२१ भाद्र २०८३, आइतबार | Sun Sep 6 2026

पर्यटकका लागि देवीचौरमा ‘भ्यू टावर’को निर्माण शुरु


रासस

१८ भाद्र २०७५, सोमबार  

154
Shares

ललितपुर । पर्यटक भित्र्याउने उद्देश्यले गोदावरी नगरपालिका–७ देवीचौरमा ‘भ्यू टावर’ निर्माण शुरु भएको छ । भ्यू टावरको निर्माणले आन्तरिक र बाह्य दुवै खालका पर्यटक आकर्षित हुने गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले बताए ।

अघिल्लो वर्षबाट भ्यू टावरको निर्माण शुरु भएको हो । अघिल्लो वर्ष एक करोड छुट्याइएकामा नगरपालिकाले यो आर्थिक वर्षमा पनि एक करोड छुट्याएको छ । अघिल्लो वर्ष जग राख्ने काम सकिएको थियो । उनी भन्छन्, ‘यस वर्ष बाँकी रहेको काम अघि बढेको छ ।’ आगामी वर्षसम्म निर्माण सम्पन्न गर्ने योजना रहेको छ ।
भ्यू टावर तीन तलाको हुने नगरपालिकाले जनाएको छ । तल्लो तलामा होटल, रेस्टुराँलगायत व्यापारिक केन्द्र सञ्चालन हुने प्रमुख महर्जनले बताए । उनले भने, ‘सबैभन्दा माथिल्लो तलाबाट नै आगन्तुकले सिङ्गो काठमाडौँको मनोरम दृष्य हेर्न पाउने छन् ।’
गोदावरी नगरपालिकाभित्र रहेका पर्यटनका हिसाबले सम्भावित ठाउँका बारेमा नगरपालिकाले अध्ययन गरिरहेको छ । पर्यटकीय क्षेत्रलाई विकास गर्न निजी क्षेत्रसँगको सहकार्यमा समेत जोड दिइएको प्रमुख महर्जनले बताए ।

प्रकाशित मिति : १८ भाद्र २०७५, सोमबार  १२ : ५७ बजे