१ चैत्र २०८२, आइतबार | Mon Mar 16 2026

लैङ्गिक समानता अन्तर्राष्ट्रिय सम्मेलनको तयारी पूरा



काठमाडौँ, ४ असोज । लैङ्गिक समानता तथा सामाजिक न्याय विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन भुटान, म्यान्माका मन्त्री, सांसद तथा उच्च विशिष्ट व्यक्तित्व काठमाडौँ आइसक्नुभएको छ ।

व्यवस्थापिका–संसद्, सामाजिक न्याय तथा मानवअधिकार समितिले यही असोज ६ र ७ गते काठमाडौँमा सो विषयमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्दैछ ।

भुटानका १५ सांसदको प्रतिनिधित्व गर्दै त्यहाँका निर्माण तथा मानवीय बस्ती मन्त्री ल्यान्पो दोर्जी छोडेन र म्यान्माका सांसद खिन स वाईको नेतृत्वमा १० सदस्यीय सांसद टोली काठमाडौँ आइपुगिसकेको समितिका सभापति सुशीलकुमार श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

डेनमार्कका उच्च प्रतिनिधि आज बेलुकीसम्म आइपुग्नुहुनेछ । सो सम्मेलनमा लैङ्गिक समानता तथा सामाजिक न्यायका क्षेत्रका कार्यरत सांसद, अभियन्ता तथा सञ्चारकर्मीहरुको सहभागिता रहनेछ ।

लैङ्गिक समानता तथा सामाजिक न्यायका क्षेत्रका अनुभव र सिकाइलाई आपसमा आदानप्रदान गर्ने मुख्य ध्येयले आयोजित सो सम्मेलनमा चारवटै देशका सांसदले आ–आफ्ना देशका अनुभवलाई कार्यपत्रमा प्रस्तुत गर्ने सभापति श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले लैङ्गिक विभेद र सामाजिक न्यायका क्षेत्रमा नेपालको संविधान उत्कृष्ट रहेको चर्चा गर्दै यसलाई व्यवहारमा उतार्न आवश्यक रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा २१आँै शताब्दीमा लोकतन्त्रको नयाँ स्वरुपका बारेमा पनि कार्यक्रममा कार्यपत्र प्रस्तुत गरिनेछ । सम्मेलनको सबै तयारी पूरा भएको सभापति श्रेष्ठले जानकारी दिनुभयो । रासस

प्रकाशित मिति : ४ आश्विन २०७३, मंगलबार  ७ : २१ बजे