ।

सो अवसरमा उहाँले युरोपेली क्षेत्रको समग्र शान्ति व्यवस्थाका साथै त्यस क्षेत्रमा विकसित पछिल्लो राजनीतिक अवस्थाका बारेमा कुराकानी गर्नुभएको थियो ।

साथै उक्त भेटका क्रममा विशेषगरी शान्ति र सुरक्षाका साथै पछिल्लो समयमा युरोपेली क्षेत्रमा देखा परिरहेको आप्रवासी समस्याका बारेमा पनि कुराकानी भएको संयुक्त राष्ट्रसङ्घीय अधिकारीले जानकारी दिएका छन् ।
युक्रेन र सिरियामा विकसित सङ्कटका कारण विश्वका विभिन्न भागमा असर परिरहेको भन्दै सो अवसरमा ती देशमा जारी रहेको राजनीतिक र आर्थिक सङ्कटको समाधानका बारेमा पनि छलफल भएको बताइएको छ ।

युरोपेली क्षेत्रमा पछिल्ला वर्षहरुमा देखा परिरहेको आप्रवासी समस्याका बारेमा सोमबार संयुक्त राष्ट्रसङ्घीय उच्चस्तरीय अधिकारीहरुको विशेष बैठक सुरु हुदैछ । सोही बैठकका क्रममा संयुक्त राष्ट्रसङ्घले धारणा निर्माण गर्नु अगावै आइतबार यो भेटवार्ता भएको हो ।

त्यस उच्चस्तरीय अधिकारीहरुको बैठकमा ती शरणार्थी एवम् आप्रवासीहरुका विषयमा न्युयोर्क घोषणापत्र पनि जारी हुन लागेको छ ।

उक्त घोषणा पत्रमा लिइने प्रतिवद्धता तथा प्रावधानका साथै अन्य आवश्यक तयारीका बारेमा सो भेटवार्ताका क्रममा आवश्यक मात्रामा छलफल भएको राष्ट्रसङ्घीय अधिकारीले जानकारी दिएका छन् ।

त्यस भेटका क्रममा महासचिव बानले आप्रवासीको व्यवस्थापनका साथै आश्रय दिने क्रममा युरोपेली देशहरुले पछिल्ला वर्षहरुमा गर्दै आएको संघर्षका बारेमा स्मरण गर्नुभएको थियो ।

उहाँले सबै युरोपेली नेताहरुलाई उक्त संघर्षका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि आप्रवासीहरुको सहयोगका क्षेत्रमा संयुक्त प्रयासलाई निरन्तरता दिन आग्रह गर्नुभएको थियो ।

शरणार्थीहरुको समस्यालाई कसरी सामुहिक जिम्मेवारी र दायित्वबोध गरी अघि बढ्ने र कसरी सहयोग पुर्याउने भन्ने बारेमा आवश्यक मात्रामा सो बैठकमा छलफल भएको थियो ।

त्यस्तै युक्रेनको समस्यामा भएको कुराकानीका क्रममा महासचिव बानले युक्रेनको पूर्वी क्षेत्रमा देखिएको समस्याको समाधानका लागि मिन्स्क सम्झौताको अक्षरस पालना गर्न आग्रह गर्नुभएको थियो ।

मिन्स्क सम्झौता एक निसर्त सर्वस्वीकृत समाधान हो भन्दै उहाँले युक्रेनमा चर्किएको समस्याको समाधानमा यो सम्झौताको पालना एक उपाय हुनसक्ने धारणा पनि राख्नुभएको समाचारमा जनाइएको छ ।

युरोपेली नेताहरु र महासचिब बानले युरोपेली क्षेत्रका अतिरिक्त पछिल्लो समयमा सिरिया र मध्यपूर्वमा जारी समस्याको समाधानमा पनि कुराकानी गर्नुभएको थियो ।

मध्यपूर्वीे क्षेत्रमा बढ्दो राजनीतिक अस्थिरताका साथै सिरियामा विगत लामो समयदेखि जारी रहेको हिंसाका कारण जारी समस्याले आप्रवासी समस्याले पनि झन ठूलो रुप लिएको भन्दै यसको समाधानमा युरोपेली क्षेत्रले के गर्नसक्छ भन्ने बारेमा सो भेटमा कुराकानी भएको थियो ।

संयुक्त राष्ट्रसङ्घीय महासभाको जारी कार्यक्रमकै बीचमा अमेरिकामा आप्रवासी समस्या र युरोपको शान्तिका बारेमा व्यापक मात्रामा बहस सुरु भएको छ । रासस/सिन्ह्वा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार