२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

सोलुखुम्बुमा अनलाईनबाट व्यक्तिगत घटना दर्ता शुरु


५ भाद्र २०७५, मंगलबार  

301
Shares

सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका वडा नं. ६ ले अनलाईन सेवाबाट व्यत्तिगत घटना दर्ता शुरु गरेको छ । सन्दिप शाक्यको जन्मदर्ता अनलाईन सेवाबाट दर्ता गरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजयराज सुवेदीले जन्मदर्ताको प्रमाणपत्र प्रदान गर्दै अनलाई सेवा शुरु गरेका हुन् ।

नगरपालिकाको ११ वटै वडाबाट अनलाईन सेवा प्रदान गरिने अधिकृत सुवेदीले बताए । अन्य वडा कार्यालयमा इन्टरनेट जडानको काम भैरहेकाले चाँडै अनलाईनबाट सेवा दिने उनले बताए । भदौ १ गतेबाट नै अनलाईन सेवा दिने गृहकार्य भएको भएपनि विविध कारणले ५ दिनपछि सेवा दिएको अधिकृत सुवेदीले बताए ।
इन्टरनेट भरपर्दो नहुँदा कहिलेकाँही सेवाग्राहीले घण्टौं समयसम्म पर्खनुपर्ने अवस्था आउन सक्ने सम्भावना बताउँदै भरपर्दो र बैकल्पिक व्यवस्थाको उपाय अपनाउने समेत वडा अध्यक्ष रामकुमार श्रेष्ठले बताए । इन्टरनेट भएको बेला केहि समयमै अनलाईन सेवाबाट वितरण गरिने सेवाहरु सेवाग्राहीले पाउने पनि अध्यक्ष श्रेष्ठले बताए ।
जिल्ला समन्वय समिति सोलुखुम्बुका सदस्य दाडोमा शेर्पाले नागरिकले अनलाईन सेवा मार्फत व्यक्तिगत विवरण पञ्जिकरण विभागको बेवसाईटमा गएर आँफैले दर्ता गर्न सक्ने बताए । पहिलेको जस्तो झन्जट नभएको भन्दै सदस्य शेर्पाले वडा कार्यालयबाट प्रमाणीकरणको प्रमाणपत्र सजिलै लिन सक्ने व्यवस्था भएको समेत बताए ।
अनलाईन सेवाबाट जन्म, मृत्यू, बसाईसराई, विवाह र सम्बन्ध विच्छेदका घटना सजिलै दर्ता गर्न सकिन्छ । यसको साथै दर्ता प्रमाणपत्र हराएमा पनि परिचय पत्र नम्बरको आधारमा प्रतिलिपि लिन सकिने व्यवस्था मिलाईएको छ । अनलाईन सेवा सोलुखुम्बु जिल्लामै पहिलो पटक शुरु भएको हो । सोलुदुधकुण्ड वडा नं. ६ अनलाईन सेवा शुरु गर्नेमा देशभरको ८५ औं वडाको रुपमा सूसीकृत भएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७५, मंगलबार  ५ : ०५ बजे